इन्डो-प्यासिफिक भूगोलमा अमेरिकाको आगमन कसरी भयो?

Copy to clipboard
Copied!

१. गुवानो (चरा बिष्टा) आइल्यान्ड्स एक्ट’  र अमेरिकाको  प्रशान्त क्षेत्रमा भएको आगमन

अमेरिकी इतिहासकारहरू राष्ट्रपति मिलर्ड फिलमोरको कार्यकाललाई खासै महत्व दिँदैनन्। तर उनले जापानसँग सम्वन्ध विकास गर्ने उद्देश्यले खटाएको मेथ्यु पेरी अभियान अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको प्रस्थान विन्दु थियो। ()

आधुनिक रासायनिक मलको आविष्कार त बीसौं शताब्दीको पहिलो कालखण्डमा मात्रै भएको हो। त्यतिखेर सीमित रूपमा तिनको उत्पादन हुने गरेको भए पनि अत्यधिक  महँगो भएकाले खेतीमा तिनको प्रयोग सम्भव थिएन।

तर, उन्नाइसौँ  शताब्दीको मध्यअवधि सम्ममा अमेरिकामा कृषि फार्महरूको सङ्ख्या १५ लाख पुगिसकेको थियो।

मुलुकको आधा जनसंख्या कृषिमा आश्रित थियो। तर खेतीमा उपयोग गर्न पर्याप्त  मल नहुँदा उत्पादन राम्रो भइरहेको थिएन र कृषकहरू सरकारसँग उपयुक्त व्यवस्थाको माग गरिरहेका थिए।

अर्को भाषामा भन्दा अमेरिकामा जनसंख्याको वृद्धि अत्यधिक भइरहेको थियो। बढ्दो खाद्य माग र घट्दो आपूर्तिका कारण सरकार, किसान  र समाज सबै तनावमा थिए।

सन् १८५०को ‘स्टेट अफ युनियन’ सम्बोधनमा राष्ट्रपति फिलमोरले पेरूबाट आयात गर्ने गरिएको चराको बिष्टा  खेतीपातीका लागि बहुमूल्य बस्तु भएकाले अमेरिकाले पनि त्यस्तो बिष्टा प्राप्तगर्न सवै शक्ति प्रयोग गरिनुपर्ने बताएका थिए।

१८५६ मा राष्ट्रपति फ़्र्याङ्कलिन पियर्सको पालामा ‘गुवानो (चरा बिष्टा) आइल्यान्ड्स एक्ट’पास भयो र  किसानहरूले भोगिरहेको अत्यन्त महत्वपूर्ण समस्याको समाधान भयो।

हजारौँ  हजार वर्षदेखि प्रशान्त महासागरका मानववस्ती विहीन सयौँ टापुहरूमा लाखौँ लाख समुद्री चराहरू, चमेराहरू र अन्य चराहरू निर्वाध रूपमा बसोबासो गर्ने गरेकाले ती टापुहरूमा त्यस्ता चराहरूका बिष्टाका डाँडा  बनेका थिए। ()

५०-६० मिटरभन्दा मोटा  बिष्टाका पत्र सिङ्गै टापुहरूमा बनेका थिए। खेतीपातीमा तिनको प्रयोगले उत्पादनमा कैयौँ गुणा वृद्धि गराउने गरेको थियो।

गुवानो आइल्याण्ड एक्टअनुसार कुनै अमेरिकी नागरिकले कुनै निर्जन र अर्को कुनै मुलुकको  वैधानिक स्वामित्वमा नरहेको  त्यस्तो प्रशान्त महासागरीय  टापुमा गुवानो भेट्यो भने अमेरिकी सरकारको तर्फबाट उसले त्यस्तो टापुमा स्वामित्व जनाउन पाउने, उक्त टापुको गुवानोमाथि उसको विशेषाधिकार रहने र त्यसरी अमेरिकी नागरिकले पत्ता लगाएको टापुको सुरक्षाको दायित्व अमेरिकी राष्ट्रपतिको हुने व्यवस्था थियो। ()

सो कानुन अनुरूपका राज्य र नागरिकका संयुक्त  व्यवहारबाट एक सय भन्दा बढी प्रशान्त महासागरका टापुहरूमा अमेरिकी स्वामित्व कायम भयो। अन्य मुलुकहरूले  दावी गरेका कतिपय टापुहरूको स्वामित्व परित्याग गरे पनि कसैको दावी नरहेको, नपुगेको तर भूराजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण  कतिपय  त्यस्ता टापुहरूले प्रशान्त क्षेत्रमा अमेरिकालाई स्थायीरूपमा उपस्थित रहने आधार प्रदान गरेका  थिए।

अमेरिकी किसानहरूको अत्यधिक माग र अमेरिकाको पेरूसँगको सम्बन्ध राम्रो नभएको  कारणले गर्दा पनि  सरकार उपरोक्त कानुन जारी गर्न बाध्य भएको थियो।

युरोप र अमेरिकाको बजारमा गुवानोको माग कस्तो थियो र गुवानो कत्तिको महत्वपूर्ण वस्तु रहेछ भन्ने कुराको एउटा उदाहरण यस्तो छ —  १८४४मा पेरूले सात सय टन गुवानो अमेरिका निर्यात गरेको थियो एक दशक अवधिमा त्यसको परिमाण एक लाख ७५ हजार टन भन्दा बढी थियो।

सन् १८६२मा मात्रै पेरूले बेलायतमा निर्यात गरेको त्यस्तो चराको बिष्टाको परिमाण चार लाख ३५ हजार टन थियो। ()

गुवानो आइल्याण्ड एक्ट अन्तर्गत बेकर, जार्भिस,स्वेन्स,हाउल्याण्ड , जोन्सटन, पाल्मर्या, मिड्वे एटोल्स, किङ्म्यान रिफ्स जस्ता दर्जनौ टापुहरू आज अमेरिकाको स्वामित्वमा छन्।

