अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई डेढ करोड डलर दिने

Copy to clipboard
Copied!

काठमाडौँ – अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ।

‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो।

सोहीअनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो।

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुराको सुनिश्चितता गर्न सहयोग गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्