एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन गरिने

तस्बिरः बर्षा शाह।
Copy to clipboard
Copied!

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ। ०७९÷८० को वार्षिक बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने बताए।

उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक रकम विनियोजन गरेको बताए।

त्यस्तै, चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको समन्वयमा पूरा गर्ने अर्थमन्त्री शर्माले उल्लेख गरे।

धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ। कोहलपुर मैदानका लागि पनि बजेट विनियोजन गरिएको छ।

यसैगरी, सरकारले विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग खेल्न अनुकूल वातावरण निर्माण गरिने बताएको छ भने निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिनेछ।

गण्डकी प्रदेशमा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिएको छ भने कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि बजेट विनियोजन गरिएको छ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा सरकारले खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। त्यस्तै सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रु दुई अर्ब नौ करोड बजेट विनियोजन गरेको छ। खेल पूर्वाधारमा रु ८७ करोड बजेटको विनियोजन गरिएको छ।

सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहित गर्ने भएको छ। जुम्ला जिल्लाको कोप्लापाटनलगायत स्थानमा हाइअल्टिच्युड स्पोर्टस् एण्ड टेर्निङ सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरिएको छ।

सरकारले स्थानीय तह खेलग्राम कार्यक्रमलाई निरन्तरता दिँदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ। सरकारले खेलकुद संघको संस्थागत क्षमता विकास गरी खेलकुद प्रतियोगिता आयोजनामा खेल संघको भूमिका प्रभावकारी बनाइने उल्लेख गर्दै खेल संघलाई दिँदै आएको अनुदानलाई वृद्धि गरिएको छ।

सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको बताएको छ। सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बिमा गरिने व्यवस्था बजेटमा मिलाएको छ।

महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ। एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ।

जेठ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्