राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

Copy to clipboard
Copied!

काठमाडौँ – छोर्तेन स्नुकर क्लबले २५ भदौदेखि ‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा देशभरबाट २५६ भन्दा धेरै खेलाडी सहभागि हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल ५२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए। उनले गत वर्ष पनि प्रतियोगिताको आयोजना भएको र तत्कालिन समयमा ४२ जिल्लाले सहभागिता जनाएको भए पनि यो पटक थप जिल्लाका खेलाडीहरु काठमाडौँ आउने बताए।

प्रतियोगितामा पहिलो चरणका खेल वेस्ट अफ फाइभ र फाइनल चरणका खेल वेस्ट अफ थर्टिनमा खेलाइने छ। सहभागि खेलाडीले इन्ट्रीबापत ३ हजार बुझाउनु पर्नेछ। काठमाडौँ बाहिरका खेलाडीलाई खान बस्नको प्रावधान भने आयोजकले ब्यहोर्ने छ।

प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्ने मुल्मीले बताए। प्रतियोगिता अहिलेसम्म राष्ट्रिय स्तरमा प्रदान गरिने ठूलो पुरस्कार राशी भएको बताए। मुल्मीले प्रतियोगितको विजेताले दुई लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार दिइने जनाए। त्यस्तै, दोस्रो हुनेले १ लाख ११ हजार रुपैयाँ नगद जित्ने छन्। तेस्रो हुने दुई जनाले समान ५१ हजार रुपैयाँ नगद जित्ने छन्।

यदि कुनै खेलाडीले १४७ ब्रेक गरेमा १० लाख नगद पुरस्कार प्रदान गरिने छ। त्यस्तै, सेन्सर ब्रेक गर्नेले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन्।

त्यस्तै, हाइएस्ट ब्रेक गर्नेले २५ हजार, बेस्ट प्लेयरले १५ हजार, राइजिङ प्लेयर,  बेस्ट डिसिप्लिन प्लेयर र क्वार्टरफाइनल खेल्ने खेलाडीले समान ११ हजार नगद पुरस्कार दिइने जनाइएको छ।

प्रतियोगितालाई तीन महिनापछि बंगलादेशमा हुने साफ च्याम्पियनसीप र टर्कीमा हुने युरो च्याम्पियनसीपको छनोटका रूपमा पनि हेरिएको संघका अध्यक्ष मुल्मीले बताए। प्रतियोगितामा महिला खेलाडीको भने सहभागिता हुने छैन।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्