बिल बिजक नभएको लत्ताकपडा तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजक बिनाको ४७ लाखभन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामान लाेड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट बिल बिजक बिनाको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिताबाट खटेको टोलीले ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सो ट्रकमा लोड रहेको बिल बिजकबिनाको ४७ लाख २४ हजार ८९० रुपैयाँको लत्ताकपडा तथा खुद्रा सामान पाइएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए।
सामानसहित ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताए।