बालेनले किन भेट्दै छन् शीर्ष नेता?

Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शीर्ष नेता भेट्नुलाई विभिन्न अर्थमा बुझिएको छ।

महानगरको मेयरमा स्वतन्त्र उठेर जितेका बालेन मतपरिणाम अन्तिम चरणमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनले मेयरको पदबहाली गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरे।

गत बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे भने बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगे।

बालेनले सबै भेटमा आफू काठमाडौँमा काम गर्न मेयर बनेकाले सहयोग गर्न आग्रह गरेका छन्। नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएका छन्।

बालेनले नेताको पदअनुसार भेटघाट भन्दा पनि अवसरको आधारमा भेटेको देखिएको छ।
काठमाडौँ महानगरको मेयर बन्ने निश्चित भएपछि ओलीलाई भेट्न पुगेका उनी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न भने पदभार ग्रहण गरेको केही दिनपछि मात्रै पुगेका थिए।

राजनीतिक विश्लेषक एवं प्राध्यापक डा रामहरि ढकालले दलले महानगरमा सहजकर्ताको भूमिका निर्वाह गरिदिने अपेक्षासहित बालेन नेताहरूलाई भेट्न गएको बताउँछन्।

महानगरका ३२ वटै वडाको अध्यक्ष कुनै न कुनै राजनीतिक दलमा आबद्ध व्यक्ति भएकाले काम गर्न सहज होस् भनेर शीर्ष तहमा भेटघाट गरेको उनको बुझाइ छ।

भेटलाई उनले अर्को तरिकाबाट पनि विश्लेषण गरेका छन्। उनले भने, ‘बालेन काठमाडौँको मेयरमा चुनिएपछि आफू पनि शक्तिमा पुगेको महसुस गरेर प्रधानमन्त्री तथा शीर्ष नेतालाई भेट्न पुगेको पनि हुन सक्छ, यदि त्यसो हो भनेचाहिँ काठमाडौँ महानगरबासी र उनका मतदातालाई तितो हुन सक्छ।’

स्वतन्त्र व्यक्तिले राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्न सजिलो होस् भनेर उनले सबै प्रमुख दलका प्रमुखसँग भेटेको धेरैको बुझाइ छ।

काठमाडौँ महानगरपालिकाका ३२ नम्बर वडामध्ये १९ वटा वडामा कांग्रे्रसले जितेको छ। यस्तै १२ वटा वडामा एमाले र एउटामा नेकपा एकीकृत समाजवादीले नेतृत्व पाएको छ।

प्रचण्डसँगको भेटमा संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकालाई कसरी सफा र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘तपाईंको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग मिलेर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो। तर, तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ’, भेटमा प्रचण्डले बालेनलाई भने, ‘त्यो सराहनीय छ। त्यसैले तपाईंलाई हाम्रो सधैँ साथ र सहयोग हुनेछ।’

भेटमा बालेनले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको भन्दै फोहोर व्यवस्थापनलगायत कामको थालनी भएको जानकारी गराएका थिए।

प्रचण्डले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालिको स्थानीय तह निर्वाचनमा पनि युवा नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए।

प्रचण्डले धरान, काठमाडौँलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्ति सुरु भएको पनि बताए।

प्रधानमन्त्री देउवाले बालेनसँगको भेटमा चुनावमा चमत्कार गरेको भन्दै काठमाडौँ महानगरका सम्पूर्ण रुपले सहयोग गर्ने बताएका थिए।

‘तपाईंले चमत्कार गर्नुभयो। काठमाडौँको विकासमा तपाईंलाई केन्द्र सरकारबाट सबै सहयोग प्राप्त हुन्छ भनेर प्रधानमन्त्रीले भनेका शाहको सचिवालयले जनाएको छ।

मतगणना अन्तिममा पुग्दै गर्दा बालेन ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।

ओलीसँगको भेटलाई एमालेका नेताहरूले अर्थपूर्णको संज्ञा दिएका छन् भने बालेन निकटले उनी आशीर्वाद लिन मात्रै पुगेको भनेका छन्।

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुका अनुसार बालेनले सबै राजनीतिक दलका नेतालाई हेर्ने दृष्टि समान छ।
वर्तमान राजनीतिक व्यवस्थामा आइपुग्न सबै नेताको ठूलो योगदान रहेको बालेनको बुझाइ छ।

‘मलाई सहयोग गर्नुस् म भोलि तपाईंको पार्टीमा आउँछु’ भन्न बालेन ओलीलाई भेट्न नगएको साहुको भनाइ छ।

ओलीसँगको भेटमा बालेनले भोलि गएर सरकार सञ्चालन गर्ने र युवा राजनीतिमा आउने सवाललाई तपाईंहरूले सकारात्मक रूपमा हेरिदिनुप¥यो भनेर आग्रह पनि गरेका थिए।

स्वतन्त्र व्यक्तिले दलहरूसँग छलफल र समन्वय गरेर नेतृत्व गर्नु राम्रो पक्ष हो तर बालेनले दलहरूसँग पालैपालो गर्दै आएको भेटघाट कुनै स्वार्थकेन्द्रित हो भने उनीमाथि आशा गरेका महानगरवासीलाई धोका हुनेछ। यति मात्र नभई राजनीतिमा स्वतन्त्र व्यक्ति स्थापित हुन नपाउँदै उनीहरूमाथिको विश्वास र भरोसा पनि टुट्नेछ।

जेठ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्