गुवानोको खोजीमा अमेरिकाको स्वामित्वमा आएका टापुहरूले अमेरिकालाई एउटा विशाल समुद्री क्षेत्रमा रणनीतिक पहुँच मात्रै प्रदान गरेनन् अमेरिकाको षि क्रान्तिलाई नै सघाए।

अमेरिकी समृद्धिलाई  भर र बल  प्रदान गरे।

गुवानो जस्तै कृषि सम्वन्धी अन्य सरोकार र कारणहरूले प्रशान्त महासागरका  हजारौँ  किलोमिटर क्षेत्रमा हवाई देखि गुवामसम्म प्युरिटो  रिको, भर्जिन आइल्याण्डस् , अमेरिकन समोवा, मिड वे एण्ड ब्रुक्स,बेकर वेक  आइल्यान्ड्स टापु समूहहरूमा पनि अमेरिकी स्वामित्व कायम भयो।

ती सयौँ टापुहरूको कूल क्षेत्रफल  करीव सबा दुई लाख वर्ग किलोमिटर हुन आउँछ।

त्यसको अर्थ अन्तर्राष्ट्रिय कानुन अनुसार ती टापुको किनाराबाट दुई सय माइल सम्मको समुद्री भाग उसको आर्थिक क्षेत्र हुने र १२ माइल सम्मको क्षेत्र उसको प्रभुसत्ता अन्तर्गत रहने व्यवस्थाले प्रशान्त क्षेत्रको ठूलो भागमा अमेरिका विस्तारित हुन पुगेको छ।

प्रशान्त महासागरमा अमेरिकी विस्तारका केही उदाहरण हेरौँ – अमेरिकाको मूख्य भूमिबाट हवाई टापु समूह चार हजार किलोमिटरको दूरीमा छ । त्यस्तै अमेरिकाको मूख्य भूमिदेखि अमेरिकन गुवामको दूरी ११ हजार पाँच सय ७९ किलोमिटर  छ।

तर चीनको मूख्य भूमि देखि अमेरिकी गुवामसम्मको दूरी करीव तीन हजार किलोमिटर मात्रै हो – त्यो भनेको झन्डै  हङ्कङदेखि सिङ्गापुरसम्मको दूरीमात्रै हो।

२. स्पेन अमेरिका युद्ध र प्रशान्त क्षेत्र

सेप्टेम्बर १९, १७९६मा  अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिंगटनले आफ्नो बिदाइ भाषणमा संसारको कुनै पनि भागका मुलुकहरूसँग इमान्दारीका साथ  स्थायी गठवन्धन निर्माण गर्नु  अमेरिकाको वास्तविक नीति भएको बताएका थिए।

बीचमा अनेक नीतिगत उतार चढाव भए पनि वासिंगटनको उक्त घोषणाको मर्मलाई सबै अमेरिकी सरकारहरूले उत्तिकै मनन गरिरहेका छन् भनेर बुझ्न सकिन्छ।

प्रशान्त महासागरस्थित अमेरिकाको ५० सौँ राष्ट्र हवाईको इतिहास पनि रोचक छ।

हवाई टापु समूह श्रीखण्डको लागि विख्यात थियो।

चीनमा श्रीखण्डको अत्यधिक माग हुने भएकोले १८ औँ शताव्दीको आरम्भदेखि नै अमेरिकी व्यापारीहरूको ध्यान हवाईले तानेको थियो।

१८३०को दशकमा हवाईमा चिनी उद्योगहरू स्थापना भए र  अमेरिकी  उखु किसानहरू, चिनी उद्योगीहरू र इसाई मिसनरीहरूको ठूलो सङ्ख्या हवाई टापुहरुमा उपस्थित र  व्यवस्थित भइसकेका थिए।

त्यस्तो उपस्थितिका कारण  हवाईको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा आएको परिणाम त्यहाँको राजनीति र विदेश नीतिमा पर्ने नै भयो ।

त्यसपछिका बर्षहरूमा हवाई र अमेरिकाबीच अनेकौँ  राजनीतिक र आर्थिक सन्धि र सम्झौताहरू सम्पन्न भए ।

१८८७मा हवाईको पर्ल हार्बरमा अमेरिकाको जल सैन्य अड्डा स्थापना भयो। अमेरिकामा हवाईको चिनीको निर्यातमा अत्यधिक वृद्धि हुन थालेकोले अमेरिकी  चिनी व्यापारी  र लगानीकर्ताहरूको सङ्ख्या त्यहाँ दिनपर्दिन बढ्दै जान थाल्यो।

त्यसको प्रभाव स्वाभाविक रूपमा त्यहाँको आन्तरिक राजनीतिमा पर्न थाल्यो।

अमेरिकाको समर्थक समूहद्वारा हवाईको सरकार विरूद्ध विद्रोह, नयाँ सरकार गठन, अमेरिकामा गाभिने निर्णय, अमेरिकाद्वारा त्यस्तो निर्णयमा असहमति,   अमेरिकाद्वारा त्यस्तो विघटित सरकारको नै पुनर्स्थापना, त्यसको विरोधमा स्वतन्त्रताको घोषणा हुँदै अमेरिका र हवाईवीचको सम्वन्धमा उतार चढाव हुँदै १८९७मा सम्वन्ध सामान्यीकरण सन्धि सम्पन्न भयो।

११८९८मा  स्पेन र अमेरिकावीच युद्ध शुरू भयो । सो युद्धको क्रममा हवाई स्थित पर्ल हार्बर  जल सैन्य अड्डाको सुरक्षा अमेरिकाको प्रमुख रणनीतिक चिन्ता बन्न पुग्यो । सो सरोकारका कारण अमेरिकी संसदले हवाईलाई अमेरिकामा गाभ्ने आफ्नो लामो समय देखिको विरोधको नीतिलाई परित्याग गर्यो र हवाई अमेरिकामा गाभियो ।

पछि आएर अगस्ट १९५९मा राष्ट्रपति आइजन हावरको पालामा आएर  हवाईलाई अमेरिकाको ५० सौँ राज्यको रूपमा  घोषणा गरियो ।

