पर्सा र बारामा पनि मिटरब्याजीको बिगबिगी, एक सय ४० वटा उजुरी दर्ता

वीरगञ्ज – मधेस प्रदेशको पर्सा र बारा जिल्लामा पनि मिटरब्याजीको बिगबिगी रहेको पाइएको छ।

गृह मन्त्रालयले मिटरब्याजीविरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता गर्न आह्वान गरेपछि पर्सा र बारामा पनि उजुरी परेको छ।

सोही क्रममा यी दुई जिल्लामा शुक्रबारसम्म एक सय ४० वटा उजुरी परेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पर्सा जिल्लामा शुक्रबारसम्म मिटरब्याजीविरुद्ध ९० वटा उजुरी दर्ता भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

अहिलेसम्म उजुरी दैनिक रुपमा पर्दै आएको तथा यो संख्या अझै बढ्न सक्ने देखिएको उनले बताए।

‘सरकारले उजुरी दिन आह्वान गरेपछि जिल्लामा अहिलेसम्म ९० वटा उजुरी परेका छन्, उजुरीहरू आइरहेकाले यो संख्या बढ्ने देखिन्छ,’ उनले भने।

यसैगरी, बारा जिल्लामा भने शुक्रबारसम्म मिटरब्याजीविरुद्ध ५० वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

मिटरब्याजबाट पीडित भएकाहरूले जिल्ला प्रशासन कार्यालयमा आएर उजुरी दर्ता गराउँदै आएको उनले बताए। उजुरी सम्बन्धित प्रशासनले पहिले छानबिन गरी कारबाही गर्ने तथा उजुरीलाई गृह मन्त्रालयमा समेत पठाइने कटुवालको भनाइ छ।

‘अहिलेसम्म ५० वटा उजुरी आएका छन् ती उजुरीलाई हामी पहिले छानबिन गरी कारबाही गर्छौं, साथै उजुरीलाई गृह मन्त्रालयमा समेत पठाउँछौँ,’ उनले भने, ‘गरिब, निमुखा, अनपढहरूलाई परेको बेला ऋण दिएर साँवाभन्दा तीन, चार गुणाको कपाली तमसुक बनाएर मिटरब्याजीले उनीहरूको जग्गा जमिन हडपेर घरबारविहीन बनाउने गरेपछि सरकारले यस्ता मिटरब्याजीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

पर्सा बारामा पनि मिटरब्याजीले ऋण दिएर चर्को ब्याज असुल्ने गरेको तथा ब्याज साँवा नदिँदा पीडितलाई धाक–धम्की दिने गरेका छन्। मिटरब्याजीका कारण समस्यामा परेकाहरूको बारेमा अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव डा.भीष्मकुमार भुसालको संयोजकत्वमा मिटरब्याजी समस्या छानबिन कार्यदल गठन गरेपछि कार्यदलले साहुविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।

सोहीअनुसार देशभरबाट उजुरी आउने क्रम चलिरहेका बेला पर्सा र बारामा पनि उजुरी दर्ता भएको छ। पर्सासँगै मधेस प्रदेशमै देशभरिमा सबैभन्दा बढी मिटरब्याजीविरुद्ध उजुरी परेको छानबिन गर्न बनेको कार्यदल समितिले जनाएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्