वीरगञ्जमा उम्मेदवार नभएको चुनाव चिह्नमा खस्यो हजारौँ भोट

Copy to clipboard
Copied!

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणना क्रममा उम्मेदवार नै नभएको चुनाव चिह्नमा हजारौँ मत खसेको पाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार महानगरको मेयर उपमेयरमा उम्मेदवार नै नभएको चुनाव चिह्नमा उक्त मत खसेको हो।

महानगरको मेयरमा दल तथा स्वतन्त्र गरी ३० जना र उपमेयरमा १० जनाले उम्मेदवारी दिएका छन्।

मुख्य निर्वाचन अधिकृतले उपलब्ध गराएको मतगणना परिणामअनुसार उपमेयरको कुनै पनि उम्मेदवार नभएको ढल्केको छातामा ४ हजार १ सय २० मत खसेको छ।

यो चुनाव चिह्न जनता समाजवादी पार्टीको तर उसले उपमेयरमा आफ्नो उम्मेदवार उठाएको थिएन। किनकि सतारुढ पाँचदलीय गठबन्धनको तर्फबाट जसपाले मेयर र कांग्रेसले उपमेयर पाएको थियो।

सोहीअनुसार गठबन्धनतर्फबाट मेयरमा जसपाले र उपमेयरमा का‌ंग्रेसले उम्मेदवारी दर्ता गराएको थियो। तर, मतदाताले उम्मेदवार नै नउठाएको जसपाको चुनाव चिह्न ढल्केको छातामा हजाराँै मत खसालेका हुन्।

यसैगरी एमालेको चुनाव चिह्न सूर्यमा पनि उपमेयरमा १ हजार ८०५ मत खसेको छ। यहाँ पनि एमालेले आफ्नो उम्मेदवार उठाएको थिएन किनकि एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेर मेयरमा एमाले र उपमेयरमा लोसका उम्मेदवार उठ्ने सहमति गरेका थिए। सोहीअनुसार उनीहरूले आ–आफ्नो चुनाव चिह्न लिएर लडेका थिए।

तर, उपमेयरको उम्मेदवार नै नभएको सूर्य चिह्नमा पनि हजाराँै संख्यामा मतदाताले भोट खसाले। यसैगरी, सतारुढ पाँचदलीय गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न कलम छापमा पनि मतदाताले मेयर र उपमेयरमा मत दिएका छन्।

मतदाताले मेयरमा कलम चुनाव चिह्नलाई १३ र उपमेयरमा २१ मत दिएका छन्। जबकि एकीकृत समाजवादी पार्टीले मेयर र उपमेयर दुवैमा आफ्नो उम्मेदवार खडा गरेको थिएन।

त्यस्तै, मेयर र उपमेयर दुवैमा आफ्नो उम्मेदवारी नदिएको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजुमा पनि मेयर पदका लागि २५ र उपमेयरमा ५२ वटा मत परेको छ।

नेपाल सुशासन पार्टीले पनि मेयरमा उम्मेदवारी नदिए पनि मतदाताले उसको चुनाव चिह्न मकै छापमा १६ मत दिएका छन्।
यसैगरी, चुनाव चिह्न नमस्कार छाप लिएर कुनै पनि उम्मेदवार मेयर, उपमेयरमा नउठे पनि मतदाताले यो चुनाव चिह्नमा मेयरमा १२ र उपमेयरमा १५ मत दिएका छन्।

उपमेयरको उम्मेदवार नभएको चुनाव चिह्न जगमा ५०, चिल छापमा ११, जेब्रामा ७, मादलमा ३, सेफ्टी पिनमा ३, मुढामा ४, लौरोमा ५, भ्यागुतोमा ६ र सेफ्टी पिनमा ३ मत खसेको छ। वीरगञ्ज महानगरपालिकामा सतारुढ पाँचदलीय गठबन्धन र अर्कोतर्फ एमाले र लोसपाबीचको गठबन्धनका कारण पनि मतदाता झुक्किएर मत दिएको हुन सक्ने बताइएको छ।

तर, यसपालि निर्वाचन आयोगले पनि मतदाता शिक्षासमेत सञ्चालन नगर्दा धेरै नयाँ मतदातालाई मत खसाल्नेबारे जानकारी नहँुदा पनि उम्मेदवार नै नभएको चुनाव चिह्नमा मतदाताले मत दिएका हुन्।

जम्मा ९३ हजार ७ सय २८ मत खसेको महानगरको मेयरमा सतारुढ गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मत ल्याएर विजयी भएका छन्।

 

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्