नागरिक लगानी कोषद्वारा उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने

Copy to clipboard
Copied!

काठमाडौँ – नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने  भएकाे छ। काठमाडाैँमा साेमबार आयाेजित कोषकाे २७ औं वार्षिक साधारणभामा  कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले ०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जानकारी दिए।

सभाले ०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। यससँगै लेखापरीक्षकको प्रतिवेदनसहितको ०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको हाे।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताए।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजीबजार विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरबारे जोड दिए।

उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौती समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिए। उनले सेयरधनीले राखेको जिज्ञासालाई सम्बोधन गरेका थिए। ०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ।

कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको सूचना अधिकृत उद्धव सिलवालले बताए।

कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्णरूपमा लागू गरिएको छ।

सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको जानकारी दिँदै नयाँ सफ्टवेयर प्रयोगका लागि आवश्यक उपकरण कोषको प्रणालीमा जडान गरिसकिएको उनले बताए।

कोषमा आबद्ध विभिन्न प्रतिष्ठान, संघ, संगठनबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था मिलाइएको सिलवालले जानकारी दिए। सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्