प्रदीप गिरिका ती आखिरी दिनहरु

प्रदीप गिरिले शरीर त्याग्नुभन्दा करिब ८ महिनाअघि उहाँसँग मेरो लामो कुराकानी भएको थियो। गत वर्ष नोभेम्बरमा। मैले उहाँलाई यस वर्ष मुम्बईको हिन्दुजा हस्पिटलमा उपचाररत छँदा पनि दुईपटक भेटेँ। मुम्बईको पहिलो भेट गत फेब्रुअरीमा भएको थियो।

उहाँसँग मेरो अन्तिम भेट मुम्बईको पालि हिल अपार्टमेन्टमा अप्रिल २०२२ को आखिरीताका भएको थियो। त्यो बेला जब मैले उहाँलाई भेटेँ- उहाँ असाध्यै कमजोर भइसक्नुभएको थियो। उहाँको तौल एकदमै कम भइसकेको थियो। उहाँ ओछ्यानमै हुनुहुन्थ्यो। जब उहाँसँग मेरो भेट भयो, सहयोगीहरु कृष्ण, नन्दी र  भतिज डा. सन्दर्भ उहाँसँग थिए। मलाई देखेपछि आफ्नी  बहिनी शिलुलाई प्रदीपजीले इसारामै ‘मलाई उठाइदेऊ’ भन्नुभयो। उहाँले अलि उठेर बसेझैँ गर्नुभयो। मैले आफ्नो कुरा राखेँ। स्वास्थ्यको बारेमा सोधेँ। उहाँले ठीकसँग जवाफ त दिनसक्नुभएन, तर उहाँको ‘बडी ल्याङ्वेज’ले नै मलाई थाहा भयो कि उहाँ धेरै नै कष्टमा हुनुहुन्छ।

यद्यपि असहजताकै बीच जोकको वातावरण त बनिहाल्यो।

उहाँले सोध्नुभयो- किन आयौ?

मैले भनेँ- म सानो कामका लागि बम्बई आएकी थिएँ। तर मुख्यतया: तपाईँलाई नै भेट्न आएको हो।

मैले ठट्टाको भावमा भन्दा उहाँ हाँस्नुभयो।

आवाज नबुझिए पनि उहाँको हाँसो सधैँझैँ बालसुलभ र मिठो थियो।

उहाँले बहुतै मधुरो स्वरमा ‘तिम्रो छोरालाई ठीक छ?’ भन्नुभयो। उहाँको आवाज बुझ्न मलाई केही समय नै लाग्यो। उहाँको स्वर नबुझिने भइसकेको थियो। मैले सबै ठीक रहेको बताएँ।

म कोठाबाट बाहिर निस्केँ। मन एकदमै भारी भयो। उहाँ धेरै नै कमजोर र अस्वस्थ भएको थाहा पाएँ। मैले सँगै रहेका प्रदीप गिरिका भतिजा डा.सन्दर्भलाई उहाँको रोगको अवस्थाबारे सोधेँ। उहाँले प्रदीप गिरिको वास्तविक रोगको बारेमा बताउनुभयो।

उहाँलाई घाँटीको एक प्रकारको क्यान्सर- ‘प्यारीफर्म फोस्सा क्यान्सर’ रहेको र त्यसकै लागि रेडिएसन र केमोथेरापी गरिरहेको डा. सन्दर्भ गिरिले बताउनुभयो।

प्रदीपजीले त्यो बेलासम्म खाना छोडिसक्नुभएको थियो। पेटमा खानाका लागि पाइप हालिएको थियो। हरेक दुईतीन घन्टामा नर्सले पेटमा हालेको पाइपबाट खाना दिनुपर्ने अवस्था थियो। म एक कप चिया खाएर म निस्केँ। करिब अपराह्न चार बजे मैले उहाँलाई भेटेकी थिएँ।

योभन्दा करिब दुई महिनाअगाडि फेब्रुअरी दोस्रो साता पनि म एउटा कामका लागि मुम्बई पुगेको थिएँ। त्यो बेला पनि उहाँको उपचार हिन्दुजा अस्पतालमा नै भइरहेको थियो। उहाँलाई किमोथेरापी र रेडिएसन  दिइँदै थियो। यो बेलामा उहाँसँग मैले दुई-चार दिन रमाइलो भेटघाट गरेको थिएँ। किमोथेरापी शरीरले पुरै थेगेको थियो। उहाँ दोस्रोपटकको भेटजत्ति कमजोर भइसक्नुभएको थिएन।

