करिम बेन्जेमा युइएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन्।

गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए।

त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास वर्ष खेलाडी घोषित भइन्।

गत सिजन करिअरकै उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमाले रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएका थिए। उनले ला लिगामा २७, स्पेनिस सुपर कपमा दुई र च्याम्पियन्स लिगमा लगातार दुई ह्याट्रिक सहित १५ गोल गर्न सफल भएका थिए।

बेन्जेमाले रियल म्याड्रिडलाई १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। गत वर्षदेखि नै फ्रान्सको टोलीमा फर्किएका बेन्जेमाले फ्रान्सका लागि १० खेलमा ६ गोल गर्न सफल भएका थिए।

टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको ड्र पछि वर्ष खेलाडी घोषित गरिएको थियो। बेन्जेमाले ५२३ अंक प्राप्त गर्दा ब्रुएनाले १२२ र कोर्टुवाले ११८ अंक प्राप्त गरे। त्यस्तै रोबर्ट लेवान्डोस्कीले ५४, लुका मोड्रिचले ५२, साडियो मानेले ५१, मोहम्मद सलाहले ४६, केलियन एमबाप्पेले २५, भिनिसियस जुनियरले २१ र भर्जिल भान डाइकले १९ अङ्क प्राप्त गरेका थिए।

उपाधि जितेपछि बेन्जेमाले भने ‘यो उपलब्धिमा धेरै खुसी छु। पहिलो पटक मैले यो ट्रफी जितेको हो तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा टोलीसँग ट्रफी जित्नु थियो।’ उनले टिमलाई दिलाएको सफलतामा पाएको यो उपलब्धि साँचिनै लोभलाग्दो भएको बताए।

खेलाडी छनोट प्रक्रियामा च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगको समूह चरणमा भाग लिने क्लबहरू र युरोपेली खेलकुद मिडियाद्वारा चयन गरिएका पत्रकारहरूको प्यानल समावेश गर्ने निर्णायक मन्डलले गरेको थियो। जुरी सदस्यहरूले आफ्नो शीर्ष तीन खेलाडीहरू छनोट गरे। पहिलोले ५, दोस्रोले ३ र तेस्रोले एक अङ्क प्रदान गरिने प्रावधान छ।

एनसेलोटी वर्ष प्रशिक्षक

स्पेनिस क्लब रियल म्याड्रिडकै इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी युइएफए पुरुष वर्ष प्रशिक्षक घोषित भए।

उनले इंग्लिस क्लब लिभरपुलका योर्गेन क्लोप र म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलालाई पछि पार्दै युइएफए पुरुष वर्ष प्रशिक्षकको उपाधि जिते।

रियल म्याड्रिडलाई कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिग जिताएका ६३ वर्षीय एन्सेलोटीले ५२६ अंक प्राप्त गरे । उनका निकटतम् प्रतिद्धन्द्धी योर्गेन क्लोपले २१० र ग्वार्डिओलाले १०८ अंक प्राप्त गरे।

एन्सेलोटीको प्रशिक्षणमा रियलले गत सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप जित्न सफल भएका थियो। युइएफए महिला वर्ष प्रशिक्षक बार्सिलोनाकी सरिना वेइगमान घोषित भइन्।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्