नवनिर्वाचित मेयरको पहिलो निर्णयः विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

Copy to clipboard
Copied!

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मेयरले सपथ ग्रहण गरेसँगै विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण गर्ने पहिलो निर्णय गरेका छन्।

उपमहानगरका नवनिर्वाचित मेयर राजन पौडेलले सोमबार बिहान नगरभत्रि सामुदायिक विद्यालयमा भर्ना हुने कक्षा १ देखि ५ सम्मका सबै छात्र छात्राहरुलाई निःशुल्क पोशाक वितरण गर्ने निर्णय गरेका हुन्।

उनले नगरमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकमार्फत आफ्नोतर्फबाट नयाँ भर्ना भएका कक्षा १ देखि ५ सम्मका छात्र छात्राहरूलाई पोशाक वितरण गर्ने निर्णय गरेका हुन्।

साथै उनले आफूलाई निर्वाचित गराउने नगरबासीहरूलाई धन्यवाद दिँदै शहिदप्रति श्रद्धाञ्जलीसमेत ब्यक्त गरेका छन्।

उपमहानगरको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पौडेल १८ हजार ७४३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनले उपमहानगरकी निवर्तमान उपमेयर एमालेकी सरस्वती चौधरीलाई पराजित गरेका हुन्।

यहाँ सतारुढ पाँच दलीय गठबन्धनबाट माओवादीका पौडेल मेयरमा लडेका थिए।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्