उहाँसँग मैले मजाले कुरा गरेकी थिएँ। उहाँको ठट्टा गर्ने, रमाइलो गर्ने, सबैलाई हँसाउने बानी उहाँलाई चिन्ने सबैलाई थाहा नै छ। त्यो फेब्रुअरीसम्म कायम नै थियो।  अलिअलि रिसाउनुपनि हुन्थ्यो। उहाँको जिद्दीपना पनि पहिलेजस्तै थियो।

त्यो बेला मैले उहाँलाई रोजै चार-पाँच दिन भेटेँ।

यो समयमा म कम्तीमा एक घन्टा रोजै उहाँसँग समय बिताउँथे। त्यो बेला उहाँले नेपालको इतिहास, राजनीति, भाषासंस्कृतिदेखि लिएर मार्क्सवाद, समाजवाद र भारतको वर्तमान राजनीतिलगायतका विषयमा धेरै कुरा गर्नुभएको थियो। यही समय उहाँले आफ्नो परममित्र भारतीय नेता डिपी त्रिपाठीको बडो सम्झना गर्नुहुन्थ्यो। त्रिपाठी जनवरी २०२० मा बितेका थिए। उनीहरु दुई जना दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयमा निकट साथी थिए। जवाहरलाल नेहरु विश्वविद्यालयमा डिपी त्रिपाठीलगायत आफ्ना साथीसँग बिताएको गतिशील शैक्षिक वातावरणको उहाँ कुरा गर्नुहुन्थ्यो।

अहिले त्यो वातावरणको कमी भएको र जेएनयुको राजनीतिकरण भएकोमा उहाँ दुखी हुनुहुन्थ्यो। म आफैँ पनि जेएनयुमा अध्ययन गरेको भएर हामीबीच एउटा आत्मीयता थियो। उहाँसँग कुरा बाँड्न सहज हुन्थ्यो।

अप्रिलको भेटपछि दिल्ली फर्कने दिन म उहाँसँग बिदा माग्न जाँदा उहाँले दुइटा कुरा भन्नुभयो। पहिलो कुरा मेरोबारे व्यक्तिगत थियो।

उहाँले भन्नुभयो- तिमी भारत बसेको एक दशक हुन लाग्यो। तिम्रो राम्रो बुझाइ छ। राम्रो नेटवर्क छ। तिमी नेपाल फर्कँदा चाहिँ ‘एज ए डेमोक्र्याट’ फर्कनु पर्छ है।

दोस्रो कुराले भने मलाई पछिसम्मै छोइरह्यो। अहिले यो आलेख लेख्दा पनि मेरो मनमा आइरहेकै छ।

उहाँले भन्नुभयो- म क्यान्सरसँग लडिरहेको छु। तर सबैले सुने हुन्छ। मलाई मर्नको लागि चाहिँ डर छैन।

सानो कोठामा उहाँका सहयोगीहरु र छोरा सन्तोष गिरि पनि हुनुहुन्थ्यो।

यति सुनेर हामी अलि भावुक पनि भयौँ र म त्यहाँबाट बिदा भएँ।

प्रदीप गिरिसँग मुम्बईमा गत फेब्रुअरीमा भेट्दै लेखक आकांक्षा शाह।

मैले करिब १० वर्षदेखि दिल्लीलाई आफ्नो कर्मथलो बनाएको छु। उपचारका लागि मुम्बई जानुभन्दा अगाडि करिब चार महिना उहाँ दिल्ली बस्दा मैले उहाँलाई धेरैपटक भेटेकी थिएँ।

उहाँ उपचारका लागि गुडगाँउस्थित मेडिसिटी अस्पतालमा चार महिना बस्नुभयो। मैले नोभेम्बर २०२१ मा पुरै महिना उहाँसँग निकै राम्रो समय बिताउने मौका पाएकी थिएँ।

म गुडगाँउमै बस्छु। उहाँ नजिकै एक अपार्टमेन्टमा बस्नुहुन्थ्यो। म बसेको ठाउँ र उहाँको अपार्टमेन्ट करिब १५ मिनेटको गाडी यात्रामा पुग्ने दुरीमा थियो। हाम्रो दैनिकजसो नै भेट हुन्थ्यो।

उहाँको बिहान सबेरै उठ्नुहुन्थ्यो। उहाँलाई भजन र शास्त्रीय संगीतमा असाध्यै सोख थियो। त्यो सुन्ने र हल्का चियापान गर्ने। उहाँको गरिष्ठ भोजन कहिले पनि हुँदैन थियो। उहाँका असाध्यै प्रिय लहानका दिनदेखिका सहयोगी नन्दी र उहाँको आफ्नै निकट सहयोगी कृष्ण खनाल उहाँको जीवनमा पछिसम्म पनि साथै थिए। छोरा सन्तोषले पनि उहाँको निकै स्याहारसुसार गरेका थिए। उहाँ यी सबैसँग गफगाफ गर्ने, रमाइलो गर्ने गर्नुहुन्थ्यो।

