इन्डो प्यासिफिक ग्रेट-गेम: प्रथम चरण 

Copy to clipboard
Copied!

अप्रिल २५, १८४६मा एउटा विवादित क्षेत्रमा मेक्सिकोको सेनाले अमेरिकी सेनाको मेजर जनरल ज्याकरी टेलर (पछि राष्ट्रपति) को नेतृत्वको सेनामाथि आक्रमण गर्‍यो र रिओग्रान्ड नदी तरेर त्यसको किनारस्थित अमेरिकी किल्लामाथि नियन्त्रण स्थापना गर्‍यो।

त्यस आक्रमणमा एक दर्जन अमेरिकी सेना मारिए।

१८२१ मा स्पेनबाट स्वतन्त्र भएको मेक्सिको त्यतिखेर  निकै ठूलो र शक्तिशाली मुलुक थियो। अमेरिकी राष्ट्रपति जेम्स नक्स पोल्क र काङ्ग्रेसवीचको लामो उहापोहपछि मे १३ मा अमेरिकी काङ्ग्रेसले राष्ट्रपति पोल्कको आग्रह बमोजिम  मेक्सिको विरूद्ध युद्धको  घोषणा गर्‍यो।

युद्धमा अमेरिका झन्डै पराजयको स्थितिमा पुगिसकेको थियो। त्यसै वीच अमेरिकी सेनाका जनरल विन्फिल्ड स्टकको नेतृत्वको सेनाले प्रशान्त महासागर तर्फबाट मेक्सिकोको राजधानीमाथि नै आक्रमण गरिदिए।

स्वाभाविक रूपमा मेक्सिको अत्तालियो। फेब्रुवरी २,१८४८मा क्यालिफोर्निया लगायत उताहा, नेभादा, टेक्सास, एरिजोना, पश्चिमी कोलोराडो  र न्यु मेक्सिको अमेरिकालाई सुम्पिने र अमेरिकाले मेक्सिकोलाई १५ अर्व डलर बुझाउने गरी  दुई  मुलुकबीच सन्धि भयो।  मेक्सिकोको आक्रमणमा अमेरिकी नागरिकको भएको क्षतिवापतको पाँच अर्व डलरको जिम्मेवारी पनि अमेरिकाले नै लियो।

उक्त युद्धमा  मेक्सिकोले आफ्नो आधा भूभाग गुमाउन पुग्यो। (

जुन जुन लक्ष्य राखेर पोल्क राष्ट्रपति भएका थिए चार वर्षको कार्यकालमा ती सबै पुरा गरेरै छोडे।

उनको मूख्य लक्ष्य प्रशान्त महासागरसम्म अमेरिकालाई विस्तार गर्नु र अमेरिकालाई आन्ध्र  महासागर साथै प्रशान्त महासागरीय राष्ट्र बनाउनु थियो।

क्यालिफोर्नियाको विजय र जुन १५, १८४६मा ब्रिटेनसँग भएको ओरेगन सन्धि अन्तर्गत  क्यालिफोर्नियादेखि क्यानाडासम्मको प्रशान्त महासागर तटको भूभाग अमेरिकामा गाभियो। अमेरिका प्रशान्त क्षेत्रको मुलुक बन्यो।

यसरी अमेरिकालाई एक तिहाइभन्दा बढी भूभाग प्राप्त भयो र वास्तविक अर्थमा ऊ एउटा महाद्विपीय राष्ट्र बन्यो।

अमेरिकाको राजनीतिक र प्रशासनिक संरचनाहरू विकास हुँदै गरेको अवस्थामा लाखौँ लाख वर्ग किलोमिटरमा विस्तारित विशाल अमेरिकी भूभागमा कानुन र व्यवस्था कायम राख्ने जिम्मा दशकौँसम्म अमेरिकी सेनाकै रह्यो (स्वाभाविकरूपमा  त्यसले अमेरिकी भूभागको रक्षाको लागि एउटा वृहत  सुरक्षा घेरा निर्माणको आवश्यकताबारे राजनीतिक नेतृत्वलाई सहमत  बनाउन र प्रभावितपार्न अमेरिकी सैनिक नेतृत्व सफल भयो।

उत्तर तर्फ क्यानाडा र दक्षिणमा मेक्सिकोसँग सीमाना जोरिएको थोरै भूभाग बाहेक तीन तिर समुद्र भएको कारणले ऊ आफ्नो भौगोलिक सीमाको सुरक्षाबाट आश्वस्त भएर प्रशान्त महासागरका टापु राष्ट्रहरूलाई  त्यहाँका शासकहरूसँग खरीद गर्दै, तिनलाई  विलय गर्दै जापान, चीन र भारत तर्फ रणनीतिक उपस्थिति बनाउँदै  व्यापार विस्तार र समृद्धिको यात्रामा लाग्यो।

