विश्‍व मुख स्वास्थ्य दिवस

विश्‍वभर स्वास्थ हुनुपर्ने भन्दै विभिन्न दिवसहरु मनाइँरहँदा विश्‍व ओरल हेल्थ डे विश्वभर २० मार्चका दिन मनाइन्छ। विश्व मुख स्वास्थ्य दिवस विगत आठ वर्षदेखि मनाइदै आइएको पाइन्छ। पहिला सेप्टेम्बर १२ मा मनाइन्थ्यो।तर २०१३ देखि मार्च २० मा यो दिवसलाई मनाउन थालिएको हो।

यसलाई वर्ल्ड डेन्टल फेडेरेशनको नेतृत्वमा विश्वभरका १३० वटा डेन्टल एशोसिएशनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवस भनेर जनचेतनासहित यो दिवस मनाउँदै आएको छ ।

यो दिवस मनाउनुको दुई वटा कारणहरु छन्। पहिलो स्वस्थ हाँसो र अर्को आत्मविश्वास ।

स्वस्थ हाँसोले जीवनमा धेरै परिवर्तनहरु ल्याउन सक्छ।यदि मुख स्वस्थ रहेमा हामी गुणस्तरीय जीवन बाच्न सक्छौँ । मुख शरीरको एउटा द्वार हो। यो स्वस्थ भएमात्र शरीर स्वस्थ रहन्छ र जीवनमा आत्मविश्वास जागृत हुन्छ।

नेपालमा यो दिवस मनाइरहँदा हामीले समाजमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छौ। यो वर्षको नारा ‘हेल्दी माउथ, हेल्दी वडी’ भनेर मनाइरहेका छौँ ।

मुख शरीरको एउटा द्वार भएकाले हामी मुखबाट खाना खाने र शरीरलाई स्वस्थ बनाउनमा अहम भूमिका निर्वाह गर्दछ। यदि मुख स्वस्थ भएन भने पाचन प्रक्रियादेखि शरीरको सम्पूर्ण अंगहरुमा असर गर्न सक्छ । त्यसका कारण यो वर्ष ‘स्वस्थ मुख, स्वस्थ शरीर’ को नारा बोकेर हामीले विश्‍व मुख स्वासथ्य दिवस मनाउन थालेको हौ।

नेपालको अवस्था
मेरो व्यक्तिगत अनुभवमा भन्नुपर्दा जनमानसमा मुखलाई स्वस्थ राख्‍ने सही तरिकाहरु पूर्णरुपले थाहा नभएको देखिन्छ भने उपचार तथा उपचार गर्ने व्यक्तिसम्बन्धी केही भ्रम तथा अज्ञानता पनि रहेको देखिन्छ । नेपालमा धेरैजसो अस्पतालमाभन्दा पनि नीजी दन्त क्लिनिका दाँतसम्बन्धी परामर्श लिने तथा उपचार गराउने प्रवृति देखिन्छ । नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्सकहरुसँग मात्रै नभई ,दाँतको उपचार कुनै पनि सिपप्राप्त नगरेका अथवा अर्ध सिप प्राप्त जनशक्तिबाट भइरहेको अवस्था देखिन्छ।

कुनै पनि बिरामीहरुले दाँतको उपचार गर्न जाँदा आफूले उपचार गराउने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएको अथवा नभएको भनेर बुझ्ने चलन छैन । यो एकदमै महत्वपूर्ण कुरा हो । दाँतको उपचार पूर्णरुपले गर्नको लागि कम्तिमा बीडीएस ( Bachelor of dentistry ) पास गरेर नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेर लाइसेन्सप्राप्त गरेको हुनुपर्छ । यो कुरामा हामिले जनमानसमा धेरै नै जनचेतना जगाउनुपर्ने आवश्‍यक देखिन्छ ।

यता, नेपाल डेन्टल एशोसिएशनले सरकारसँग मिलेर समाजमा मुख स्वास्थ्यको बारेमा काम गर्दै आएका छौँ । शहरी भेगमा सरकारी तथा निजी तवरबाट दाँतबारे उपचार भइरहे पनि ग्रामिण भेगमा भने अझै धेरै दन्त चिकित्सकको सरकारीस्तरमा दरबन्दी तथा आवश्यक पूर्वाधारहरु बढाउनुपर्ने देखिन्छ । हामी मेडिकल र डेन्टल गरी १७ हजार डाक्टरहरु छौँ । अहिले डेन्टल सर्जनहरुको संख्या १६ सय जति पुगेको छ र नेपाल डेन्टल एसोसियसनमा आवद्ध ११ सयभन्दा धेरै चिकित्सक छौँ । यदि हाम्रो समग्र जनसंख्याको अनुपात हेर्ने हो भने एक जना दन्त चिकित्सको हातमा ६५ हजार जनता भागमा पर्छ ।