खानामा उहाँलाई भुटेको मकै खान मन पर्थ्यो। गुडगाउँजस्तो सहरमा भुटेको मकै खोज्न गाह्रो हुन्थ्यो। सबैले उपाय लगाएर पपकर्न ल्याएर खान दिँदा उहाँ धेरै खुसी हुनुहुन्थ्यो।

मकैसँगै उहाँलाई गुन्द्रुक पनि धेरै खान मन पर्थ्यो। प्रोटिनका लागि उहाँ क्वाँटी खान रुचाउनुहुन्थ्यो। म नजिकै बस्ने भएकाले कहिलेकाहिँ मैले गुन्द्रुक पकाएर लग्दिन्थे।

उहाँ हरेक दिन सोयाको दूध खान रुचाउनुहुन्थ्यो। त्यो बेला उहाँ निकै फुर्तिलो हुनुहुन्थ्यो। त्यसै बेला २५ नोभेम्बरका दिन उहाँले मलाई भन्नुभयो- एउटा कुनै यस्तो विषयमा कुरा गरौँ जसले नेपालको राजनीतिलाई दीर्घकालसम्म फाइदा होस् भन्नुभयो। मैले नेपालको परराष्ट्रनीतिका विषयमा कुरा गर्न ठीक होला भनी सुझाएँ। त्यही विषयमा उहाँले मसँग करिब ३१ मिनेट कुरा गर्नुभयो।

उहाँले मसँग ब्रिटिस इन्डियाको नेपाललाई हेर्ने दृष्टिकोणबारे बताउँदै कसरी नेपाल नाममा मात्रै स्वतन्त्र थियो तर ब्रिटिसको अनुमतिबिना केही गर्न सक्दैनथियो भनी बताउनुभयो। हामीले त्यो बेला अंग्रेजीमै वार्ता गरेका थियौँ। उहाँले भन्नुभएको थियो- नेपाल वाज इन्डिपेन्डेन्ट वन्ली इन नेम बट कुडनट डु एनिथिङ बियोन्ड ब्रिटिस इन्डिया टेरिटोरी।

उहाँले भन्नुभयो- त्यसपछि नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भए। तर कुनै एउटा सुसंगत परराष्ट्र नीति चाहिँ बन्नसकेन। मूलत: भारतप्रति नेपालको कुनै पनि नीति बन्नसकेन। दिस इज भेरी अन्फर्चुनेट।

उहाँले मसँग ब्रिटिस इन्डियाको नेपाललाई हेर्ने दृष्टिकोणबारे बताउँदै कसरी नेपाल नाममा मात्रै स्वतन्त्र थियो तर ब्रिटिसको अनुमतिबिना केही गर्न सक्दैनथियो भनी बताउनुभयो। हामीले त्यो बेला अंग्रेजीमै वार्ता गरेका थियौँ। उहाँले भन्नुभएको थियो- नेपाल वाज इन्डिपेन्डेन्ट वन्ली इन नेम बट कुडनट डु एनिथिङ बियोन्ड ब्रिटिस इन्डिया टेरिटोरी।

उहाँले भनेको तेस्रो एकदमै महत्त्वपूर्ण बुँदा नेपालका प्रधानमन्त्रीहरुको राजनीतिक व्यक्तिबारे थियो। उहाँले भन्नुभयो- हाम्रा सबै प्रधानमन्त्रीले २००५-२००६ पछि एकदमै आत्मकेन्द्रित राजनीतिक चरित्र देखाएको कारणले नेपालको परराष्ट्र नीति कमजोर हुनपुग्यो।

त्यो बेला उहाँ दिउँसो केहीबेर आराम गरेपछि साँझ पाँच बजेतिर केही पढ्ने, केही खेल्ने, चेस, वर्डगेमलगायतमा व्यस्त हुनुहुन्थ्यो।

उहाँ उपचारका क्रममा दिल्लीमा लामो समयसम्म बस्नुभयो। साँझपख उहाँले अलि बोर मान्न थाल्नुभएको थियो। नेपालबाट राजनीतिज्ञ, व्यापारी, पत्रकारहरु आउनेजाने गर्थे। तर उहाँले भेटघाट धेरै पातलो गरिसक्नुभएको थियो।