प्रशान्त महासागरमा रूसी प्रवेश  

यहाँ अर्को सन्दर्भ पनि जोडिन आउँछ —

रूसको टर्की र फ्रान्ससँगको विवाद  छँदै थियो।  टर्कीको ओटोमन साम्राज्य निरन्तर  कमजोर बन्दै गएको अवस्थामा त्यहाँ उत्पन्न शक्तिशून्यताले  युरोपका  राष्ट्रहरूमाथि पारेको  दवावले गर्दा रूसले टर्कीमाथि दवाव बढाउन थाल्यो।

फ्रान्सको रूससँगको विवाद मध्य टर्कीमाथिको रूसको त्यस्तो दवावले ब्रिटेनको मध्य पूर्व र भारतमाथिको औपनिवेशिक हितमा पर्ने असरले गर्दा बेलायत, फ्रान्स र टर्कीको संयुक्त सेना  रूस विरूद्धको युद्ध मूलतः क्रिमियाको सेभास्टोपोल र ब्ल्याक सीमा लडिएको थियो।

युद्धमा एकातिर रूस एक्लै थियो, अर्कोतिर बेलायत, फ्रान्स र टर्की थिए। तीनवटै मुलुक  मिलेर  रूसको सामुद्रिक नाकाबन्दी गरे।परिणामस्वरूप अत्यावश्यक सामग्री र औषधि समेतको अभावमा रूस ठूलो क्षति बेहोर्न वाध्य भयो।

मार्च १८५६मा पेरिसमा शान्ति सम्झौता भयो।

युद्धको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको  युद्धमा जलसेनाको  निर्णायक महत्व स्थापना हुनु थियो।

रूसलाई रणनीतिक अप्ठेरोमा पार्ने उद्देस्यले ब्ल्याक सीलाई असैन्यिकृत र तठस्थ क्षेत्र बनाइयो र युरोपको दोस्रो लामो र पूर्वी र मध्य युरोपका मुलुकहरूलाई  जोड्ने अन्तर्राष्ट्रिय नदीको रूपमा रहेको डेन्युब नदी जोडिने रूसी भूभाग पनि रूसबाट खोसियो।

यसरी अन्तर्राष्ट्रिय जल क्षेत्रमा पुग्ने रूसको बाटो सबैतिरबाट छेकियो।  त्यसले  भौगोलिकरूपमा अन्तर्राष्ट्रिय  समुद्रमा  खुला पहुँच  नभएको रूसलाई  आफ्नो भौगोलिक बन्धनको तीतो अनुभव गरायो।

त्यसबाट आफ्नो औद्योगिक पूर्वाधार र  विशाल भूभागलाई आन्तरिक रूपमा  जोड्ने विस्तृत रेल संजाल निर्माण गर्ने आवश्यकता उसले देख्यो।

अर्को कुरा, युरोपका शक्तिशाली मुलुकले अन्तर्राष्ट्रिय  समुद्रसम्मको आफ्नो पहुँचलाई सधैँ छेकिरहन सक्ने भएकाले उसले आफ्नो समुद्री हित र महत्वाकांक्षालाई पूर्वमा एसियातर्फ केन्द्रित गर्न पुग्यो।  ()

युद्धले रूसमा चरम आर्थिक सङ्कटको स्थिति उत्पन्न गर्‍यो। आफ्नो मुलुकको रक्षा गर्न पनि आर्थिक स्रोतको अभाव भएपछि उ अलास्का समेत अमेरिकालाई वेच्न वाध्य भयो। ()

 पश्चिममा ब्रिटेन, फ्रान्स र टर्कीबाट  पराजित रूसलाई उता ब्रिटेनको उपनिवेश रहेको र क्यानाडामै जोरिएको रूसको सुदुर पूर्वीभाग अलास्कामाथि  ब्रिटेनले आक्रमणगर्ने र नियन्त्रणमा लिने सम्भावना देखेकोले ब्रिटेनसँग शत्रुतापूर्ण सम्वन्ध भएको अमेरिकालाई अलास्का  बिक्री गर्ने निर्णय रूसले गरेको थियो।

मार्च १८६७मा  ७२ लाख डलरमा रूस र अमेरिका वीच अलास्काको लेनदेन सम्वन्धी सम्झौता सम्पन्न भयो।

अलास्का बिक्री गरेर आएको रकम मूलतः साइबेरिया वारपार रेल सञ्जाल निर्माणका साथै भ्लाडिभोस्टकमा रेल वे टर्मिनल र प्रशान्त महासागरमा  रूसको पहुँच निर्माण र विस्तारमा रूसले उक्त रकम खर्च गर्‍यो।