जुन एकदमै कम संख्यामा दन्त चिकित्सक हुनु हो । जति मेडिकल डाक्टरहरु विकट ठाउँमा पुग्न सक्नु भएको छ, त्यो अनुपातमा दन्त चिकित्सकहरु पुग्न सक्नु भएको छैन । यसको कारण दन्त चिकित्सकको दरबन्दी नबढ्नु तथा यसको सेवाका लागि चाहिने आवश्यक उपकरण तथा संरचना सरकारी अस्पतालहरुमा बनाउन नसक्नु रहेको छ । अर्को कुरा दन्त चिकित्सको दरबन्दी मेडिकलको तुलनामा न्यून छ।९० प्रतिशत मानिसको जीन्दगीमा कुनै न कुनै बेला दाँतको समस्या आएकै हुन्छ। तर सरकारको यसरबारेमा कुनै ठोस नीति भने छैन । हामी दन्त चिकित्सकहरु ग्रमीण भेगमा गएर सेवा दिन तयार छौं । यसका लागि दरबन्दी बढाउनका लागि समयसमयमा पहल पनि गरिरहेका छौं । सरकारले दन्तचिकित्सकको कोटा बढाउनुपर्छ र प्रोत्साहन तथा सुविधाहरु दिनुपर्छ । नेपाली जनताको मुख स्वास्थ्यसम्बन्धी अधिकार सरकारले सुनिश्चित गर्नुपर्छ ।

नेपालमा भोग्नु परिरहेको मुख्य समस्या

सामान्यता नेपालमा हामीले भोग्नु परिरहेको दुई वटा छन् । ती हुन। दाँत कीराले खाने डेन्टल क्यारिज र गम डिजिज् अर्थात जिन्जिभाइटिस् र पेरिओडोन्टाइटिस, जसलाई नेपालीमा पैरिया भनेर पनि चिनिन्छ । योसँगै अरु रोगहरु देखिने गरेका छन् ।

मुखलाई कसरी स्वस्थ राख्ने

सामान्यता मानिसहरुले आफ्नो स्वस्थलाई ध्यान दिनु पर्ने नै हुन्छ।

सही ब्रसिङ टेक्निक अपनाउने । दिनको दुई पटक ब्रस गर्ने । कम्तिमा पनि तीनदेखि पाँच मिनेटसम्म ब्रस गर्ने । तीन महिनामा ब्रस परिवर्तन गर्ने । खाना खाएपछि अनिवार्यरुपमा पानीले मुख कुल्ला गर्ने । कम्तिमा पनि वर्षको एक पटक नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्सक कहाँ गएर जाँच गराउने।
धेरै गुलियो पदार्थहरु कम खाने, धुमपान, पराग सुर्तीलगायतका पदार्थहरु नखाने ।

टूथपेस्ट प्रयोग गर्दा फ्लोराइटयुक्त प्रयोग गर्ने।
फ्लोराइट यस्तो तत्व हो । जसले दाँतलाई बलियो बनाउँछ र दाँतलाई किरा लाग्‍न अथवा सड्नबाट बचाउँछ । त्यसकारण पेस्ट किन्दा त्यसमा फ्लोराइको भएको यकिन गरेर मात्र किन्ने ।

नेपालमा दाँतको समस्या तब मानिन्छ जब दुख्‍न थाल्छ । त्यतिबेलासम्म ढिला भइसकेको हुन्छ। जब दाँत दुख्‍न थाल्छ तब हामीले रुट क्यानल ट्रिटमेन्ट भन्‍ने उपचार गर्नुपर्छ । जुन लामो उपचार हो । यदि दाँत किराले खान थाल्‍नेबित्तिकै यसलाई भरे भने दाँत दुख्दैन अनि समयको र उपचारको खर्च पनि बचत हुन्छ । त्यसकारणले वर्षमा एकचोटी नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकबाट दाँत परीक्षण गराउने बानी बसालौं । मुखलाई स्वस्थ राखौं, स्वास्थ्य जीवन बाचौं ।

चैत ८, २०७२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्