नेतृत्वमा कहिल्यै नरहेका ‘नेता’ प्रदीप गिरि

Copy to clipboard
Copied!

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। क्यान्सरसँग जुध्दै भारतको दिल्ली र मुम्बैमा उपचारमा पुगेका गिरि करिब तीन साताअघि आशामारी नेपाल फर्केका थिए।

काठमाडौँ उत्रिने बित्तिकै सिधै नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका गिरिको शनिबार राति साढे ९ बजेपछि निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसमा बौद्धिकधार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरिले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभंगा,पटना, बनारस र दिल्लीमा झण्डै दुई दशक बिताएका थिए।

बनारस हिन्दु विश्वविद्यालयमा छोटो समय अध्ययनमा पनि संलग्न रहे। गिरि नेपाली कांग्रेसमा बीपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता मित्रलाल गिरिका छोरा हुन्।

भारतमा खासगरी डा. राम मनोहर लोहिया धारका समाजवादी नेताहरूसँग उनको निकट सम्बन्ध रहे पनि नेपालमा भारतको राजनीतिमा कुनै स्थायी संलग्नता उनको कुनै नेतासँग रहेन।

नेपाली कांग्रेसभित्रै रहे पनि स्वतन्त्र चिन्तन, कहिलेकाहीँ झण्डै अराजकहरूसम्मका गतिविधि र नेतृत्वको आलोचनाका कारण उनी दलभित्र अल्पसमूहमै रहने गरे ।

उनका निकट र समर्थकहरूले गिरिलाई क्षमताअनुरूप अवसर नपाएको या पार्टीभित्र प्रजातान्त्रिक मूल्य मान्यतामा योगदान पुर्‍याउन नसकेको व्यक्तित्वका रूपमा लिने गरेका छन्।

अल्पकालीन तीक्ष्ण स्मरण शक्तिका गिरिले मार्क्सवाद, साम्यवादभित्रका समाजवादी आन्दोलन र व्यक्तित्वको गहन विश्लेषणका साथ अनगिन्ति छिटफुट लेख लेखेका छन्।

७५ वर्षीय गिरि २०४६ सालमा बहुदलीय संसदीय व्यवस्था स्थापित भएपछि २०४८ र २०५६ अनि २०६३ पछिको संसदहरूमा उपस्थित रहे।

अप्रिय र आलोचनायुक्त अभिव्यक्तिलाई पनि चित्तबुझ्दो तरिकाले पस्किन सक्ने खुबी भएका गिरि नेपालको राजनीतिक वृत्तमा गान्धीवादी भनिए पनि उनी हिंसात्मक आन्दोलनका विरोधी रहेनन्- सिद्धान्ततः र व्यवहार दुवैमा।

विसं २०३० को दशकमा नेपाली कांग्रेसको सशस्त्र आन्दोलमा उनी सामेल रही ज्यान गुमाएका कप्तान यज्ञबहादुर थापा, राम लक्ष्मणसँग उनको निकटतम सम्बन्ध रहेको तथ्य नेपाली कांग्रेसभित्र खुला जानकारीको विषय हो।

त्यस सन्दर्भमा उनी अक्सर गान्धीको कायरता भन्दा हिंसा श्रेयश्कर हो भन्ने अभिव्यक्तिको उद्धरणद्वारा आफ्नो बचाउ गर्ने गर्थे।

प्रदीप गिरिले मन्त्री पद या नेपाली कांग्रेसको संगठनात्मक दायित्व लिने चाहना कहिल्यै राखेनन्। वास्तवमा २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदमा सामेल हुन उनले गरेको आग्रहलाई गिरिले अस्वीकार गरेका थिए।

नेपाली कांग्रेसभित्र उनी बीपी कोइरालाका आलोचक हुनाका साथै प्रखर प्रशंसक रहे भने गिरिजाप्रसाद कोइरालाका कटु आलोचक। २०४६ र २०६२-०६३ दुवै आन्दोलनमा उनी नेपालमा भन्दा भारतीय समर्थन हाँसिल गर्न त्यहाँको उच्चस्तीय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहे।

खासगरी लोहियको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्राैपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसंगमा अनवरत रूपमा गिरिले पनि उठाइरहे- लेख तथा साहित्यिक गोष्ठीहरूमा। तर, त्यो समझदारी र अनुभव कुनै पनि रूपमा उनको पार्टीमा हस्तान्तरण हुन सकेन।

गिरिलाई भारतदेखि मेडिसिटी अस्पतालमा उनकी पत्नी भारती गिरिले छायाँ जसरी नै साथ दिइरहिन्।

नेपालमा भारतका राजदूत रहीसकेका राकेश सुदले गिरिलाई न्याय र विवेकको पक्षधर भन्दै उनको कमी खड्किने बताएका छन्।

अन्त्येष्टि आइतबार

यसैबीच नेता गिरिको अन्त्येष्टि आइतबार हुने भएको छ। कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्ताले शनिबार शोक वक्तव्य जारी गरेर आइतबार अन्तिम श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा गिरिको अन्त्येष्टि गरिने जानकारी दिएका हुन्।

आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ।

बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति लगिने वक्तव्यमा उल्लेख छ।

कांग्रेसले गिरिको निधनप्रति गहिराे दुःख व्यक्त गरेको छ।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्