क्रिमिया युद्धकै अवधिमा अमुर नदीको मैदानमा रूसी सैन्य गतिविधिमा विस्तार भइरहेको थियो।  युरोपीय जलक्षेत्रमा आफूमाथि नाकाबन्दी भएपछि रूसले प्रशान्त क्षेत्रमा आफूलाई केन्द्रित गर्यो र अमुर नदीको बाटो प्रशान्त महासागरमा आफ्नो प्रवेशलाई सुनिश्चित तुल्यायो।

मे १६, १८५८ मा  सम्पन्न एगन सन्धि अनुसार चीनले रूसलाई अमुर  र  उसुरी नदी क्षेत्रको ठूलो भूभाग  र भ्लाडिभोस्टक  बन्दरगाह हस्तान्तरण गर्‍यो।

यसबाट प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सवल बनाउने अवशर रूसलाई प्राप्त भयो अत्यन्त ठूलो रणनीतिक महत्वको करिब छ लाख बर्ग किलोमिटर भूभाग पनि उसलाई प्राप्त भयो।

रूस कोरिया प्रायद्वीपसम्म आइपुग्यो।

मोटामोटी रूपमा एगन सन्धि र  १८६१मा सम्पन्न पेकिङ् सन्धिद्वारा तय भएको सीमाना नै वर्तमानमा चीन र रुसको सीमाना हो।

यो पनि पढ्नुहोस्:

इन्डो प्यासिफिक रणनीतिपृष्ठभूमिका भारतीयअमेरिकी पात्र  चरित्रहरू

भ्लाडिभोस्टकले रूसलाई प्रशान्त महासागरमा  सैन्य पहुँच प्रदान गर्यो र ट्रान्स साइबेरियन रेल मार्गको आरम्भ बिन्दु पनि भ्लाडिभोस्टकनै बन्न पुग्यो। ()

युरोपमा  बेलायत र फ्रान्स रूसलाई छेक्न  सफल भए पनि  पूर्वी एसियामा रूसलाई असाधारण कूटनीतिक र रणनीतिक सफलता  प्राप्त भयो।

स्मरणीय छ,आफ्नो मुलुक कमजोर रहेको अवस्थामा भएका ती सीमा सन्धि आफूलाई अमान्य भएको  कारण जताएर चीन र रूसवीच भएको सीमा विवाद बढ्दै जाँदा १९६९मा दुई मुलुक सीमा क्षेत्रको  झडपमा  पनि संलग्न  भएका थिए।

दुई ठूला कम्युनिस्ट राष्ट्रहरू माझको उक्त सीमा विवाद र झडपले शीतयुद्धकालीन विश्वमा शक्ति सन्तुलनको नयाँ इतिहास रचना गरेको थियो तर सोभियत सङ्घको पतनपछिको भ्लादिमिर पुटिन नेतृत्वको रूसले  केही भूभाग समेत चीनलाई फिर्ता गरेर २००६ मा दुवै देशले   चार हजार वर्ग किलोमिटर लामो सीमा रेखा तय गरेका छन् ।

अमेरिकाको आरम्भिक इन्डो –प्यासिफिक अभियान  जापानको एकान्तबास 

प्रशान्त महासागरलाई आफ्नो पश्चिमी तटमा पाएपछि अमेरिकाको प्रशान्त अभियान आरम्भ भयो। चीन र भारतबारे प्रशस्त सुनेका र बुझेका अमेरिकी नीति निर्माताहरूको त्यतिखेरको रुचि त व्यापार नै थियो तर व्यापारिक सुविधा प्राप्ति र व्यापारिक जहाजहरूको सुरक्षाको लागि पनि सेनाको महत्व त निर्णायक छँदै थियो।

यी दुवै कुराले  अमेरिकी रणनीति निर्माणमा मूख्य योगदान गरेको थियो।

त्यसो त अमेरिकी  स्वतन्त्रता लगत्तै अमेरिकी व्यापारीहरूको ध्यान चीन लगायतका  एसियाली मुलुकहरूसँगको व्यापारमा  व्यापारमा गएको थियो।

फेब्रुवरी २२, १७८४मा इम्प्रेस अफ चाइना नामको एउटा अमेरिकी जहाज चीनको  क्यान्टनको लागि प्रस्थान गर्‍यो। एउटा  स्वतन्त्र मुलुकको रूपमा अमेरिकाले गरेको उक्त अभ्यास  एउटा नयाँ इतिहासको आरम्भ मात्रै थिएन प्रशान्त महासागर छिचोलेर एसियाका मुलुकहरूसँगको  उक्त व्यापारिक अभियान अन्तर्राष्ट्रिय सम्वन्धको दृष्टिले पनि एउटा विशिष्ट अध्याय थियो। (

युरोपसँगको व्यापारमा घाटा मात्र बेहोरिरहेको अमेरिकाकालागि इम्प्रेस अफ चाइनाको अभियानले नयाँ आशा र विश्वास जगाएको थियो।