उहाँले बोर मान्न थाल्नुभएपछि उहाँलाई हामीले २१ पत्तीको ‘म्यारिज’ खेल्न सिकायौँ। उहाँलाई पहिला तासको यो खेल आउँदैन थियो। सिकेपछि उहाँ एक राउन्डजति तास खेल्न रुचाउनुहुन्थ्यो। कहिलेकाहिँ तासमा चिटिङ पनि गर्दिने उहाँ। त्यसमा बडो बादविवाद पनि हुन्थ्यो।

राति २० मिनेटजति उहाँ वाकिङ पनि जानुहुन्थ्यो। कोभिडको चाहिँ उहाँलाई डर थियो। मास्क, ह्यान्ड स्यानिटाइजर सबैको व्यवस्था थियो।

एक किसिमले उहाँको समयतालिका र रुचिलाई उहाँले उपचारका क्रममा पनि कायम राख्नुभएको थियो। फोनमा कुराकानी चाहिँ गर्नुहुन्न थियो। दिल्लीको बसाइ चाहिँ उहाँको यादगार रह्यो। उहाँसँग बिताएका ती क्षणहरु मेरा लागि पनि अपूर्व थिए।

जुलाई २०२१ मा चिकित्सकहरुले नेपालमा नै उहाँलाई क्यान्सर शंका गरेका थिए। त्यसपछि उहाँ पेट स्क्यान (PET SCAN) का लागि सोही बेला मुम्बई जानुभयो। २०२१ अगस्टमा बायोप्सी गरेपछि घाँटीको क्यान्सर पुष्टि भएको थियो। सोही महिना उहाँ केमोथेरापी गर्न दिल्ली आउनुभयो र मध्य डिसेम्बरसम्म बस्नुभयो। त्यसपछि उहाँ नेपाल फर्कनुभयो र त्यहाँबाट थप उपचारका लागि मध्य जनवरीमा मुम्बई जानुभयो। मुम्बईमा उहाँ जुलाइ २०२२ सम्मै बस्नुभयो। त्यसपछि नेपाल फर्केको एक महिनाभित्रै भदौ ४ गते राति (अगस्ट २०) उहाँको निधन भयो।

उहाँसँग मेरो पहिलेदेखि नै संगत थियो। म अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) मा काम गर्दा र पत्रकारका रुपमा काम गर्दा पनि उहाँले मेरो बौद्धिक कार्यमा धेरै सल्लाहसुझाव दिनुहुन्थ्यो। उहाँलाई विषयवस्तुको गहिरो ज्ञान थियो। खासगरी राजनीतिक विषयमा उहाँ पारंगत नै हुनुहुन्थ्यो।

उहाँलाई सुन्न चाहने भिड भारतमा धेरै ठूलो थियो। त्यही भएर उहाँ भारत आइरहनुहुन्थ्यो। उहाँलाई राजनीतिक समूहले मात्र होइन, बौद्धिक तथा अनुसन्धाताहरुले पनि रुचाउँथे। म पनि भारतमा थिङ्क ट्याकहरुसँग नजिक रहेर काम गरेकाले उहाँसँग मेरो सरसंगत त्यो बेला पनि राम्रै हुन्थ्यो।

उहाँको बौद्धिकता सामान्य राजनीतिज्ञ र दर्शनशास्त्रीभन्दा माथि थियो। उहाँको ‘सेन्स अफ ह्युमर’ सामान्य विषयमा मात्र होइन, प्लेटो/ एरिस्टोटलका कुरामा पनि हास-परिहास गर्ने बानी थियो। उहाँमा करुणा एकदमै थियो। खुला दिलको र दिलदार हुनुहुन्थ्यो।

आफ्नो निडर व्यक्तित्व उहाँले जीवनपर्यन्तै कायम राख्नुभयो। जीवनमा उहाँले तय गरेका मार्गहरुबाट उहाँ कहिल्यै विचलित हुनुभएन। कसैसँग डग्नुभएन। कसैसँग मोलाहिजा गर्नुभएन। उहाँको कमी नेपाली राजनीति र मेरो आफ्नै व्यक्तिगत जीवनमा पनि खट्किरहनेछ।

हार्दिक श्रद्धाञ्जलि प्रिय प्रदीप गिरि!

(शाह नयाँ दिल्लीमा बसेर काम गरिरहेकी नेपाली पत्रकार तथा अनुसन्धाता हुन्। शाहले प्रदीप गिरिसँग गरेको परराष्ट्रनीति सम्बन्धी संवादको विस्तृत देशसञ्चारमा केही दिनमै प्रकाशित हुनेछ।)

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्