हवाईलाई अमेरिकामा गाभ्ने सवालमा अमेरिकी सरकार र संसदको स्तरमा सहमति/ असहमति, समर्थन र  विरोधको लामो शृंखला चलेको थियो । केही होची-अर्घेली पनि नभएका होइनन् ।

ती सवै कुरालाई मध्य नजर गर्दै हवाईका सिनेटर द्वय डेनियल इनोयी  र डेनियल अकाकाको समर्थनमा  नोभेम्बर २३, १९९३मा अमेरिकी संसदले संयुक्तरूपमा  विगतका त्यस्ता अवाञ्छित कार्यहरूका लागि अमेरिकी जनताका तर्फबाट हवाईका जनतासँग क्षमा माग्ने निर्णय गर्यो र राष्ट्रपति  बिल क्लिन्टनले त्यसलाई कानुनको स्वरूप प्रदान गरे  त्यसबाट हवाईका आदिवासी जनाताका केही विशेषाधिकारहरू सुरक्षित गरिए । ( )

वीचको छोटो अवधिमा बाहेक पन्ध्रौँ सताव्दीको अन्तिम दशक  देखि अठारौँ सताव्दीको अन्त्य सम्म क्युवामा स्पेनको औपनिवेशिक शासन थियो ।

क्युबामा स्पेनी शासन विरूद्ध आक्रोश बढिरहेको थियो ।  स्वतन्त्रता आन्दोलन व्यापक बन्दै थियो ।  त्यसले स्वाभाविक रूपमा स्पेनलाई  दमनमा उतारेको थियो ।

त्यसले अमेरिकी जनमतलाई  क्युबाको स्वतन्त्रताको पक्षमा उभ्याएको थियो । परिस्थितिको समीक्षा गरेर सरकारलाई सो सम्वन्धी  प्रतिवेदन प्रस्तुत गर्ने उद्देस्यले एउटा अमेरिकी जल सेनाको जहाज -युएसएस मेन लामो र  कठिन समुद्री यात्रा,अत्यन्त प्रतिकूल मौसम छिचोलेर   क्युबा पुगेको थियो  । तर १५ फेब्रुवरी १८९८मा    हवाना बन्दरगाहमा लंगुर हालेर बसेको उक्त जहाजमा  एक्कासी विस्फोट भयो ।  करीव तीन सय जल सैनिक अधिकारीहरूको  निधन भयो र जहाज डुब्यो ।

परिणामस्वरूप थियोडोर रुजवेल्ट ( पछि राष्ट्रपति) जोन पर्सिङ् (पछि आएर अमेरिकाका विख्यात पाँच  तारे जर्नेल) लगायतका पत्रकार, बुद्धिजीवीहरूको  दवावलाई  राष्ट्रपति विलियम मक्किन्लेले झेल्न सकेनन् र उनले स्पेन विरूद्ध नाकावन्दीको घोषणा गरे।  त्यसका विरूद्ध स्पेनले युद्धको घोषणा गर्‍यो।

त्यतिखेर स्पेन अमेरिकाको तुलनामा निकै शक्तिशाली मुलुक थियो।

त्यतिखेर स्पेनको सेनाको सङ्ख्या  पाँच लाखको हाराहारीमा थियो। ( ) ऊ विश्वको पाँचौ ठूलो सैन्य शक्ति थियो। अमेरिकाको तुलनामा उसका हातहतियार पानि आधुनिक थिए।

अमेरिकाको उदय  विश्वको प्रमुख आर्थिक शक्तिको रूपमा भइसकेको थियो तर ऊ सैनिक रूपमा नगन्य शक्तिको रूपमा थियो । उसको कूल सैन्य सङ्ख्या भनेकै करीव ३० हजार  मात्रै थियो। ()

३. अल्फ्रेड माहनको समुद्री शक्तिको रणनीतिक सिद्धान्त र स्पेन -अमेरिका युद्ध

 १८१५को भियना काङ्ग्रेस र चार दशक लामो युरोपीय शान्ति र विश्वमा शक्ति सन्तुलनको  नयाँ परिवेशले अमेरिकालाई शान्ति र समृद्धिको असाधारण अवशर प्रदान गर्‍यो।

भियना काङ्ग्रेसपछि अमेरिका एक किसिमले  एकान्तवासको युगमा प्रवेश गर्‍यो।

तर १८९८मा एकान्तवासलाई त्यागेर अमेरिका विश्व व्यवस्थाको केन्द्रमा आइपुग्यो।

क्युबाको स्वतन्त्रता आन्दोलन, स्पेनी शासनको दमन र क्युबाको सवालमा हस्तक्षेपगर्न आफ्नो सरकारलाई  अमेरिकी जनताको दवाव र सैन्य हस्तक्षेप अमेरिकी र विश्व इतिहासको एउटा नयाँ आरम्भ थियो।

सिङ्गो बीसौँ र एक्काइसौँ  शताव्दीको  आजसम्मको विश्व राजनीति र अमेरिकी  विदेश नीति  कूटनीति र रणनीतिलाई  उक्त युद्ध र त्यसको परिणामले दिशा निर्देश गरिरहेकै छ।

 स्पेन-अमेरिका युद्धको समयमा तुलनात्मक रूपमा अमेरिकी जलसेना अत्यन्त सानो थियो । करीव तीन हजार को सङ्ख्यामा जल सैनिकहरू थिए , तर सङ्गठित, लक्ष प्रशिक्षित थियो । जलसेनाका तात्कालिन उच्चाधिकारीहरू   उन्नत भविष्य दृष्टियुक्त  थिए ।

एक अमेरिकी  जल सेना अधिकारी तथा विश्वको जलसेनाको इतिहासका विख्यात ज्ञाता, जल सैन्य  रणनीतिज्ञ र भूराजनीति विज्ञ  अल्फ्रेड थेयर माहनले  अमेरिकी जल सेनाकालागि  विकास गरेको रणनीतिक सिद्धान्त () त आधुनिक सैन्य रणनीतिको गीता नै मानिन्छ ।

तर अमेरिकी सेनाको हालत भने अत्यन्त निराशाजनक थियो । २६ हजारको आसपासको अमेरिकी सेना त्यत्रो विशाल भूखण्डमा छरिएर रहँदा त्यसको उपस्थितिको अनुभूतिसम्म पनि कठिन थियो ।