न्युयोर्कबाट एटलान्टिक महासागरको सुदुर दक्षिणहुँदै  दक्षिण अफ्रिकाको तल्लो छेउलाई परिक्रमा गर्दै हिन्द महासागर प्रवेश गरेर मलक्का जलमार्ग भएर हावाको गतिको दवावमा मात्रै अघि बढ्ने उक्त जहाजलाई न्युयोर्क देखि क्यान्टन ( वर्तमान गुवाङ्झाऊ)सम्मको तीस हजार किलोमिटरको दूरी पार गर्न छ महिना लाग्यो।

सामान बेच्न अर्को चार महिना र पुनः न्युयोर्क फर्किन अर्को पाँच महिना समेत गरी मे १७८५मा उक्त जहाज पुन: न्युयोर्क बन्दरगाह पुग्दा १५ महिना लाग्यो।

भविष्यको आशाको नाउमा न्युयोर्कमा उक्त जहाज र त्यसका यात्रु र कर्मचारीको भव्य स्वागत गरियो।

१८३० को दशकमा ती जहाजहरूमा व्यापक सुधार गरियो र  ‘क्लिपर  सिप’  भनिने   त्यस्ता सुधारिएका जहाजहरुले आफ्नो गतिमा क्रान्तिकारी सुधार ल्याए। (

ओरेगन र क्यालिफोर्निया र खास गरेर सान फ्रान्सिस्को खाडीमाथिको  स्वामित्वले अमेरिकालाई प्रशान्त क्षेत्रका एसियाली मुलुकहरूमा आफ्नो प्रभाव स्थापना र आर्थिक, सैनिक तथा रणनीतिक हित प्राप्ति र सुरक्षाका सबै सम्भावना उघारिदियो।

इम्प्रेस अफ चाइनाले अनौपचारिकरूपमा अमेरिका र चीनवीचको व्यापारिक सम्वन्धलाई स्थापना गरिसकेकै थियो।

त्यसैको परिणाम सन् १८४४मा दुई मुलुक वीच मोस्ट फेभर्ड नेसनको व्यवहार गर्ने र एक अर्का देशका नागरिकहरूलाई एक अर्को मुलुकले  प्रदान गर्ने  व्यवहार  समेत उल्लेख गरेर एउटा सन्धि सम्पन्न भइसकेको थियो।

त्यसैले निर्माण गरेको परिवेशमा १८६२मा बेइजिङ्गमा प्रथम अमेरिकी दुतावाश पनि स्थापना भएको थियो।

तर जापानमा भने अमेरिकाले प्रवेश नै पाएको थिएन।

अन्तर्राष्ट्रिय राजनीति र अमेरिकाको प्यासिफिक अभियानको क्रममा एउटा कोशे ढुंगा हो अमेरिकी जल सेनाका सेनापति मात्र नभएर एक  दक्ष कूटनीतिज्ञ कमडोर मेथ्यु पेरीको जापान यात्रा।

जापानमा क्रिश्चियन  मिसिनरीहरूले  लाखौँको सङ्ख्यामा जापानीहरूको धर्मान्तरण गराएको, ठूलो सङ्ख्यामा जापानी महिलाहरूलाई दास बनाएको र गुप्तरूपमा जापानमाथि आक्रमणको षड्यन्त्र गरिरहेको आशंकामा १५८७मा जापानी प्रधान मन्त्री र जापानको एकिकरणका नायक तथा परम वीर मानिने तोयोतोमी हिदेयोशीले सवै विदेशी मिसनरीहरूलाई  देश निकालाको आदेश दिएका थिए।

त्यसको १० बर्ष पछाडि नागासाकीमा २६ जना क्रिश्चियन हरूलाई फाँसी दिइयो। ( )

नेपालमा राणाहरूको शासनको स्थापना भए  जस्तै सन् १६०३मा जापानमा   तोकुगावा वंशका  सैन्य योद्धाहरूको वंशानुगत शासन आरम्भ भयो। उक्त शासनले जापानमा स्थिरता र शान्तिको नयाँ अध्याय आरम्भ गरेको थियो।

सोही शासन अन्तर्गत जापानमा जो कसैले पनि डुङ्गा वा जहाजमा जापान बाहिरका कुनै अन्य मुलुकको भ्रमण गरेमा वा ती मुलुकको भ्रमण गरी जापान फ़र्किएमा  मृत्यू दण्ड दिइने, जापानमा लुकेर  रहेका कुनै क्रिश्चियन पादरीको सूचना दिने व्यक्तिलाई पुरस्कारका रूपमा  चार सय देखि पाँच सय सम्म रजत मुद्रा प्रदान गरिने, क्रिश्चियन धर्म प्रचार गर्ने वा क्रिश्चियन नाम धारण गर्ने व्यक्तिलाई थुनामा राखिने जस्ता कानुन बने। (

