अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो : वरिष्ठ नेता पौडेल

रामचन्द्र पौडेल। फाइल तस्बिर।
Copy to clipboard
Copied!

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे।

‘पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ’, उनले भने।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट वर्तमान सरकारलाई नभएको बताए।

आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताए।

उनले भने, ‘मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुसलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ। १४ औँ महाधिवेशनमा सभापतिले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो।’

वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पारे। मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरूको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो।

‘अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो’, पौडेलले भने।

मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन रहेको वरिष्ठ नेता पौडेलले बताए।

राष्ट्र बैंकका गर्भनर पार्टीको कमिटीमा बस्नु संवैधानिक र कानुनविपरीत रहेको उनको भनाइ थियो।

‘मलाई व्यवस्थाको चिन्ता भएकाले जिल्ला आउन कमी भएको थियो, अब विकासमा हलचल आउँछ’, उनले भने।

असार ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्