तिनीहरूलाई कुनै प्रशिक्षण थिएन । अनुभव आर्जन र  आदान प्रदानको अवशर थिएन । बलियो र वैज्ञानिक संगठनमा ती आवद्ध थिएनन् । नेसनल गार्ड भनेर चिनिने प्रहरी संगठनको अवस्था त्यस्तै टीठलाग्दो थियो  । ()

यस श्रृंखलाको अघिल्लो  लेख पनि पढ्नुहोस्: 

इन्डो प्यासिफिक ग्रेट-गेम: प्रथम चरण 

तर अमेरिकामा रहेका क्युबालीहरूको दवाव र उपनिवेशवाद विरोधी अमेरिकी राष्ट्रिय चेतनाको प्रभाव अन्तर्गत अमेरिका स्पेन  विरूद्ध लड्न वाध्य भएको थियो ।

स्पेनसँगको युद्धको हतारोमा नियमित सेनामा दोब्बर वृद्धि गरियो ।  दुई लाख भन्दा बढीको  तर अत्यन्त कम अनुभव वा अनुभवशून्य स्वयमसेवक सेनाको गठन गरियो । (१० ) क्युबाली जनताको विद्रोह , अमेरिकी जल सेनाको  प्रभावकारी नाकावन्दी आदि अवस्थामा क्युबा स्वतन्त्र भयो ।

 यता  दक्षिण पूर्व एसियामा पनि अमेरिकी जल सेनाले स्पेनी लडाकु जहाजहरूमाथि  आक्रमण गर्ने, मनिलामा नियन्त्रण स्थापना गर्ने,र फिलिपिन्सका अन्य बन्दरगाहहरूलाई  नाकावन्दी गरेर  स्पेनी जल सेनालाई गतिहीन बनाउने र  मूलरूपमा फिलिपिन्सबाट स्पेनलाई प्राप्त हुने ठूलो परिमाणको भूमिकरबाट वन्चित गरेर उसलाई आर्थिक रुपमा समेत ढाल्ने र स्वतन्त्र  क्युबामा पुन:  स्पेनबाट हुन् सक्ने  आक्रमण छेक्ने  विशिष्ट रणनीतिक योजना तयगरेको थियो ।  (११ )

त्यसपछि अमेरिकी जलसेनाले आफ्नो युद्ध तयारी शुरू गर्यो । हङकङमा जहाज जडान र मर्मतको काम हुन थाल्यो , युद्ध  सामग्री र इन्धन आपूर्तिको व्यवस्था  मिलाइयो र अन्तत : अप्रिल २ ४,१८ ९८मा राष्ट्रपति मकिन्लेले आफ्नो मुलुकको एसियाली जलसेनालाई स्पेन विरूद्ध फिलिपिन्समा आक्रमण गर्ने आदेश दिए ।

कम्मोडोर  जर्ज डिवीले अप्रिल ३० तारिखका दिन स्पेनिस लडाकु जल बेडालाई डुबाइ दिए , स्पेनी सेनालाई निरूपाय बनाएर मनिलालाई नियन्त्रणमा लिए ।

स्पेन विरुद्ध लडिरहेका फिलिपिनी छापामारहरू अमेरिकी  नियन्त्रण विरूद्ध उभिएका थिए तर सफल  भएनन् । यसरी फिलिपिन्स अमेरिकी नियन्त्रणमा आयो ।

डिसेम्बर १८९८मा सम्पन्न पेरिस सन्धि अनुसार स्पेन क्युबालाई स्वतन्त्रता प्रदान गर्न सहमत भयो साथै  प्रशान्त क्षेत्रको प्युरिटो रिको, गुवाम र फिलिपिन्सलाई उसले दुई करोड डलरमा अमेरिकालाई सुम्पिदियो  । (१२ )

माथि उल्लेख भइसकेको छ- उन्नाइसौँ  सताव्दीको अन्त्य ताकासम्म सैन्य क्षमताको आधारमा अमेरिका विश्वको कुनै गणनायोग्य मुलुक थिएन । ऊ सैन्य शक्तिको विकासमा इच्छुक पनि थिएन ।

दुई तिर विश्वका  दुई ठूला समुद्र,उत्तरमा क्यानाडा  दक्षिणमा मेक्सिको- कतैबाट पनि उसलाई कुनै सैन्य चुनौती थिएन ।

अमेरिकालाई सैन्य चुनौती दिन सक्ने युरोपेली मुलुकहरू हजारौँ किलोमिटरको दूरीमा  थिए ।

कय्यौँ साता  लामो  समुद्री यात्रा तय गरेर अमेरिका विरूद्ध आक्रमण गर्न आउन उनीहरूलाई त्यतिखेर खासै  सहज र सरल थिएन ।

अर्को कुरा कसैको  उपनिवेश  हुनुको पीडा  भोगेकोले कुनै मुलुकलाई उपनिवेश बनाउने अमेरिकी नीति पनि थिएन ।

तर ऊ विश्वको प्रमुख आर्थिक शक्तिको रूपमा आइसकेको थियो ।

अमेरिकी जनताको प्रतिव्यक्ति आय छ सय डलर आसपास थियो र त्यो विश्वको सवैभन्दा बढी थियो ।

कृषिमा  क्रान्ति र  आधुनिक औद्योगिकीकरणबाट  प्राप्त त्यो आर्थिक समृद्धिलाई सुरक्षित राख्नु, त्यसलाई विस्तार गर्नु, कृषि र उद्योगबाट भएको प्रचूर उत्पादनकालागि उसलाई  एसियाको बजार  चाहिएको थियो ।

स्पेनसँगको युद्धलाई उसले उपनिवेशवाद विरूद्धको युद्धको साथै एसिया प्रशान्त  क्षेत्रको  बजारमा  पहुँच विस्तारको अवशरको रूपमा लियो ।

