गठबन्धनले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत राख्दैनः नेम्वाङ

Copy to clipboard
Copied!

दाङ- नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन एमालेविरुद्ध एक्लै लड्न नसक्ने दाबी गरेका छन्।

शनिबार बिहान दाङमा आयोजित एक कार्यक्रममा नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य मान्यताविपरीत काम गर्दा देश दुर्घटनामा परेको बताए।

एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

‘गठबन्धन आफैँमा संसदीय मूल्य,मान्यताविपरीत छ, यो आफैँमा अपवित्र छ’, उनले भने, ‘त्यसैले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हैसियत राख्दैन। यसो हुनु भनेकै एमालेको राजनीतिक विजय भएको हामीले ठानेका छौँ।’

नेता नेम्वाङले सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरूको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए।

‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्, जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’,उनले भने, ‘जसले राष्ट्र र राष्ट्रियताको लागि सरकारमा बसेर काम गर्‍याे, जनताको जनजीविकालाई माथि उठाउन समाजमा योगदान दिन खोज्यो, उसलाई जनताले रुचाइरहेका बेलामा अपवित्र गठबन्धन गर्नेहरूले रुचाएनन्। आखिर देशलाई यस्तो अवस्थामा ल्याउनका लागि रहेछ भन्ने आज प्रमाणित भएको छ।’

हिजोको असहज परिस्थितिमा देशको निकासका लागि ताजा जनादेशमा जानुपर्छ भनेको एमालेलाई राष्ट्रघाती भन्नेहरू अहिले आफूहरूको बाटोमा आएको स्मरण गराउँदै उनले एमाले जनताको मन, विचार र विश्वास लिएर सँधै अघि बढेको पनि बताए।

यस्तै, आफ्नो पार्टीले संसदीय मूल्य, मान्यतामा रही जिम्मेवार प्रतिपक्षको रूपमा गरी रहेको खबरदारीलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए।

नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत काम गर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजरअन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्कसमेत गरे।

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्