नवनिर्वाचित जनप्रतिनिधिबीच शपथ ग्रहण कार्यक्रममै विवाद

Copy to clipboard
Copied!

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममै विवाद भएको छ।
सोमबार गाउँपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण कार्यक्रममा वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्।

उक्त कार्यक्रममा जनप्रतिनिधिभन्दा एमालेका नेताहरूको बढी उपस्थिति भएको भन्दै नवनिर्वाचित वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले जानकारी दिए।

आफूहरूले वडाध्यक्षहरूलाई शपथग्रहण कार्यक्रममा हात जोडेरै शपथ खान भने पनि नमानेर नवनिर्वाचित वडाध्यक्षहरू बाहिर हिँडेको केशरीको भनाइ छ।

‘शपथ ग्रहण कार्यक्रममा एमालेका नेताहरू बढी आए भनेर वडाध्यक्षज्यूहरूले शपथ खान मान्नुभएन,’ उनले भने, ‘मैले जति हातै जाडेर भन्दा पनि उहाँहरू शपथ नै नखाई बाहिर जानुभयो।’

गाउँपालिकाको वडा नम्बर २ मा काँग्रेसबाट निर्वाचित हृदयकुमार साह तेली, ३ का एकीकृत समाजवादीबाट निर्वाचित छोटेलाल कानु, ४ का नेकपा माओवादी केन्द्रका याकुब अन्सारी र ६ का माओवादीबाटै निर्वाचित बृज किशोर कुशवाहाले सोमबार शपथग्रहण कार्यक्रम बहिष्कार गरेको केशरीले जानकारी दिए।

एमालेबाट निर्वाचित वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले भने शपथ खाएको उनले बताए।
उनले भने, ‘अब वडाध्यक्षलाई हामी फेरि पनि बोलाएर शपथ गराउनेछाँै।’

‘शपथग्रहण कार्यक्रममा जनप्रतिनिधिभन्दा एमालेका नेता बढी आएका थिए, त्यो एमालेको कार्यक्रमजस्तो लाग्यो, त्यसैले शपथग्रहण गरिनँ’, वडा नम्बर ६ का नवनिर्वाचित वडाध्यक्ष बृजकिशोर कुशवाहाले भने।

उनले आफूसहित चार जना वडाध्यक्षले शपथ कार्यक्रम बहिष्कार गरेको र यसबारे पछि छलफल गरेर निर्णय लिने जानकारी दिए।

अहिलेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट शपथ नखाने भन्दै मुख्य निर्वाचन अधिकृतबाट भए पनि शपथ भने दुई तीन दिनमा खाने कुशवाहको भनाइ छ।

 

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्