बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

Copy to clipboard
Copied!

काठमाडाैँ- बाँकेको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार निर्वाचित भएका छन्। सो नगरमा आठ कार्यपालिका सदस्य चयन गर्न मतदान भएको थियो।

निर्वाचनमा कांग्रेसकी अमृताकुमारी सिंह, पुष्पा सिंह, सङ्गीता रेग्मी, जसपाकी शोभा खटिक, वसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी बीना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

उनका अनुसार कांग्रेस र जसपाका तीन-तीन र राप्रपाका दुई जना निर्वाचित भएका छन्। निर्वाचनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाबीच गठबन्धन भएको थियो।

यस्तै, जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो। जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ।

सो निर्वाचनमा दलित अल्पसङ्ख्यकबाट केशवराज दमाई, थानबहादुर विक विजयी भएकाे गाउँ कार्यपालिकाका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर विक र प्रदीपकुमार रजक थिए।

गाउँ कार्यपालिकामा महिला सदस्यमा सुमित्राकुमारी थारू, गौत्राकुमारी डाँगी, यमकुमारी वली र राधिका सुनार निर्वाचित भएका छन्।

यसैगरी, बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्णकुमारी विक, रूपा रावत र भूमिसरा राना छन्। उनीहरू अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन्।

जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचनमा कांग्रेसका उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा माओवादी केन्द्रका तारावती खटिक र राजेन्द्र सिंह निर्वाचित भएका हुन्।

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्