४. हवाईपछि फिलिपिन्समा अमेरिकाको  दोस्रो रणनीतिक फड्को

मध्य अमेरिकामा संयुक्त राज्य अमेरिकाको प्रभाव र वर्चस्व अनि जापानमा मेथ्यु पेरीको अभियानले  युरोपका मुलुकहरूका लागि समेत  जापान खुला भएको अवस्था र अमेरिकालाई कृषि, उद्योग, खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन, प्रवर्द्धन, विकास  र वजारीकरणमा प्राप्त उपलव्धि र संसारको सवैभन्दा समृद्ध र ठूलो अर्थतन्त्रको रूपमा भएको उसको उदयले ठूला  युरोपेली शक्ति राष्ट्रहरू माझ अमेरिकाको महत्व र वर्चस्वमा ठूलो वृद्धि भएको थियो ।

त्यसमाथि स्पेन- अमेरिका युद्धमा पाएको विजय र  प्रशान्त क्षेत्रको हवाईदेखि प्युरिटो रिको लगायतका विभिन्न टापु समूह हुँदै गुवाम र फिलिपिन्स सम्मको भूभागमा नियन्त्रण स्थापना गरेको अमेरिका अव  युरोपेली मुलुकहरूको  विश्वव्यापी साम्राज्यको शक्तिशाली क्लवको   सम्मानित  सदस्य बन्न पुगेको थियो ।

त्यसले समान,जाती, धर्म,भाषा र  संस्कृतिलाई प्रतिनिधित्व गर्ने अमेरिका एसियामा उपस्थित हुन आउनुलाई संसारको सवैभन्दा ठूलो साम्राज्यको स्वामी वेलायतले स्वागतयोग्य मान्यो ।

साथै जर्मनी र रूसको बढ्दो प्रभावले आफ्ना उपनिवेशहरूको सुरक्षामा चुनौती बेहोरिरहेको बेलायतलाई   आफ्ना भूराजनीतिक  लक्षहरूको प्राप्तिमा दक्षिण पूर्व एसियामा फिलिपिन्ससम्म आएको अमेरिका ठूलो रणनीतिक  भर बन्न पुग्यो । (१३ ) अस्ट्रेलिया  र न्युजिल्याण्डको लागि फिलिपिन्समा अमेरिकाको उपस्थिति स्वागतयोग्य विषय बन्न पुगेको  थियो ।

यहाँ दुई कुरा महत्वपूर्ण छन्  – हवाईमाथिको अमेरिकी नियन्त्रण  एसियामा उसको आगमनको पहिलो खुड्किलो थियो र फिलिपिन्स माथिको उसको नियन्त्रणले चीनमा आफ्नो व्यापारिक र रणनीतिक लक्ष प्राप्तिमा ठूलो उपलव्धि थियो ।

संयोग कस्तो रह्यो भने फिलिपिन्समा अमेरिकी नियन्त्रण स्थापना हुने बित्तिकै चीनमा  विदेशी प्रभुत्व र क्रिस्चियन धर्म प्रचार  विरूद्ध बक्सर विद्रोह शुरू भयो ।

उन्नाइसौँ सताव्दीको अन्त्यमा चीनमा मन्चु साम्राज्य आन्तरिक रूपमा कमजोर बनिरहेको थियो र  बेलायत, फ्रान्स, जर्मनी,रूस , अस्ट्रिया-हंगेरी, इटाली र जापान चीनलाई विभिन्न खण्डमा विभाजन गरेर ती अलग अलग  खण्डमा आफ्नो प्रभुत्व स्थापनामा लागिपरेका थिए । अर्कोतिर चीनमा क्रिश्चियन धर्म प्रचार अभियानले पनि तीब्रता पाइरहेको थियो ।

चीनले उक्त शक्ति राष्ट्रहरूबाट चर्को आर्थिक शोषणको अनुभव पनि गरिरहेको थियो ।

यिनै परिवेशमा सन् १९००को शुरूमा चीनमा  विदेशी प्रभुत्व र इसाई अभियान विरूद्ध बक्सर विद्रोह भनेर चिनिने गुप्त  हिंसात्मक गतिविधि प्रारम्भ भयो ।

करीव तीन सय विदेशी र इसाई धर्म प्रचारकको हत्या भयो ।

चीनियाँ भूमिमाथि अमेरिकाले अन्य शक्ति राष्ट्रहरूको जस्तो भौगोलिक महत्वाकांक्षा राखेको थिएन  तर त्यो विशाल भू खण्डमा उसले  व्यापार विस्तारको लक्ष भने राखेको थियो ।

चीनमा सवैका लागि खुला व्यापारको अवशर हुनुपर्ने उसको दावी थियो तर तत्कालीन शक्तिराष्ट्र हरू त्यसमा सहमत भइरहेका थिएनन् ।

मक्किन्ले प्रशासन चीनियाँ विद्रोह विरूद्ध शक्तिराष्ट्र वीच कुनै गठवन्धनको पक्षमा थिएन । तर उक्त हिंसात्मक विद्रोहले चीनमा आफ्नो व्यापारिक स्वार्थमा सहयोग पुर्याउन सक्ने अवस्था पनि नभएकोले ब्रिटिस जलसेना प्रमुख सर एडवार्ड सेम्योरको नेतृत्वको अन्तर्राष्ट्रिय सेनाको सहयोगमा फिलिपिन्समा स्थित आफ्ना एक सय जना जति जल सैनिकहरूलाई  पेकिङ् र आसपासका क्षेत्रमा विदेशीहरूको उद्धारमा खटायो ।

शुरूमा दुई हजारको आसपासको अन्तर्राष्ट्रिय सेना सफल हुन सकेन तर अन्तत अन्तर्राष्ट्रिय सेनाको शक्ति थप हुँदै गएर  कडा प्रतिरोध हुँदा  विद्रोही गतिविधि शिथिल हुँदै अन्त्य भयो । चीन सरकार क्षतिपूर्ति वापत करीव ३३ करोड डलर  प्रदान गर्नुका साथै शक्ति राष्ट्रहरूलाई चीनमा विशेषाधिकार प्रदान गर्न समेत सहमत भयो  ।

