सप्तरीमा टायर पड्केर हायस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

जनकपुरधाम – सप्तरीमा हायसको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यस्तै, सो दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोमबार दिउँसो करिब पौने ३ बजेको समयमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ नयाँ बस्ती वसन्तपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा हायस दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृका ओलीको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नं. हायसको ड्राइभर साइडको पछाडिको टायर अचानक पडकेपछि हायस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर ६ महिलासहित १३ जना घाइते भएका छन्।

दुर्घटनामा परेर हयासका चालक झापाको बिर्तामोड ४ का ४३ वर्षीय दुर्गाबहादुर मगर, मोरङको गछिया ४ की १९ वर्षीया सबिना राई, रौतहटको २४ वर्षीय मनोज जैसवाल, भारतको दिल्लीका ४६ वर्षीय ईमराम अहमद, हायसका सहचालक बिर्तामोड ४ का ३० वर्षीय हिमाल प्रसाद, चितवनको रत्ननगर ९ का ४८ वर्षीय बिनोद प्रसाद शर्मा, मोरङको उर्लाबारीकी ४२ वर्षीया तारा बिक घाइते भएकी छन्।

यस्तै, झापाका २९ वर्षीय अशोक माझी, २९ वर्षीया बिछा ओली, २४ वर्षीया अञ्जना अधिकारी, २० वर्षीया सिर्जना अधिकारी, ४६ वर्षीया सुसमिता संग्रौला र मोरङकी ४२ वर्षीया तारा बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्