बालबालिकाकाे सहनशीलता अभिभावककोभन्दा उच्च

Copy to clipboard
Copied!

विश्वका हरेक मुलुकको आ-आफ्नै धर्म संस्कृति परम्परा तथा चालचलन रहेका छन्। त्यसभित्र पनि विभिन्न जात-जाती धर्म सम्प्रदायका आ-आफ्नै रितिरिवाज र संस्कार रहेका हुन्छन्। हामी जस्तो वातावरणमा जन्मियाे/हुर्कियाे त्यहीँ अनुसारको आचरण, ब्यवहार सिकिरहेका हुन्छौँ र हाम्रो दैनिक जीवनमा त्यो झल्किरहेको हुन्छ। सिकाइको यो पहिलो पाठशाला नै आफू जन्मे हुर्केको घरपरिवार र परिवेश हो।

भनिन्छ बालबालिकाको पहिलो पाठशाला घर हो। जसले घरबाट सिक्छ उ जहाँ पनि टिक्छ। जसले घरमा संस्कार सिक्दैन उ कहीपनि बिक्दैन। पारिवारिक वातावरण र लालनपालनले बालबालिकाको मस्तिष्कमा दीगो छाप छोडेको हुन्छ।

बालबालिकालाई अनुशासित बनाउने, एक अर्कासँग आफ्ना भावनाहरू संप्रेषण गर्न सक्षम बनाउने, बिचार अभिव्यक्त गर्न सक्ने, आफ्नो कुरा तर्कसंगत रूपमा राखेर अरूलाई सहमत गराउन सक्ने, नयाँ प्रविधि, नवीनतम ज्ञानसँग सु-सूचित गराउने र शिक्षामा पहुँच पुर्याउने दायित्व परिवारको हुन्छ।

बालबालिकाका सन्दर्भमा कुरा गर्दा हरेक परिवार-परिवारकाबीच एक किसिमको अदृष्य प्रतिष्पर्धा रहेको हुन्छ। अरुभन्दा उत्कृष्ट आफ्नो बालबालिका ह‍ोस भन्ने आकांक्षाले हामीले लगाए /अर्हाए बमोजिमका व्यवहार मात्रै बच्चाहरूले गरून् भन्ने चाहना धेरैजसो अभिभावककाे हुन्छ। तर हरेक परिस्थितिमा बालबालिकाहरू अभिभावकले जे भन्याे त्यहीँ मान्न तयार हुँदैनन्। उस्का अनिच्छुक हुने कारण सरलरूपमा अभिभावकलाई व्यक्त गर्न पनि सकिरहेको हुँदैनन्।

बालबालिका भित्र गुम्सिएका मनोभावनाहरू अभिभावकले बुझ्न नचाहाने तर अभिभावकका हरेक आकांक्षाहरू अबोध बालबालिकाले बुझ्नैपर्ने र सोही अनुरूप व्यवहार र आचरण गर्नुपर्ने हुँदा बालबालिकाको सहनशीलता अभिभावककोभन्दा उच्च रहेको पाइन्छ।

उदाहरण कै रूपमा सानाे बालबालिकालाई कहिलेकाहीँ खानेकुरा खान मन नभएको अवस्थामा हामीले कर गरेर खुवाउन खाेज्छाैँ। उसलाई सन्चाे नभएर पाे खान मन नलागेको हाे कि त्याे साेध्ने प्रयास हामी मध्ये थाेरै अभिभावकले मात्रै गर्ने गर्छाैँ। संयुक्त परिवारमा बसिरहेकाे पारिवारिक सदस्य विभिन्न कारणहरूले छुट्टिएर एकल परिवारमा बस्ने निर्णय गर्दा वा अन्यत्र बसाइँ सर्दा उनीहरूका बालबालिका चुप लागेर आफ्ना बुवा आमाकाे पछि लाग्न बाध्य हुन्छन्। उनीहरूलाई परिवारका अन्य सदस्यहरूसँग बस्ने मन हुँदाहुँदै पनि अभिभावकको पछि लाग्नु पर्ने बाध्यता नै हुन्छ। बालबालिका पढिरहेको विद्यालयबाट अभिभावकले अर्काे विद्यालयमा स्थानान्तरण गरिदिँदा पनि उनीहरु चुपचाप आफ्ना प्रिय शिक्षक तथा साथीहरूसंग छुट्टिन बाध्य हुन्छन। बालबालिकाको नामाकरण गर्दा पनि माया गरेर दिइएका उपनाम उनिहरूले स्वीकार गर्न सकेका छन छैनन, आफ्नो नामका कारण साथिहरू बिच हाँस‍ोको पात्र त भईरहेको छैन भनेर सोच्ने गरेको पाइँदैन। यी र यस्तै स सानाकुराहरूले बालबालिकामा पर्ने असरलाई अभिभावकले सधै नजरअन्दाज नै गरिरहेको हुन्छ।