यसले चीनको रेलमार्ग र जलक्षेत्रमा विदेशी सेनाको उपस्थितिलाई सहज गरायो ।

बक्सर विद्रोहले  पहिलो पटक अमेरिकालाई अन्य शक्ति राष्ट्रहरूसँग  सैन्य अभियानसँग जोड्यो,  द्वन्द्व र युद्धको स्थितिमा कुनै विदेशी सैन्य अधिकारी अन्तर्गत आफ्नो सेनालाई खटाउने अभ्यास आरम्भ गर्‍यो।

विश्व राजनीतिमा  अमेरिकाको बढ्दो  आर्थिक, राजनीतिक र सैनिक प्रभाव र वर्चस्वले नयाँ   भूमिका प्राप्त गर्यो –  हवाईदेखि प्रशान्त क्षेत्रका अन्य टापुहरू हुँदै फिलिपिन्स माथिको नियन्त्रण र चीनको बक्सर विद्रोहको दमनमा मेरिकालाई प्राप्त  राजनीतिक र सैनिक अनुभवको योगदान बीसौँ सताव्दीमा विश्व व्यवस्थाको नेतृत्व गर्ने अमेरिकी भूमिकाको आधार बन्न पुग्यो ।

त्यस अघि  सन् १८९९मा अमेरिकी विदेश मन्त्री जोहन हेले पूर्वोक्त मुलुकहरूलाई  सवै मुलुकका लागि  चीनमा  व्यापार गर्न खुलाद्वार नीति अवलम्वन गर्न नुरोध गरेर पत्राचार गरेका थिए तर त्यसप्रति कुनै मुलुक सकारात्मक थिएनन् र बक्सर विद्रोहको अन्त्य पछि उक्त विद्रोहको नाउमा चीनको झन् ठूलो भूभागमा उनीहरूको नियन्त्रण हुने र आफ्ना लागि व्यापारिक  अवशर सङ्कुचित हुने संभावना देखेर उसले  चीनमा खुला द्वार नीतिको पक्षमा उक्त मुलुकहरूलाई दोस्रो पटक भने कठोर चेतावनी युक्त पत्र पठाएको थियो ।

अहिले अमेरिकाको कुरा नसुन्ने शक्ति राष्ट्रहरू आउने नयाँ सताव्दीमा अमेरिकाको कुरा सुन्न वाध्य हुने कुरा विदेश मन्त्री हे ले सो अवशरमा उल्लेख गरेका थिए  । (१४ )

विदेश मन्त्री हेको पत्र निर्णय प्रक्रियामा प्रवेश गर्दै रहेको सन्दर्भमा १९००मा अमेरिकालाई  राष्ट्रपतिको निर्वाचनले लपेट्यो ।

मक्किन्ले पुन निर्वाचित भए । तर सेप्टेम्बर १९०१मा एक जना  अराजक समाजवादीले उनको हत्या गरिदियो र अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकाको रणनीतिक महत्वाकांक्षालाई प्रतिनिधित्व गर्ने उपराष्ट्रपति थियोडोर  रुजवेल्ट उनको उत्तराधिकारी बने ।

उनको कार्यकालको आरम्भ सँगै अमेरिका विश्व मामिलामा सशक्त र प्रभावकारी भूमिकामा आयो ।

मक्किन्ले र रुजवेल्टले बीसौँ सताव्दीको अमेरिकाको भूमिकाको पूर्वाभ्यास आरम्भ गरेका थिए ।

. साम्राज्यवादी महत्वाकांक्षाको पक्षविपक्षमा अमेरिकी धार

यो लेखको  अन्त्य गर्नु अघि  एउटा भाषणको सन्दर्भ जोड्नु आवश्यक देखिन्छ ।

सन्दर्भ हो, सिनेटर अल्बर्ट जे.  बेभरिजले  सिनेटमा दिएको पहिलो भाषण ।

विशेष उल्लेख्य के रहेको थियो भने सिनेटको चुनाव जितेको एक बर्ष पछि मात्रै उनले आफ्नो पदको शपथ ग्रहण गरेका थिए र त्यो एक वर्षको  अवधिमा उनी फिलिपिन्सको रणनीतिक महत्वबारे  व्यापक  अध्ययनगर्ने उद्देस्यले उक्त मुलुकको  भ्रमणमा  गएका थिए ।

सिनेटरको रूपमा आफ्नो जिम्मेवारी ग्रहण गर्नु अघि  अमेरिकाको भविष्य एसियामा छ भन्ने विश्वासको आधारमा उनी  त्यहाँ गएका थिए ।

३७ बर्षिय इन्डियानाका  सिनेटरले सिनेटमा दिने पहिलो भाषण सुन्न सिनेटको हल खचाखच थियो ।

सिङ्गो मुलुक उनले के बोल्छन् भनेर अधीरतापूर्वक  प्रतीक्षा गरिरहेको थियो ।

फिलिपिन्स सधैँ अमेरिकाको रहेको र रहनु पर्दछ र फिलिपिन्सको अली पर्तिर चीनको विराट बजारको अवशरलाई अमेरिकाले छोड्नै सिनेटर बेभरिजको भनाई थियो ।

अन्य शक्तिराष्ट्रहरूको तुलनामा   चीन  अमेरिकाको  निकट रहेको, प्रशान्त महासागर  भनेको  अमेरिकाको आफ्नै सागर भएको   र अमेरिकाले आफ्नो सवैभन्दा बढी व्यापार एसियाका मुलुकहरूसँगै हुनुपर्ने विचार उनले सो अवशरमा व्यक्त गरेका थिए ।

अर्को कुरा, संसारका तीन ठूला महासागरमा प्रशान्त महासागर अमेरिकी सागर भएको र भारत निकटको उक्त सागरमा सैनिक, जलसैनिक  र व्यापारिक  अड्डा निर्माणमा अमेरिका लागिहाल्नु पर्ने   कुरा उनले सो अवशरमा व्यक्त गरेका थिए ।

