बागी उम्मेदवारी फिर्ताको रस्साकस्सीमा दलहरु

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि परेका बागी वा स्वतन्त्र उम्मेदवार फिर्ता लिन सत्तारुढ गठबन्धनले निर्देशन दिएसँगै धेरैजसो स्थानीय तहमा रस्साकस्सी चलिरहेको छ।

चुनावी तालमेलमा चित्त नबुझाएर बागी वा स्वतन्त्र उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न दबाब बढेको हो।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् भने सत्ता नेतृत्वकर्ता दल कांग्रेसले पनि छुट्टै आग्रह गरेको छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बागी वा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समिति पनि यसैमा केन्द्रित छ। कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासम्मिलित सत्ता गठबन्धनको चुुनावी तालमेलमा असन्तुष्ट बनेका जिल्ला नेता–कार्यकर्ताले पार्टी छाड्नेदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेर आक्रोशसमेत पोखेका छन्।

आफूले नजिते पनि गठबन्धनबाट उठाएको उम्मेदवारलाई असयोग गर्ने हेतुले बागी उम्मेदवार उठेको देखिएको छ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाले धेरैको ध्यान तानेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाललाई सत्तारुढ गठबन्धनले मेयरमा उठाएपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन्।

केही कार्यकर्ता पार्टीबाटै बाहिरिएका छन् भने केहीले बागी दिएर भोट काट्ने प्रयास गर्न खोजेका छन्।

मेयरमा बागी उम्मेदवारी दिएकामध्ये कांग्रेसका जगन्नाथ पौडेल पछि हट्न मानेका छैनन्। स्थानीय नेता–कार्यकर्ताको आग्रहले मात्रै पौडेल पछि नहट्दा शीर्ष तहका नेताले सम्झाउने प्रयास गरेका छन्।

गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड बागी उम्मेदवार व्यवस्थापन र सहज चुनावी माहोलका लागि चितवन पुगेका छन्।

यसअघि हिजो महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालका पिता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेर बागी र स्वतन्त्र उम्मेदवारले फिर्ता लिने माहोल मिलाउने प्रयास गरेका थिए।

भरतपुर महानगरपालिकाको मेयरका लागि १४ स्वतन्त्र र १६ जनाले दलको तर्फबाट गरी ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं महानगरपालिकामा पनि भरतपुरमा जस्तै चुनावी चर्चा र चासो छ। यहाँको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस नेता गणेशमान सिंहको पारिवारिक विरासत बोकेकी सिर्जना सिंह र यसअघि स्थानीय निकायको निर्वाचनमार्फत काठमाडौंका मेयर बनिसकेका एमालेको तर्फबाट केशव स्थापित प्रतिस्पर्धामा छन्।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवार उठेका बालेन शाहलगायतलाई समर्थन गर्नेहरू पनि छन्।
काठमाडौं महानगरपालिकामा १६२ पदका लागि ८५९ जनाको उम्मेदवारी परेको छ। प्रमुखमा ५६, उपप्रमुखमा ३३ र वडाअध्यक्ष पदका लागि २२१ जनाले उम्मेदवारी दिएका छन्।

यता, ललितपुर महानगरपालिकामा मेयरका लागि बागी उम्मेदवार परेको छैन भने उपमेयरमा दुई जनाले बागी दिएका छन्।
उपप्रमुखका लागि अजरमान जोशी र सुविन शाक्यले बागी उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी फिर्ता लिने विषयमा ललितपुर कांग्रेसको छलफल भइरहेको जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

शीर्ष तहले बागी वा स्वतन्त्र उम्मेदवार फिर्ता लिन निर्देशन दिएसँगै मिलाउन दबाब बढेको उनको भनाइ छ। ललितपुर महानगर प्रमुखका लागि १३ जनाको उम्मेदवारी परेको छ।

यस्तै, पोखरा महानगरमा कांग्रेसका तीन जनाले बागी दिएका छन्। ऋषि सापकोटा, नन्द तिवारी र विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएको कांग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बरालले देश सञ्चारलाई जानकारी दिए।

गठबन्धनले बागी वा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि पोखरा महानगरको प्रमुखका लागि परेका बागी उम्मेदवारी फिर्ता हुने उनको विश्वास छ।

यसका लागि आफूले पनि पहल गरिरहेको बरालले बताए।

पोखरा महानगरको प्रमुख कांग्रेसले नपाएकाले पनि त्यहाँका कार्यकर्ता थप रुष्ट बनेका छन्। यहाँ उपप्रमुखको सिट कांग्रेसको भागमा परेको छ भने चुनावी तालमेल गर्दा नेकपा (एकीकृत समाजवादी)ले प्रमुखको सिट प्राप्त गरेको छ।

गठबन्धनको तर्फबाट उठाएको उम्मेदवारमाथि कांग्रेसका नेताले बागी दिएका हुन्। पोखरामा २४ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, वीरगञ्ज महानगर प्रमुखका लागि १२ जनाको र विराटनगर महानगर प्रमुखका लागि ११ जनाको उम्मेदवारी परेको छ। सबै महानगरमा परेका बागी उम्मेदवारी फिर्ता लिन छलफल भइरहेको छ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख पदमा र ललितपुरमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ। यस्तै, जितपुर सिमरा र घोराही उपमहानगरमा प्रमुख र धरान र धनगढी उपमहानगरपालिमाका उपप्रमुख पदमा उम्मेदवारी दिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकामा प्रमुख काठमाडौं महानगरपालिकामा उपप्रमुख, हेटौंडा उपमहानगरपालिकामा प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ।

जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकामा प्रमुख तथा विराटनगर महानगरपालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ।
जनकपुर उपमहानगरपालिकामा प्रमुख र कलैया र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ।

६ वटा महानगरमध्ये कांग्रेसले काठमाडाँै, ललितपुर र विराटनगरमा प्रमुख र वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुखमा उम्मेदवार उठाएको छ।

यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज, धनगढी, जितपुर सिमरा, घोराही, हेटौंडा र जनकपुर गरी ११ वटा उपमहानगरपालिकामध्ये कांग्रेसले ७ वटामा प्रमुखमा सिट लिएको छ भने गठबन्धनका अन्य दललाई बाँकी सिट बाँडफाँड गरेको छ।

बैशाख १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्