जापानमा अढाई सय बर्ष सम्म शासन गरेको तोकुगावा वंशको शासनकालले  जापानलाई असाधारण शान्ति र स्थिरता मात्रै दिएन, विलक्षण  समृद्धि पनि दियो।

तर उक्त शासनकालको समाप्ति तिर जापान अन्य युरोपेली मुलुकहरू  र अमेरिकाको तुलनामा जापान निकै  पछि परेको थियो र उसको आर्थिक अवस्था  पनि  कमजोर हुँदै गएकाले वंशानुगत प्रधानमन्त्रीहरूको शासन विरूद्ध जापानीहरूमा असन्तोष बढिरहेको थियो।

त्यस अवधिमा जापानमा विदेशीहरूका लागि नागासाकी बन्दरगाह वाहेक अन्य बन्दरगाहमा पहुँच र प्रवेश निषेधित थियो। नागासाकीमा डचहरूलाई मात्र  विशेष अधिकार प्राप्त थियो र जापानी अधिकारीहरू सँगको कुनै पनि वार्ता डच अधिकारीहरू मार्फत मात्रै हुने व्यवस्था  थियो।

१८९३२ -१९३५को अवधिमा अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याक्सनले एडमण्ड बर्क्स नेतृत्वको टोलीलाई बारम्बार  जापान लगायत एसियाली मुलुकहरूसँग  सन्धि गर्न पठाएका थिए, तर बर्क्स जापान पुग्नै सकेनन्।

१८३७मा एउटा  बिग्रिएको जापानी जहाजका नाविकहरू समेत समावेश गरेर वृहत टोली जापान पठाइएको थियो।

जापानीहरू समेत समावेश भएको टोलीहुँदा जापानी अधिकारीहरूसँग वार्ता गर्न  सरल हुने अपेक्षा अमेरिकी अधिकारीहरूको थियो  तर  इडो खाडीको  (टोकियो खाडी) उरागा नजिक जहाज के पुगेको  थियो जापानीहरूले उक्त जहाजमाथि गोला बर्षा गरिदिए। उक्त जहाजले जापानी नागरिकहरूलाई उतार्न समेत नपाई उरागा छोडेर भाग्नु परेको थियो। (१०)

यो पनि पढ्नुहोस्:

इन्डो-प्यासिफिक रणनीतिको ऐतिहासिक पृष्ठभूमि

१८४० को दशकमा जापानमाथिको अमेरिकी रूचिमा व्यापक वृद्धि भइसकेको थियो। १८४५मा राष्ट्रपति जेम्स नक्स पोल्कले एउटा युद्ध पोत सहित एक अमेरिकी उच्चाधिकारी (कमिस्नर  दर्जाका व्यक्ति ) लाई चीनसँगको सन्धिलाई अनुमोदन गराउन र जापानसँग नयाँ सन्धि गर्न पठाए।

समुद्र यात्राकै क्रममा  ती अमेरिकी कमिस्नरको निधन भयो।  त्यसपछि कमडोर जेम्स बिडलले उक्त अभियानलाई निरन्तरता दिएका थिए। तर एडोको खाडीमा अमेरिकी पोत पुग्ने बित्तिकै जापानका  सैनिक डुङ्गाहरूले अमेरिकी जहाजलाई घेराबन्दीमा पारे, अमेरिकी अधिकारीहरूलाई दुर्व्यवहार गरे र अमेरिकी राष्ट्रपतिको पत्र बुझ्न समेत अस्वीकार गरे।

अमेरिकी  जहाज  तोप गोलाले सुसज्जित थियो तर कमडोर बिडललाई   हतियार प्रयोग गर्ने अख्तियारी थिएन, त्यसैले उनी विना प्रतिकार फर्किए। (११)

उक्त घटना भविष्यका अभियानका लागि  शिक्षा बन्यो र त्यसले  सरकार र जल सेनामा उक्त अपमानको बदलाको भावना साथै जापानसँग सम्वन्ध विकास गर्नमा एउटा प्रेरक शक्तिको काम गर्यो।

अमेरिकी जहाजहरू दुर्घटनामा पर्दा यात्रुहरूको उद्धार र जहाज मर्मत वा पुनर्निर्माण लगायत पानी, इन्धन आदि सुविधा  र अमेरिकी जहाजहरूलाई जापानी बन्दरगाहहरूमा व्यापार गर्ने सुविधाको लागि जापानसँगको सन्धि अमेरिकाको प्रमुख सरोकार बनेको थियो।

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको प्रस्थान विन्दु  मेथ्यु पेरी अभियान  

राष्ट्रपति मिलर्ड फिलमोर  र विदेश मन्त्री  डेनियल वेब्स्टर त्यसकालागि कृत संकल्पित थिए।

