नवौंमा स्वर्ण जिते बागमती प्रदेशले ६ हजार मासिक भत्ता दिने, प्रदेशबाट ७०९ खेलाडी सहभागी हुने

Copy to clipboard
Copied!

काठमाडाैँ – बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय र बागमती खेलकुद विकास परिषद्ले नवौं राष्ट्रिय खेलकुदमा  विभिन्न ९ विधाका खेलाडीले स्वर्ण जितेमा मासिक भत्ता उपलब्ध गराउने जनाएको छ।

आफ्नो प्रदेशबाट सहभागी खेलाडीले स्वर्ण जितेमा मासिक नगद ६ हजार उपलब्ध गराउने जनाएको हो।

प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले पत्रकार सम्मेलन गर्दै खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए। उनले भने, ‘हामीले एउटा प्रयास सुरु गरेका छौं। यसलाई अर्को राष्ट्रिय प्रतियोगिता नभएसम्म निरन्तरता दिनेछौं।’

खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले विस्तारै अन्य पदक जित्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गर्दै लगिने बताए। बागमतीले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी गरी ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको हो।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म हुँदै छ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुँदै छ। राष्ट्रिय प्रतियोगितामा अधिकांश रुपमा विभागिय टिमको वर्चस्व रहने गरेको छ। यस्तोमा बागमतीले खेलाडीको हौसला बढाउँदै प्रदेश स्तरमा सहभागी भएर स्वर्ण जित्ने खेलाडीलाई पुरस्कार ब्यबस्था गर्ने पहिलो प्रदेश समेत बनेको छ।

साथै प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि आफ्ना खेलाडीलाई ४५ दिन क्लोजक्याम्पमा राख्ने र त्यसको खर्च प्रदेश सरकारले ब्योहोर्ने जानकारी पनि दिएको थियो।

प्रदेशले २० भदौ सम्ममा खेलाडी छनोट गरी सक्ने जनाएको छ। उसले खेलाडी छनोट तथा नवौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने र त्यसका लागि प्रदेश सरकारबाट ५ करोड बजेट विनियोजन भैसकेको जनाएको छ। साथै राष्ट्रिय खेलकुद परिषदले ४९ लाख निकासा गरेको जानकारी दिएको थियो।

नवौंमा बागमतीले सबै विधामा गरी कुल ७०९ खेलाडीलाई सहभागी गराउने जनाएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्