जति ताकेता गरे पनि ४३५ जनाले बुझाएनन् निर्वाचन खर्च विवरण

सिमकोट – निर्वाचन कार्यालयले धेरै पटक ताकेता गर्दा पनि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन धेरै उम्मेदवारले निर्वाचन खर्च नबुझाएको पाइएको छ।

निर्वाचन आयोगको निर्देशनमा कार्यालयले पटक–पटक सूचना जारी गर्दा र भदौ ७ गतेसम्म स्पष्टीकरण पेस गर्न ताकेता गर्दासमेत नबुझाएको पाइएको हो।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्यामबहादुर रानाका अनुसार हालसम्म ४३५ जनाले निर्वाचन खर्च बुुझाएका छैनन्।

निर्वाचन ऐनमा मतगणना सम्पन्न भएको मितिले एक महिना निर्वाचित र पराजित उम्मेदवारले खर्च विवरण बुुझाउनु पर्ने व्यवस्था छ।
गत स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाका सात वटा गाउँपालिकाबाट ६७६ जना उम्मेदवार निर्वाचनमा उम्मेदवारी दिएका थिए।

भदौ ७ गतेसम्म कार्यालयले निर्वाचन खर्च नबुझाएकोमा स्पष्टीकरण पेस गर्न सूचना जारी गरे पनि धेरै उम्मेदवारले पेस नगरेको पाइएको हो।

अब कार्यालयले खर्च विवरण बुझाउने र नबुझाउनेको अन्तिम नामावली तयार पारेर आयोगलाई पठाउने तयारी गरिरहेको छ।

उनले यसरी खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीबारे आयोगले निर्णय लिने बताए।

निर्वाचन ऐनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई १५ हजारसम्म आयोगले जरिवाना गर्न सक्ने व्यवस्था छ।

जिल्लाभरिका ७८ जनाले समयमै खर्च विवरण कार्यालयमा बुझाएका थिए भने ४८ जनाले सो विवरण बिलम्व गरी बुझाएका थिए।

पछिल्लो समय कार्यालयमा ११५ जनाले स्पष्टीकरण पेस गरेका थिए। नियमत निर्वाचन खर्च विवरण कार्यालयमा बुझाउनुका साथै सार्वजनिक पनि गर्नुपर्ने हुन्छ।

यसरी खर्च सार्वजनिक गर्ने उम्मेदवारको संख्या भने नाम्खामा चार जना, खार्पुनाथमा आठ जना र ताँजाकोटमा चार जना गरी बीस जना छ।

 

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्