कांग्रेसले समानुपातिकमा नदोहोर्याउने, भदौ २० भित्र उम्मेदवारको नाम दिन निर्देशन

काठमाडौँ – कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ। महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्।
थापाले पार्टीलाई जारी गरेको निर्देशनमा भदौ १६ गतेभित्र क्षेत्रीय कार्यसमितिले आफ्नो नाम टुंगो लगाइसक्नुपर्ने छ। क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ गते र जिल्लाबाट आएका नामलाई भदौ २० गतेभित्र आफ्नो रायसहित केन्द्रमा पठाउनु पर्ने उल्लेख छ।
कांग्रेसले मंसिर ४ गते हुने चुनावमा समानुपातिकतर्फ यसअघि २०७४ को चुनावमा अवसर पाएकालाई यसपटक नदोहो¥याउने भएको छ। थापाको निर्देशनमा अघिल्लोपटक समानुपातिकमा नाम भएकालाई सिफारिसमा नपार्न भनिएको छ।
निर्देशनमा उल्लेख गरिएको छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका नागी सिफारिस नगर्ने।’
कांग्रेसले उम्मेदवार सिफासिर गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिन भनेको छ। प्रत्यक्षतर्फका लागि उम्मेदवारको नाम सिफारिस गर्दा एक पदका लागि बढीमा तीन जना र समानुपातिकतर्फको लागि समावेशीतालाई ध्यान दिँदै एक महिलासहित बढीमा दुई जना पठाउन भनेको छ।
गठबन्धन हुँदा छाड्नुपर्ने
कांग्रेसले नाम सबै क्षेत्रबाट उम्मेदवारको नाम मागे पनि गठबन्धन हुँदा अर्को दललाई छाड्नुपर्ने तर्फ सचेत गराएको छ। चुनामी तालमेल गर्दा गठबन्धनका अरु दलको भाग परेका क्षेत्रमा कांग्रेसको उम्मेदवार नहुने थापाले प्रष्ट पारेका छन्।
उनले पत्रमा भनेका छन्, ‘प्रत्यक्षतर्फको आगामी निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुका विचमा तालमेल गर्ने निर्णय गरेको व्यहोरा अवगत नै छ। सोही निर्णय अनुसार, सत्ता गठवन्धनमा रहेका दलहरुका विचमा हुने सहमती बमोजिम प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको प्रत्यक्षतर्फको सीटको बाँडफाँड गरिए अनुसार मुलुकका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार खडा गरिने छ। देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये जुनजुन निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेका अन्य दलको उम्मेदवार रहने भनी सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा सहमती हुन्छ, सो निर्वाचन क्षेत्रमा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी रहने छैन।’