मेयरमा स्वतन्त्र उम्मेदवारले पाए शून्यदेखि ३८ मत

Copy to clipboard
Copied!

वीरगञ्ज – देशभरि अहिले स्वतन्त्र उम्मेदवारको जितको चर्चा चलिरहेका बेला वीरगञ्ज महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका दुई दर्जन उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन्।

यी दुई दर्जन स्वतन्त्र उम्मेदवारले जमानत जफत गराउनुका साथै मत पनि विश्वासै गर्न नसकिने किसिमले पाएका छन्।

महानगरको मेयरमा राजनीतिक दल र स्वतन्त्र गरी ३० जना उम्मेदवार थिए। जसमा दुई दर्जन स्वतन्त्र उम्मेदवारमध्ये आधा दर्जन उम्मेदवारले त भोटै पाएनन् अर्थात् ६ जना स्वतन्त्र उम्मेदवारले शून्य मत पाए।

मेयरमा कप प्लेट चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार शत्रुधनप्रसाद कुर्मी, कैची पाएका मो सगिर अलि, कर्क पाएका कैलाशप्रसाद सर्राफ, ठेकी पाएका सुनिल कुमार कलवार, प्रेसर कुकर पाएका बिक्की राज पटेल र चुनाव चिह्न हाँस पाएका फरोज आलमले मेयरमा शून्य मत पाएका छन्।

यिनीहरूले आफैँलाई मत दिएनन्। दुई दर्जन स्वतन्त्र उम्मेदवारमध्ये बाँकी चार जनाले एक एक मत मात्रै पाए। स्वतन्त्रबाट मेयरमा चुनाव चिह्न जेब्रा पाएका राजेश सिंह, सेफ्टी पिन पाएका रिजवान अलि, धारा पाएका मोहम्द हफिज मियाँ र चुनाव चिन्ह भ्यागुतो पाएका सञ्जीवकुमार यादवले एक एक मत मात्रै ल्याएका छन्।

दुई दर्जन स्वतन्त्र उम्मेदवारमध्ये बाँकी रहेका चुनाव चिह्न खरायो पाएका जमिल राय भाटले २ मत, काग पाएका समसुदिन मियाँले २, चुलेसी पाएकी श्रीमती कौशिला देवी कनुईनले २, मुढा पाएका राजेन्द्रप्रसाद भुमिहारले २ मत पाएका छन्।

यसैगरी, चुनाव चिह्न बिरालो पाएका स्वतन्त्र उममेदवार रोज मियाँ अन्सारीले ३, जोडी गमबुट पाएका सुमितकुमार सिंहले ३, पुतली पाएका अजयकुमार कुर्मीले ५, लौरो पाएका मो. रियाजुल हकले ७, भुइँकटहर पाएका प्रभात सिंहले ७, उडदै गरेको चिल पाएका बृजमोहन प्रसाद चौरसियाले १२ मत प्राप्त गरेका छन्। यस्तै चुनाव चिह्न आँप पाएका भोला पटेलले १५ मत, लाल्टिन पाएका राधेश्याम साहले २९ र गुलाफको फूल चुनाव चिह्न पाएका मेयरका स्वतन्त्र उम्मेदवार म. ज्याउल हक अन्सारीले ३८ मत ल्याएका छन्।

मेयरजस्तै उपमेयरमा पनि स्वतन्त्र उम्मेदवारले यस्तै मत प्राप्त गरेका छन्। दल र स्वतन्त्र गरी १० जना उम्मेदवार रहेका उपमेयरमा भुइँ कटहर चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार भोला साहले शून्य मत, कैंची पाएका रामबाबु महतो नुनियाले १, लाल्टिन पाएका दीपक प्रसादपटेलले ५, पुतली पाएका दिनेशकुमार कुशवाहाले ८ आँप चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार सालिकराम प्रसाद कानुले २४२ मत ल्याएका थिए। उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले भने ३ हजार ९०९ मत ल्याइन्। उनलाई उनको पार्टी लोसपाले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उठेकी थिइन्।

वीरगञ्जको मेयरमा सतारुढ पाँचदलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहले ४६ हजार २१५ मत र गठबन्धनबाटै कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएर विजयी भएका छन् ।

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्