एसियाकपः १५ दिनमा १३ खेल भारत पाकिस्तान दुवैको नजर उपाधिमा

काठमाडौँ – शनिबारबाट सुरु हुने एसियाकप क्रिकेट यसपटक टी−२० फम्र्याटमा हुँदै छ।

हरेक चार वर्षमा हुने प्रतियोगिताको आधिकारिक फम्र्याट एकदिवसीय भए पनि अस्ट्रेलियामा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै यसपटक टी−२० फम्र्याटमै प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र श्रीलंका २७ सेप्टेम्बर (भोलि) प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको फाइनल भने ११ सेप्टेम्बरमा हुनेछ।

एसियाकप को सुरुवात १९८४ मा भएको थियो। पहिलो पटक प्रतियोगिता युएईमा भएको थियो।

एसियाको पहिलो मेघा इभेन्टका रूपमा रहेको यो प्रतियोगिता भारतले जित्यो। अहिलेसम्म १४ पटक एसियाकप आयोजना भएको छ। जहाँ भारतले सर्वाधिक ७ पटक उपाधि जित्दा श्रीलंकाले ५ पटक उपाधि जितेको छ।

प्रतियोगिता टी−२० फम्र्याटमा भने दोस्रो पटक हुन लागेको हो। यसअघि २०१६ मा पहिलो पटक टी−२० फम्र्याटमा प्रतियोगिताको आयोजना भएको थियो। उक्त समयमा २०१६ को विश्वकपलाई ध्यानमा राख्दै यो प्रतियोगिता खेलाइएको थियो। यो प्रतियोगिताको फाइनलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो।

यस वर्ष पनि टी−२० विश्वकप हुने भएकाले यसकै तयारीका लागि एसियाकपको आयोजना टी−२० फम्र्याटमा गर्न लागिएको हो।

यसपटक प्रतियोगिता युएईमा हुँदै छ। तर, यसको आयोजक भने श्रीलंकन क्रिकेट बोर्ड रहनेछ। पहिले श्रीलंकामै यो प्रतियोगिता आयोजना हुने कार्यतालिका थियो। तर, श्रीलंकाको राजनीतिक खिचातानीका कारण प्रतियोगिता युएईमा सारिएको हो।

एसियाकपमा सर्वाधिक सफल खेलाडी पनि श्रीलंकाका सनथ जयसुर्या हुन उनले २५ खेलमा १२२० रन बनाएका छन्। त्यस्तै श्रीलंकाका लसिथ मलिंगाले १४ खेलमै २०.५५ को औसतमा २९ विकेट लिएर सर्वाधिक सफल बलरका रुपमा रहेका छन्।

यसपटक एसियाकपमा समूह १ मा भारत, पाकिस्तान र हङकङ रहँदा समूह २ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन्।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्