अक्टोबर १८५२मा जापानलाई पहिलो प्राथमिकतामा राखेर एसियाका मुलुकहरूमा व्यापारिक सम्भावनाहरू पहिचान गर्न र कूटनीतिक सम्वन्ध विस्तार गर्ने उद्देस्यले अमेरिकी राष्ट्रपति मिलियर्ड फिल्मोरले कमडोर मेथ्यु क्याल्ब्रेथ पेरीको  नेतृत्वमा  युद्ध र सन्धि समेत गर्न सक्ने  एउटा सर्वाधिकार सम्पन्न सैनिक र व्यापारिक प्रतिनिधि मण्डल जापान पठाए।

भारत लगायत एसियाली  क्षेत्रका अमेरिकी जलसेनाका अनुभवी कमान्डर पेरी राष्ट्रपति फिलिमोरको एसिया रणनीतिको  अङ्ग  बनेर जापान अभियानमा गए।  (१२)

पेरी अभियान दल सर्वाधिकार सम्पन्न भए पनि, आत्मरक्षाको लागि र कसैको हिंसात्मक कार्यलाई नियन्त्रण गर्ने उद्देस्यले बाहेक हरहालतमा बल प्रयोग नगर्ने स्पष्ट आदेश राष्ट्रपति र विदेश मन्त्रीले पेरीलाई दिएका थिए।

राष्ट्रपतिकै प्रतिनिधिको रूपमा संपूर्ण विशेषाधिकार सहित पठाइकोले यसपाली अमेरिकी अधिकारीहरू पानि बढी नै उत्साहित थिए।

वरिपरीबाट  तोप  प्रहार गर्न सकिने चार वटा  युद्धक जहाज सहित दर्जनौ अन्य जहाज र करीव २०० सैनिक जुलाई ८, १८५३मा  जापानको इडो  बन्दरगाहमा पुगे।  जापानी अधिकारीहरूलाई आफू अमेरिकी राष्ट्रपतिको प्रतिनिधिकोरूपमा सम्वन्ध विकास गर्न आएको सन्देश पठाए।

यस पटक सेना हतियारले सुसज्जित हजारौँ सेनालाई छेवैमा तैनाथ गरेर  र युद्धमा प्रयोग गरिने डुङ्गाको लावा लस्करबाट अमेरिकी जहाजहरूलाई वरिपरीबाट घेरेर  जापानी अधिकारीहरू  पेरीलाई  भेट्न आए।

जापानी अधिकारीहरूले   सवै अमेरिकी जहाजको निरीक्षण गरे। अन्तमा अमेरिकी राष्ट्रपतिले   जापानका सम्राटलाई विनम्र र अत्यन्त मित्रतापूर्ण भाषामा जनावरको छालाबाट बनाइएको कागजमा लेखिएको, नीलो मखमलको कपडामा बेरेर सुगन्धित काठ र सुनबाट निर्मित बट्टामा रखिएको पत्र (१३) पेरीले  जापानी अधिकारीहरूलाई  हस्तान्तरण गरे I साथै पेरीद्वारा जापानी सम्राटलाई  लेखिएको  पत्र पनि बुझाइयो। त्यसको जापानी र डच भाषामा गरिएको अनुवाद पनि बुझाए।

त्यो एउटा आरम्भ थियो। जापानी आधिकारीहरूले उत्तरमा  केही भनेनन्। तर सन्देश गयो। केही महिना पछि  थप तयारीका साथ जापान आउने उद्देश्यले पेरी चीन फर्किएर त्यहाँको समुद्री तट क्षेत्रमा बसेका थिए। चीनमा रहेका आफ्ना रणनीतिक सुविधाहरू समेत थपेर  १०० वटा तोप तैनाथ छ वटा जहाज र सयौँ सैनिकहरू साथमा छ महिना पछि उनी फेरि जापान पुगे।  उनी अझै केही ढिलो गरेर जापान जाने विचारमा थिए तर रूस र फ्रान्स पनि जापान अभियानमा रहेको खवर पाएपछि उनी जापान तर्फ लागेको थाहा पाए पछि हतारिएर पुनः जापान पुगे।

उनको पहिलो भ्रमणले सम्पूर्ण वातावरण मिलाइसकेको र जापानका वंशानुगत प्रधान मन्त्री हरूको प्रभाव कमजोर हुँदै गएको र एकान्तवासले जापानलाई बाँकी दुनियाँबाट अलग-थलग राखेको र त्यसले जापानको  विकाश  र समृद्धिलाई पनि छेकेको अनुभव गरी जापान अमेरिका सँग सम्वन्ध बढाउन मानसिकरूपमा  तयार भएर बसेको थियो।

