
काठमाडौँ– एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको छलफलको लागि ९ वटा समूह बनाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलको लागि समूह निमार्ण गरिएको हो।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ति समूहले भोलि बस्ने बैठकमा प्रस्तुती राख्ने बताए।
उनले भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदन र निर्वाचनको तयारीको सन्दर्भमा मापदण्ड तथा प्रक्रियाका बारेमा वृहत छलफल गरेर बैठकसमक्ष एकीकृत धारणा बनाउने उद्देश्यका लागि आजको बैठकबाट ९ वटा समूह निर्धारण गरिएको छ । ९ वटै समूहले पार्टीका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा नेकपा एमालेलाई प्रतिक्रियावादीका सबै खाले घेराबन्दीलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ। कसरी वहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्न सकिन्छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त भएको सबभन्दा लोकप्रिय मतलाई वहुमतमा कसरी पु¥याउन सकिन्छ भन्नेबारे गम्भीरतापूर्वक छलफल गर्नेछन्। आगामी निर्वाचनका रणनीतिहरुका बारेमा आ–आफ्नो ढंगले ति समूहहरुले छलफल गर्नेछन् र भोलि साढे १० बजेबाट आरम्भ हुने केन्द्रिय कमिटीको चौथो बैठकको दोस्रो दिनमा ९ वटा समूहको तर्फबाट प्रस्तुतीहरु हुनेछन् ।’
बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय अनुशासन आयोगको, केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको रिजालले जानकारी दिए। तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रस्ताव भएको उनले बताए।
गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखा परेका समस्या छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराएका पनि रिजालले जानकारी दिए। बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाइ छ । कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरुको अनुमोदन पनि भएको जनाइएको छ।
भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको जानकारी गराइएको छ । बैठकमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको रिजालले बताए। बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्नेछ।