दुर्गमको काँडाजिमाना गाउँमै पुगी स्वास्थ्यकर्मीले गरे उपचार सेवा

Copy to clipboard
Copied!

सिमकोट – हुम्लाकाे काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुगेर बिरामीको उपचार गरेका छन्।

गाउँपालिकाको स्वास्थ्यनीति अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढाका बस्तीका सैवाग्राहीहरूलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो।

काँडा गाउँकी ५७ वर्षीया बिरामी नौरती खड्काले स्वास्थ्यकर्मी गाउँमा आएर उपचार गर्न पाउँदा खुसी व्यक्त गरेकी छन्।

उनले यसअघि बिरामी हुँदा आफन्तसँग खबर पठाएर बिरामी भएको आधारमा औषधी झिकाउने गर्दै आएकोमा अहिले भने स्वास्थ्यकर्मीसँग चेकजाँच गरेर उपचार गर्न पाएको बताइन्।

उक्त गाउँ हुम्लाका दुर्गम गाउँमध्येमै पर्छ। गाउँमा रहेका बिरामीहरूले नि:शुल्क रूपमा चेकजाँच गर्न र औषधी समेत पाएपछि सबै सेवाग्राही खुसी भएका छन्।

स्वास्थ्यकर्मीहरूको समूहलाई स्थानीयले अबिर अक्षता लगाएर स्वागत समेत गरेका थिए। सो गाउँमा यसरी उपकरण र औषधी सहित दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार गरेको पहिलो पटक भएको स्थानीयले बताएका छन्।

गाउँँपालिकाको मैला स्वास्थ्य चौकीका संयोजन धनराज ढकालले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनका लागि गाउँपालिका केन्द्रबाट स्वास्थ्यकर्मी पुगेर बिरामीको उपचार गरिएकाे बताए।

उनकै नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली काँडाजिमाना गाउँमा पुगेको थियो। सो गाउँमा आधारभूत स्वास्थ्य इकाइ भए पनि जनशक्ति र औषधीको भने अभाव हुने गर्छ।

एकदिनमा एक सय पँचास जना बिरामीको उपचार गरेको बताउँदै उनले अब यो क्रम महिनामा एक पटक गरिने
जानकारी दिए। साना बालबालिकादेखि असी वर्ष माथिका जेष्ठ नागरिकहरूको उपचार गरिएको थियो।

संयाेजक ढकालले बिरामीहरूको चेकजाँचका साथै औषधीसमेत नि:शुल्क वितरण गरिएको बताए। सामान्य रुघाखोकीदेखि निमोनीया, बाथ, दम,मलेरिया हाडजोर्नीका बिरामीहरू बढी रहेको बताउँदै उनले बिरामीलाई आफ्ना समस्या खुलस्त राख्नसमेत अभिमूखीकरण गरिएको उनकाे भनाइ छ।

सो घरदैलो स्वास्थ्य कार्यक्रममा गर्भवतीहरूको गर्भजाँचसमेत गरिएको थियो। चेकजाँच गर्ने क्रममा २५ जनाको कोरोना परीक्षण समेत गरिएको भएपनि कसैलाई पनि भेटिएको थिएन।

साउन १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्