फ्रान्स, जर्मनी रूस लगायतका मुलुकहरू चीनको सीमानामा स्थायी अड्डा बनाएर बस्दै गरेका अवस्थामा  फिलिपिन्सले अमेरिकाको लागि पूर्वको ढोका खोलिदिएको उनको भनाई थियो ।

अर्को कुरा, संसारका तीन ठूला महासागरमा प्रशान्त महासागर अमेरिकी सागर भएको र भारत निकटको उक्त सागरमा सैनिक, जलसैनिक  र व्यापारिक  अड्डा निर्माणमा अमेरिका लागिहाल्नु पर्ने   कुरा उनले सो अवशरमा व्यक्त गरेका थिए ।

भविष्यमा चीन  अमेरिकाको सवैभन्दा ठूलो र शक्तिशाली व्यापारिक साझेदार हुने उनको दावी एक सय वर्ष पछि सत्य सावित भएको छ  ।

स्पष्ट छ,   त्यस्तो विचार राख्ने अल्बर्ट बेभरिज कुनै एक्ला व्यक्ति थिएनन् – त्यो एउटा समूह विचार थियो र त्यसमा  थियोडोर रुजबेल्ट  र हेनरी क्याबोट लज जस्ता सिनेटरहरू   रिभरेन्ड जोसिया स्ट्रङ्ग जस्ता जातीय र क्रिश्चियानिटीको श्रेष्ठताको प्रवल पक्ष पोषण गर्ने   ( १५ )वौद्धिकहरू र अल्फ्रेड थेयर महान जस्ता रणनीतिकारहरूले अमेरिकी राजनीति र जनमतलाई प्रभावित गरिरहेका थिए ।निसन्देह:राष्ट्रपति मकिन्ले र उनको प्रशासन त्यसबाट अत्यधिक प्रभावित थियो ।

सिनेटर बेभरिज  युरोपका साना साना राज्यहरू विशाल उपनिवेश र साम्राज्यको स्वामी भएर  व्यापार र आर्थिक समृद्धिको दिशामा अग्रसर भइरहेको अवस्थामा अमेरिकाले पनि त्यो अवशर छोड्न नहुनेमा विश्वस्त थिए ।

यहाँसम्म कि भगवानले अव्यवस्था र अराजकता विरूद्ध र बर्बर र असन्तुलित मानसिकताका व्यक्तिहरूको शासन अन्त्य गरेर त्यहाँ शान्ति र व्यवस्था स्थापना गर्ने राष्ट्रको रुपमा अमेरिकालाई चयन गरेको उनी उल्लेख गर्दथे । (१६ )

अब्बल भाषण कलाका स्वामी र इतिहासका धुरन्धर उनी अमेरिकाका  लोकप्रिय राजनेता  थिए ।

बेभरिजको निधन भएको धेरै भयो तर अमेरिकामा बेभरिज जीवित भएको अनुभूति धेरैले गर्दछन् र अमेरिकाको विश्व दृष्टिकोण मा र उसका हस्तक्षेप कारी नीतिमा पनि त्यो प्रतिविम्वन हुने गरेकै छ ।

सोही सन्दर्भमा अमेरिकी राष्ट्रपति विलियम मकिन्लेले स्पेनसँग शान्ति सन्धि गर्न   पेरिस गएको अमेरिकी प्रतिनिधि मण्डललाई दिएको निर्देशन यहाँ उल्लेख्य हुन आउँछ । सो अवशरमा उनले भनेका थिए ‘कुनै इच्छा र कुनै रणनीतिक लक्ष बिनानै अमेरिकालाई युद्धमा संलग्न हुन वाध्य बनाइयो ।

उनले भनेका थिए -‘मानव सभ्यताको प्रवर्द्धनमा आरम्भ देखिनै निश्चित मान्यता, विश्वास र प्रतिवद्धता बोक्दै आएको  एउटा महान राष्ट्रलाई प्रतिनिधित्व गर्ने  उनको सरकार  ती दायित्व र भूमिका  निर्वाह गर्न वाध्य छ’ ।

र मक्किन्ले गलत थिएनन् । उनी युद्ध चाहदैनथे । अमेरिका युद्धको लागि तयार नै थिएन ।

उसलाई  युद्ध लड्न वाध्य बनाइयो  र त्यही युद्धले उसलाई सवैभन्दा ठूलो सैनिक र राजनीतिक शक्तिको हैसियत आर्जन गर्ने मुलुकको रूपमा स्थापित हुने ढोका खोलिदियो ।

त्यही नियति र संयोगले अमेरिकालाई  नयाँ दायित्व र  भूमिकामा पनि स्थापना गरिदियो ।

एउटा नयाँ अमेरिका र एउटा नयाँ विश्व व्यवस्था— आजको अमेरिका  र आजको विश्व व्यवस्थाको जग राष्ट्रपति मक्किन्लेको कार्यकालमा हालिएको थियो  ।

तर राष्ट्रपति मक्किन्ले मूलत : शान्ति प्रिय व्यक्ति थिए र  स्पेन विरूद्धको  युद्ध उनको रुचि को विषय नभएर परिस्थितिको दवाव थियो । (१७)

त्यो दवाव सानो हुन्न र थोरै अमेरिकी राष्ट्रपतिहरूले मात्र त्यस्तो दवावको सामना गर्ने सामर्थ्य देखाएका छन् तर त्यो एउटा नयाँ अमेरिका र एउटा नयाँ विश्व व्यवस्था आजको अमेरिका  र आजको विश्व व्यवस्थाको जग राष्ट्रपति मक्किन्लेको कार्यकालमा हालिएको थियो  ।

सन्दर्भ सूची:

(१ ) केशवप्रसाद भट्टराई- इन्डो प्यासिफिक ग्रेट-गेम: प्रथम चरण, देश सञ्चार  पुस ६, २०७६

(२) चराको बिष्टामा आत्यधिक मात्रामा पाइने नाइट्रोजन, फस्फोरस र गुवानो टापुमा प्राकृतिक रूपमा नै हुर्किएका नरिवल वृक्षहरूका  जंगल र ती टापुहरूबाट समुद्रमा मिसिने विभिन्न बस्तुहरूका कारण आहाराहरूको पर्याप्तताले गर्दा  ती क्षेत्रमा ठूलो परिमाणमा माछाहरू समेत    पाइने भएकोले प्रशान्त महासागरका ती  निर्जन टापुहरूका आसपासका मुलुकका  जनता र सरकारका रूची र सरोकार  र त्यसले पारेको राजनीतिक, सामाजिक, सांस्कृतिक  र वातावरणीय असरका साथै प्रशान्त क्षेत्रका त्यी टापुहरूले वर्तमान विश्व सम्वन्धलाई कसरी निर्धारण गरेका छन् भन्ने बारे   कनासस विश्व विद्यालयका प्राध्यापक ग्रिगोरी टी. कुसम्यानको  गहन अनुषन्धानमा आधारित पुस्तक    ‘ गुवानो एण्ड दी ओपनिङ् अफ दी प्यासिफिक वर्ल्ड : अ ग्लोबल इकोलोजिकल हिस्ट्री , क्याम्ब्रिज युनिभर्सिटी प्रेस , २०१३मा सविस्तार  उल्लेख गरिएको छ ।

(३)  केभिन अन्डरहिल – दी गुवाअनो आइल्याण्डस् एक्ट , दी वाशिंगटन पोस्ट , जुलाई ९, २०१४

(४)  विभिन्न विज्ञहरूलाई उद्धृत गर्दै भक्स डटकममा  डायलन म्याथ्युजको लेख  ‘दिस १८५६ ल मेक्स इट लिगल टु सीज आइल्याण्डस् फर अमेरिका इफ दे ह्याभ्स लट्स अफ बर्ड क्र्याप’,जुलाई ३१, २०१४

५ )हाउस भोट्स टु एनेक्स हवाई , जुन १५, १८९८, बाइ एन्ड्रयु ग्लास, पोलिटिको , जुन १५, २०१७

(६ ) डा. स्पेन्सर सी. टुकर सम्पादित दी इन्साइक्लोपेडिया अफ स्पेनिस- अमेरिकन एण्ड फिलिपिन- अमेरिकन

वार्स – अ पोलिटिकल, सोसल एण्ड मिलिटरी हिस्ट्री, एबिसी -सीएलआइओ, २००९, पृष्ठ ६०७, ६०९-६१०

(७) डा. स्पेन्सर सी. टुकर, ऐजन पृष्ठ ६६३-६६५

( ८ ) दी इन्फ्लुएन्स अफ  अफ सी पावर अपन हिस्ट्री : १८६०- १७८३ लिटिल ब्राउन एण्ड कंपनी, १८९०.

अमेरिकी नेतृत्व र जनतालाई मुलुकको इतिहास र भूगोलको अन्तर्सम्वन्धको महत्व र अन्तर्राष्ट्रिय राजनीतिको सिद्धान्त र व्यवहारमा त्यसको असर  बताउन   २० भन्दा बढी पुस्तक र सय भन्दा बढी विशिष्ट लेखहरूका लेखक माहनको प्रभाव अमेरिका, चीन, रूस  र भारतको जल सैन्य रणनीतिमा प्रतिविम्वन भएको पाइन्छ ।

भनिन्छ -जर्मन सम्राट कैजर विलहम द्वितीयले त हरेक जर्मन युद्ध जहाज को  मूख्य कक्षमा माहनको उक्त पुस्तक आनिवार्य रूपमा राख्न र त्यसको अध्ययान गर्ने विशेष आदेश नै जारी गरेका थिए ।

(९ ) रिचार्ड डब्ल्यू स्टेवार्ट (सम्पादित) अमेरिकन मिलिटरी हिस्ट्री – स्टेट्स हिस्ट्री एण्ड दी फर्जिङ् अफ अ नेसन, भोल्युम वन १७७५-१९१७ सेकेन्ड इडिसन,सेन्टर अफ मिलिटरी हिस्ट्री, युनाइटेड स्टेट्स आर्मी, वाशिंगटन डिसी, २००९ , पृष्ठ ३४९ .

(१० ) रिचार्ड डब्ल्यू स्टेवार्ट, ऐजन पृष्ठ ३५०

(११ ) ऐजन, पृष्ठ, ३५२

(१२ ) पौल एस. बोयर, क्लिफोर्ड ई.  क्लार्क, करेन हल्ट टुनेन , जोसेफ एफ. केट , नील स्यालिसबरी  लिखित दी इन्डयुरिङ् भिजन : अ हिस्ट्री अफ दी अमेरिकन पिपुल भोल्युम टु : सिन्स १८६५, वाड्सवोर्थ पब्लिसिङ्, २०१०,पृष्ठ ३६१

(१३ )  मार्लिन  लेक र हेनरी रेनल्ड्स- ड्रइङ् दी ग्लोबल कलर लाइन, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २००८, पृष्ठ १०९

(१४) थोमस सी. रिभ्ज- ट्वेन्टिथ सेन्चुरी अमेरिका, अ ब्रिफ हिस्ट्री, अक्सफोर्ड युनिभर्सिटी प्रेस, २०००, पृष्ठ पृष्ठ ८

( १५)   सन १८८५मा दी बेकर  एण्ड टेलर कम्पनी न्युयोर्कद्वारा प्रकाशित जोसिया स्ट्रङ्को विख्यात पुस्तक आवर  कन्ट्री इट्स पसिबल फ्युचर एण्ड इट्स प्रिजेन्ट क्राइसिसले तत्कालिन अमेरिकी जनमतमा   आफ्नो  जातीय  र राष्ट्रिय श्रेष्ठताको मानसिकता भरिदिएका थिए।

(१६ ) थोमस सी. रिभ्ज – ट्वेन्टिथ सेन्चुरी अमेरिका, अ ब्रिफ हिस्ट्री, अक्सफोर्ड युनिभर्सिटी प्रेस, २०००, पृष्ठ ७

(१७ ) हेनरी बी . एफ़. म्याक फर्ल्याण्ड- मिस्टर मक्किन्ले एज प्रेजिडेन्ट, दी एटलान्टिक, मार्च १९०१

फाल्गुन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्