बाहिरी दुनियाँबाट अलग्गै रहेको तथा विज्ञान र प्रविधिको विकासमा पछि रहेको जापानका शासक समुदाय  स्वचालित देखिने वाष्प इन्जिन युक्त   ठूला ठूला फलामबाट निर्मित   र तोप बाट समेत सुसज्जित  जहाजहरू समेत आएकाले त्यसले  जापानीहरूमा उत्सुकता भय र आफ्नो पिछडिएको  अवस्था समेत वोध गरायो।

जहाज, तोप, बन्दुकबाट सुसज्जित जहाज र सयौँ सैनिकहरूको सङ्ख्याबाट एकातिर  विश्मित र त्रषित थिए भने, अर्कोतिर अमेरिकी  उपहारको परिमाण र उनीहरूले ज्ञान विज्ञानको क्षेत्रमा प्राप्त  गरेको उपलव्धि थाहा पाउँदा र आफूहरूको पिछडिएको अवस्थाबाट चिन्तित भए र अमेरिकासँग  सम्वन्ध विकास  गर्न  लालायित भए।

पेरीले उपहारको रूपमा   जापानका सम्राट , राजकुमार, रानी, उनका मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिहरूलाई लगेका उपहारहरूमा पेस्तोल, तरवार,वायरलेस उपकरण,कृषि यन्त्रहरू, वाष्प द्वारा चल्ने पानी जहाजका नमूना देखि लुगा, शृंगार सामग्री, शौचालयमा प्रयोग हुने वस्तुहरू देखि मदिरा  र अमेरिकाको प्राकृतिक इतिहास, चरा चुरुङ्गी , वृक्ष,वनष्पति,फलफुल , कृषि उत्पादन जीव जन्तु, र अमेरिकी सरकारको कार्य संचालनका विधि, पद्धति , प्रक्रिया सहित सरकारका  निर्णय, घोषणा लगायतका विविध सामग्रीहरू थिए। (१४ ) 

एक किसिमले अमेरिकाको सम्पूर्ण परिचय दिने सामग्रीहरू उपहारमा लगिएका थिए र सम्भवत: मानव इतिहासमा त्यत्रो परिमाणमा त्यस किसिमका सामग्रीहरू आज पर्यन्त कसैले कसैलाई दिएको छैन।

यो अमेरिकाले जापानलाई दिएको  महत्वको एउटा असामान्य उदाहरण पनि हो।

यहाँ अर्को एउटा ऐतिहासिक महत्वको तर इतिहासकारहरूले कम महत्व दिएको घटना पनि स्मरणीय हुन आउँछ –

अमेरिकाले जस्तै क्रिमिया युद्धपछि रूस पनि आफ्नो समुद्री भविष्य पहिचानगर्ने उद्देस्यले उपजल सेनाध्यक्ष इफिमे भी. पुट्याटिन नेतृत्वको एउटा युद्धक जहाज ‘फ्रिगेट पल्लडा’ बेलायत, अफ्रिका महादेश परिक्रमा गरेर  हिन्द महासागर छिचोलेर चीन हुँदै  अगस्ट  २२, १९५३मा जापानको नागासाकी  पुगेको थियो।

भारत लगायत दक्षिण एसियामा बेलायतको र दक्षिण पूर्व एसियामा बेलायत, फ्रान्स, पोर्चुगल,नेदरल्याण्ड आदि मुलुकको उपनिवेश स्थापना भइसकेको थियो। चीनका तटवर्ती क्षेत्रमा समेत ब्रिटेनकै प्रभुत्व कायम भएको र भित्री भूभागमा विद्रोह र उथलपुथल ( ताइपिङ् विद्रोह ( १८५०-६४ ) मच्चिईरहेको क्रममा दुई करोड मानिसको हत्या भएको अवस्थामा अमेरिका र रूस  दुबैको ध्यान जापानमा लक्षित थियो।

रोचक कुरो के थियो भने, कमडोर पेरी जापान पुगेको पाँच साता पछि नै रूसी जलसेना  उपाध्यक्ष पुट्याटिन पुगेका थिए।

उनी यसरी पेरी भन्दा पछि जापान पुग्नुको कारण भने हिन्द महासागरमा आएको आँधीले उनको जहाज बिग्रिएको, त्यसको मस्तुल नै खुस्किएको  र त्यसको मर्मतगर्न लामो समय लाग्नु थियो। अर्को, अमेरिकी जहाजहरू प्राविधिकरूपमा रूसी भन्दा उत्तम कोटीका भएकाले उनीहरूको गति पनि बढी थियो।

अझै रोचक कुरो के थियो भने  रूसी अधिकारीहरूले पुटियाटिनलाई दिएको गोप्य निर्देशनमा जापानले अमेरिकालाई जुन जुन बन्दरगाहहरूमा पहुँच प्रदान गर्दछ रूसले पनि तिनै तिनै बन्दरगाहमा त्यस्तै सुविधा माग गर्नु  थियो। (१५)

क्रमश:

सन्दर्भ सूची 

(१) रिचार्ड डब्ल्यु स्टेवार्ट (सम्पादित)  अमेरिकन मिलिटरी हिस्ट्री भोल्युम वन,
दी युनाइटेड स्टेट्स आर्मी एण्ड दी फर्जिङ्  अफ अ नेसन  १७७५- १९१७, सेन्टर फर मिलिटरी हिस्ट्री , युनाइटेड स्टेट्स  आर्मी वासिंगटन डिसी,सेकेन्ड इडिसन, २००९, पृष्ठ १९२.