धेरैजसो बालबालिकाहरू समूहमा झट्ट बाेल्न नसक्ने, वक्तृत्वकला प्रतियोगितामा भाग लिन सकेसम्म अग्रसर नहुने, प्रश्नको उत्तर दिँदा तत्काल उठेर बाेल्न गार्हाे हुने गरेको देख्दछौँ। त्यसको कारण घर परिवार भित्र बालबालिकाको बिचारलाई हामी कति सुन्छौँ, बालबालिकाले दिएका राय सुझाव वा उनीहरूको चाहनालाई कस्तो स्थान दिन्छौँ यसमापनि निर्भर हुने गरेको हुन्छ। हामी सानाे छँदादेखि अभिभावकहरुकाे अगाडी बालबालिकाले आफ्ना बिचार राख्न,बाेल्न स्वतन्त्रता नदिइएकाे कुराकाे असर हाे जुन पछिसम्म देखिने गरेको छ। यसले गर्दा एकातिर बालबालिकाकाे आत्मबिश्वासमा कमी आउँछ भने अर्कोतर्फ झड्ङ्ग रिसाउने, आवेशमा आउने परिवारमा घुलमिल हुन नचाहाने जस्ता फरक स्वभाव हरू देखिन्छ।

अहिले हाम्रो समाजमा बैवाहिक सम्बन्ध बिच्छेद जटिल समस्याको रुपमा देखिएकाे छ। पछिल्लो पिडीमा यो समस्या वढीरहेको छ। परिवार बिखण्डन हुँदाको पीडाको प्रत्यक्ष असर बालबालिकामा पर्छ‍। बालबालिकाको उन्नत भविष्यका लागि बुवा आमा दुवैको समान आवश्यकता रहन्छ। कुनै एक पक्षसँग अलग हुनु र कुनै अर्को पक्षलाई राेज्नु उस्को बाध्यता भइदिन्छ। त्यतिबेला आफ्नै प्रीय अभिभावकसँग टाढिनु र जसले लैजान्छन् उनीहरुको पछि लागेर पशु सरह लुरूलुरू जान बालबालिकाहरू बाध्य हुनुपर्छ। यस्तो अवस्थामा बाबुआमाले आफ्नो इगो र हठलाइ मात्र सोच्ने र बालबालिकाको मनोबिज्ञानलाइ पूरै उपेक्षा गरेको हुन्छ।

अभिभावकहरुले बालमनाेबिज्ञान बुझेर बालबालिकाको हित अनुकूल व्यवहार गर्याैँ भने त्यसको परिणाम घर, परिवार, समाज र राष्ट्रकै हितमा हुन्छ। अहिलेकाे समयमा अभिभावकमा बालबालिकाकाे वृत्ति विकासकाे चिन्ता ठूलो रहेको जस्तो भान भए तापनि अभिभावकहरू स्वयममा क्षयिकरण हुँदै गएको सहनशीलताले त्यो व्यवहारमा प्रकट भएको छैन। खाली दोष भविष्यका कर्णधार माथि थुपारेर अभिभावकहरू पानी माथिको ओभानो बन्न सकिन्न।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्