चाडपर्व नजिकिएसँगै नक्कली मदिराकाे बिगबिगी, प्रहरीले थाल्यो एक्सन

काठमाडौँ- प्रहरीले चाडपर्व नजिकिएसँगै बजारमा बिक्री हुने नक्कली मदीरा नियन्त्रण लिन सुरु गरेको छ।
नक्कली मदिरा उत्पादन, बिक्री बितरण गरीरहेको विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौँको भक्तपुरस्थित एक फ्याक्ट्रीमा छापा मारेको छ।
फ्याक्ट्रीमा छापा मारी प्रहरीले नक्कली मदिरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
बजारमा नक्कली मदिरा बिक्री भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा नक्कली मदिरा उत्पादन हुने फ्याक्ट्रीको विवरणसमेत खुल्न आएकोले मदिरासँगै ५ जनालाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख भरत बोहोराले बताएका छन्।
यसरी सुरु भएको थियो अनुसन्धान
प्रहरीले भदौ ७ गते अन्दाजी ४ः३० बजे काठमाण्डौँ महानगरपालिका-३२ कोटेश्वरस्थित इलाकामा बिभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री बितरण हुने गरेको भन्ने बिशेष सूचना प्राप्त गर्यो। सूचना पाउनसाथ तत्कालै जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी प्रभाग कोटेश्वरसमेतबाट बिशेष प्रहरी टोली परिचालन गरी प्रहरीले उक्त घट्नामा एक्सन लियो।
प्रहरीलाई आएको विशेष सूचनाका आधारमा नक्कली मदिरा उत्पादन, बिक्री बितरण गर्नेहरुको गिरोह नै सक्रिय रहेको बुझिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।
प्रहरीले सो घट्नामा हरि वली भन्ने ब्यक्तिको संलग्नता रहेको निगरानीबाट खुलेको काठमाडौँ प्रहरी परिसरका प्रमुख बोहोराले बताएका छन्।
वलीको संलग्नता पाइएसँगै प्रहरीले उनकोको डेराबाट बिभिन्न ब्राण्ड (Double Black Label, Black Label and Jack Daniels) का मदिराहरु ४ कार्टुन सिल प्याक गरिएको अवस्थामा फेला पारी बरामद गर्यो। मदिरासँगै प्रहरीले हरि वलीलाईसमेत नियन्त्रणमा लिएकर अनुसन्धान अघि बढायो।
प्रहरीले उनीसँग थप सोधपुछ लगायतको अनुसन्धान कार्य शुरु गर्यो। अनुसन्धानको क्रममा उक्त मदिरा उत्पादन, ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने कार्यमा संलग्न अन्य ३ जना ब्यक्तिहरुकोसमेत पहिचान खुल्यो। घट्नामा संलग्न रहेका अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्भान अघि बढायो।
अनुसन्धानको क्रममा नक्कली मदिरा उत्पादन गर्ने मुख्य ब्यक्तिको पहिचान तथा फ्याक्ट्रीको अवस्थितिसमेत भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-२ दुवाकोट रहेको भन्ने उनीहरुबाट पत्ता लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरसमेतको समन्वय तथा सहकार्यमा प्रहरीले नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादनकर्ता भगवान बस्नेतलाई पनि नियन्त्रणमा लिएको बोहोराले बताएका छन्।
उनका अनुसार पक्राउ पर्नेमा जिल्ला दोलखा कालिञ्चोक गाउँपालिका-९ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका(३२ कोटेश्वर बस्ने वर्ष २४ को हरि वली, भिमेश्वर नगरपालिका-८ स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण बस्ने वर्ष ३९ को भगवान बस्नेत, कालिञ्चोक गाउँपालिका-४ स्थायी घर भई हाल काठमाण्डौं महाबौद्ध बस्ने वर्ष २० को विशाल वली, रामेछाप खाँडदेवी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाण्डौं मूलपानी बस्ने वर्ष २७ को मनोज खत्री र सोहि जिल्ला वडा नं. ९ घर भई हाल काठमाडौँ महानगरपालिका ठमेल बस्ने बर्ष २७ को गोपी श्रेष्ठ रहेको बोहोराले बताएका छन्।
के के सामान बरामद भए?
प्रहरीले उनीहरुको साथबाट डबल ब्लाक ८ बोतल, ब्लाक लेबल ११ बोतल, ज्याक डेनियल व्हिस्की ११ बोतल, गोल्डेन ओएक लेखिएको खाली बोतल ९६ थान, ज्याक डेनियल लेखिएको खाली बोतल २० थान, गोल्डेन ओएक लेखिएको बिर्को ५५ थान, आन्तरिक राजश्व विभाग (LIQUOR) लेखिएको स्टिकर ९२ थान, ब्लाक लेबल लेखिएको बिर्को ४० थान, रेड लेबल लेखिएको बिर्को २३ थान, पेचकस १ थान, बरामद गरेको छ।
त्यस्तै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका २ दुवाकोट स्थित भगवान बस्नेतद्वारा सञ्चालित फ्याक्ट्रीबाट बरामद तयारी सिल प्याक मदिरामा डबल ब्लाक २ बोतल, रेड लेबल ३ बोतल, खुकुरी रम ३ बोतल, ८८४८ भोड्का ९० बोतल लगायतका सामान बरामद गरेको बोहोराले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा उक्त बरामद मदिराहरू नाइट क्लब, लज, डिस्को, बिभिन्न मदिराका डिलरहरु, दोहोरी, डान्सबार लगायतमा बिक्री हुने गरेको पाइएको परिसरका प्रवक्ता एसपि दिनेशराज मैनालीले बताएका छन्।
उक्त घटनाका सम्बन्धमा पक्राउमा परेका ५ नजा ब्यक्तिहरुले कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-७ को म्याद थप अनुमति प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
चाडपर्व नजिकिएसँगै बजारमा नक्कली मदिराको बिक्री बढ्ने गरेकोले यसबाट स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यान दिन काठमाडौँ प्रहरी परिसरले आग्रहसमेत गरेको छ।