(२) रिचार्ड स्टेवार्ट, ऐजन

(३) बार्बरा अल्प्रेन एङ्गल  र जेनेट मार्टिन – रसिया इन वर्ल्ड हिस्ट्री, अक्सफोर्ड युनिभर्सिटी प्रेस, २०१५, पृष्ठ ७४.

(४) सेरहिल प्लोखी – लस्ट किङ्डम – अ हिस्ट्री अफ रसियन नेसनालिजम  फ्रम इभान दी ग्रेट टु भ्लादिमिर पुटिन, एलेन लेन – पेङ्गुइन बुक्स, २०-१७ पृष्ठ १२२.

(५) सी.डी.एम. केटलबी  अ हिस्ट्री अफ मोडर्न टाइम्स फ्रम १७८९ , अक्सफोर्ड युनिभर्सिटी प्रेस, १९७०, पृष्ठ ३१०.

६) नाथन स्मिथ – भोएज अफ दी इम्प्रेस अफ चाइना – प्राइभेट एण्ड नेसनल इन्ट्रेस्ट टवार्ड फरेन पलिसी इन दी अर्ली युनाइटेड स्टेट्स ,  वेस्टर्न इलिनोइस हिस्टोरिकल रिभ्यू , भोल्युम ८,स्प्रिङ्ग २०१७.

(७ ) विभिन्न जहाजहरूमा कमान्डर रहेका आर्थर एच क्लार्कद्वारा लिखित पुस्तक – दी क्लिपर शिप इरा – एन  इपिटम  अफ फेमस अमेरिकन, ब्रिटिस,क्लिपर शिप्स, देयर ओनर्स, बिल्डर्स,कमान्डर्स एण्ड क्रुज १८४३- १८६९ ,जी.पी. पुट्नम्स सन्स, १९११ ले क्लिपर जहाजहरूको  विकास र जहाजहरुको गतिमा त्यसले ल्याएको ऐतिहासिक गतिबारे विस्तृत जानकारी दिएको छ।

(८ ) क्रिस्टोफर हार्डिङ – जापान स्टोरी : न सर्च अफ  अ नेसन, अलेन  लेन – पेङ्गुइन , २०१८, पृष्ठ १८.

(९) क्रिस्टोफर हार्डिङ ,ऐजन।

(१०)  जोन एच.स्रोडर-कमडोर  मेथ्यु सी. पेरी एन्ड जापान, (एन्टोनियो एस. थोम्प सन र क्रिस्टोस जी. फ्रेन्टजोस सम्पादित  पुस्तक दी रुटलेज  ह्यान्ड बुक अफ अमेरिकन मिलिटरी  एण्ड डिप्लोमेटिक स हिस्ट्री दी कोलोनियल पिरियड टु १८७७)  रुटलेज टेलर्स एण्ड फ्रान्सिस ग्रुप, न्यु. योर्क -लन्डन ,२०१५ पृष्ठ २४९-२५०.

(११) जोन एच.स्रोडर पृष्ठ पृष्ठ २५०.

(१२) कमडोर पेरीका अभियान दलका सदस्य तथा दोभाषे सेमुअल वेल्स विलियम्सद्वारा लिखित र उनका छोरा फर्डिनेण्ड वेल्स विलियम्सद्वारा सम्पादित अ जर्नल अफ दी पेरी एक्सपिडिसन टु  जापान,केली एण्ड वाल्श ,१९१० ले त्यसको सविस्तार वर्णन गरेको छ।

(१३) क्रिस्टोफर हार्डिङ्, ऐजन पृष्ठ १५.

(१४) अ जर्नल अफ दी पेरी एक्सपिडिसन टु  जापान,केली एण्ड वाल्श ,१९१० पृष्ठ १३१-१३४.

( १५ ) एदिता एम. बिजानोस्का –  वर्ल्ड अफ इम्पाइर्स : दी रसियन भोएज अफ दी फ्रिगेट पल्लडा,

दी बेल्क्न्याप प्रेस अफ हार्भर्ड युनिभर्सिटी प्रेस, २०१८, पृष्ठ १११.

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्