एमाले नेता बिष्णु रिजालसँग अन्तर्वार्ता

‘सत्ता गठबन्धन एमालेसँग आतंकित छ’ (भिडियो)

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट आरम्भ भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नको लागि ९ वटा समूह गठन गरिएको छ।

९ वटै समूहले पार्टीका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा नेकपा एमालेलाई प्रतिक्रियावादीका सबै खाले घेराबन्दीहरुलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ, कसरी वहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्न सकिन्छ र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त भएको सबभन्दा लोकप्रिय मतलाई वहुमतमा कसरी पुर्‍याउन  ‍सकिन्छ भन्ने बारेमा गम्भीरतापूर्वक छलफल गर्ने एमालेको तयारी छ।

शुक्रबार बैठकको सुरुमै अध्यक्ष ओलीले एमालेलाई बहुमत प्राप्त हुने गरी चुनावी प्रचार गर्न र सोही अनुसारको तयारी गर्न भन्दै नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। ओलीले चुनावमा एक्लै होमिने बताइरहँदा पार्टीभित्र बाम एकता र सत्ता बाहिर रहेका दलसँगको चुनावी एकताको प्रस्ताव पनि आएका छन्। पार्टीभित्रदेखिएका फरक स्वरलाई ओलीले कसरी सम्बोधन गर्छन्,त्यसो चासोको बिषय बनेको छ।

संघ र प्रदेशको चुनाव लक्षित आन्तरिक रणनीति र तयारीबारे देशसञ्चारकी ईश्वरी बरालले एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालसँग गरेको कूराकानीको सम्पादित अंश। रिजालले संघीय चुनावमा दैलेख क्षेत्र नम्बर दुईबाट लड्ने आकांक्षा देखाएका छन्।

चुनावमा एमालेको पक्षमा सबै माहोल सिर्जना गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन्,एमाले सत्ता गठबन्धनसँग डराएको हो?
हामी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छौँ, स्वाभाविक रुपमा पार्टीको पक्षमा कसरी माहोल सृजना गर्ने, निर्वाचन परिणामलाई देश र जनताको हितमा गराउने एमालेलाई कसरी बिजयी बनाउने भन्नेबारेमा हाम्रो छलफल केन्द्रित भएको छ, अध्यक्ष ओलीले कसरी पार्टीको ध्यान चुनावमा लगाउन र एमालेलाई जिताउने गरी माहोल बनाउन निर्देशन दिनुभएको छ। सत्ता गठबन्धनसँग हामी डराएका छैनौँ, बरु एमालेसँग सत्ता गठबन्धन डराएको छ। एक्लै लड्न सक्ने भएको भए उहाँहरुका आकांक्षी व्यवस्थापनमा निकै सकस पर्ने थिएन। हामीसँग आतंकित भएर धेरै दलहरु मिलेका छन्।

चुनावमा गठबन्धनसहित जाने वा एक्लै जाने भन्नेमा पार्टीभित्र मत विभाजित छ, एमाले कसरी चुनाव लड्छ?
सैद्धान्तिक रुपमा हामी गठबन्धनको बिरोधी छैनौँ, सत्ता गठबन्धन नेकपा एमालेको बिरुद्ध भइरहेको छ। नेकपा एमालेलाई एक्लाउन विभिन्न आकार र प्रकारका दलहरु एक ठाउँमा उभिएका छन्। बामपन्थीदेखि दक्षिणपन्थी दलहरुसम्म एक ठाउँमा उभिएको यो परिस्थितिमा नेकपा एमालेले गठबन्धन गर्नुपर्छ,तालमेल गर्नुपर्छ भन्दै रुँदै कराउँदै हिँड्नुपर्ने अवस्था छैन। नेकपा एमाले आज पनि देशको सबैभन्दा ठूलो पार्टी हो।

उम्मेदवारलाई टिकट वितरण गर्ने आधार र मापदण्ड के के हुन्?
६ वटा मापदण्डहरु प्रस्ताव गरिएको छ। पार्टीप्रतिको कटिबद्धता,आन्दोलनप्रतिको लगाव, लोकप्रियता, सन्तुलनलगायत जित्न सक्ने आधारहरुलाई केन्द्रमा राखेर टिकट वितरण गर्ने पार्टीको तयारी छ।

समानुपातिक सांसद नदोहोर्‍याउने बिषयमा निचोड निस्कियो?
समानुपातिक सांसद दोहोर्‍याउने वा नदोहोर्‍याउने, एक व्यक्ति कति पटक सांसद हुने, राष्ट्रियसभा सदस्य भएको व्यक्ति त्यो पद हुँदा हुँदै प्रतिनिधिसभामा जाने वा नजाने,हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा टिकट प्राप्त गरेर पराजित भएको व्यक्ति संघ र प्रदेशमा लड्न पाउने कि नपाउने भन्ने छलफलका क्रममा छन्।

नवप्रवेशीलाई कस्तो मौका दिँदैछ एमालेले?
नवप्रवेशी साथीहरुलाई पनि हामी मौका दिदैछौँ।अहिले के गर्ने भन्ने बिषयमा हामी छलफल गर्दैछौँ। माओवादीबाट एमालेमा प्रवेश गरेका पनि उपयुक्तले टिकट पाउनुहुन्छ। पूर्व एमाले, पूर्व माओवादी अथवा माओवादी र एमालेभित्र पनि कुन पक्ष भनेर हेर्नुभन्दा पनि उपयुक्त सबैले टिकट प्राप्त गर्नुहुन्छ।अरु कुन पार्टीबाट आयो भन्ने आधारमा भन्दा पनि पार्टीभित्रको निष्ठा, योगदान, निर्वाचन जित्न सक्ने आधार, पार्टीभित्रको शक्ति सन्तुलन, जनताबिचको लोकप्रियता जस्ता आधार तथा सबै बिषयलाई ध्यानमा राखेर, पार्टीलाई निर्वाचनमा बिजयी गराउने गरी टिकट वितरण हुन्छ, नकी कोहि आफूले मन पराएको आधारमा टिकट बितरण हुन्छ।

स्थानीय तहको जितलाई कसरी मूल्याङ्कन गर्नुभएको छ,संघ र प्रदेशको निर्वाचनको परिणामको आंकलन के हो?
पार्टी अध्यक्षज्यूले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि यस बिषयमा उल्लेख गर्नुभएको छ। यसमा तीन वटा पाटा छन्, पहिलो पाटो भनेको हाम्रो पार्टी विरुद्ध सत्ता गठबन्धन थियो,यसले हामीलाई असर गरेको हो। दोस्रो,कांग्रेस र माओवादीको योजनामा अध्यादेश ल्याएर हाम्रो पार्टी विभाजनको दुस्प्रयास गरिएको थियो। तेस्रो पार्टीलाई अनुशासित ढंगले सञ्चालन गर्न नसकेको कारणले सोचेजति राम्रो नतिजा आउन सकेन। यी तिनै वटा पक्षलाई ध्यानमा राखेर निर्वाचन तयारी गर्दै छौँ। केन्द्रीय कमिटी बैठकमा देशभरीको रिपोर्टिङ सुन्छौँ, केहि विश्लेषण गर्छौँ, बहुमत प्राप्त गर्छौँ भन्ने आत्मविश्वासको साथ यो निर्वाचनमा जाँदैछौँ। अहिले नै हामी संख्याको बिषयमा केही बोल्दैनौँ।

तपाईँ आफै पनि दैलेख क्षेत्र नम्बर दुई बाट संघीय चुनावमा उठ्ने योजनामा हुनुहुन्छ? टिकट पाउनुहुन्छ?
म पार्टीको एकजना इमान्दार कार्यकर्ता हुँ,अघिल्लो पटकको निर्वाचनमा पनि मेरो नाम मतदानको माध्ययमबाट तलैबाट सिफारिस भएर आएको हो। क्षेत्रीय कमिटीबाट नाम सिफारिस नभएसम्म कसैले पनि टिकट प्राप्त गर्न सक्दैन। दैलेख क्षेत्र नम्बर २ का साथीहरुले मलाइ पत्याउनुभयो, सिफारिस गर्नुभयो र पार्टी नेतृत्वले पनि मलाई योग्य ठान्यो भने टिकट प्राप्त गर्नेछु। मलाई विश्वास छ अहिले पार्टीमा बढ्दै गरेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका कारण युवाहरुको आकर्षण र नेतृत्वको जुन भरोसा छ, हामी जस्तो युवाले मौका पाउँछौँ भन्ने विश्वास छ।

आकांक्षी धेरै छन्, एमालेले शीर्ष नेता व्यवस्थापन कसरी गर्छ?
देश व्यवस्थापनको अघि नेता व्यवस्थापन ठूलो एजेन्डा होइन, आज मैले मौका पाइन भने भोलि पाउँछु।

आधा कार्यकाल चलाएर कांग्रेसको नेतृत्वलाई एमालेले सरकार नसुम्पिएको भए अहिले एमालेको नेतृत्वमा निर्वाचन भइरहेको हुन्थ्यो नि?
२०४७ को चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गरेको थिएन, माओवादी केन्द्रसँग मिलेर चुनाव लडेको थियो यो कुरा आम जनताले बुझिदिनुहुन्छ भन्ने विश्वास छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्