बाराकाे एक विद्यालय जहाँ चार सय विद्यार्थीले चिसो भुइँमा बसेर अध्ययन गर्छन्

Copy to clipboard
Copied!

बारा – बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन्।

स-साना बालबालिकाहरू चिसाे भुइँमा बसेर सुनाैलाे भविश्यकाे यात्रा तय गर्नुपर्ने यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ। पटक-पटक स्थानीय सरकारलाई सहयोगकाे लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेकाे स्थानीयकाे भनाइ छ।

तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएकाे छैन। यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनकाे चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। यसरी पढ्दा बालबालिकाकाे स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक सारदा सिंहले गुनासो गरिन्।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन। विद्यार्थी राखेर पढाउन कक्षाकाेठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ। जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ।

विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ।

हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारकाे नजरमा समेत याे विद्यालय परेकाे छैन्। साेही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ।

विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरणनै देखिँदैन्। चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न अघिल्लाे सरकारका जनप्रतिनिधिलाई भने पनि ध्यान नदिएकाले आदर्श कोटवाल गाउँपालिका-५ का हालका वडा अध्यक्ष रुपेश नारायण सिंह बताउँछन्।

विद्यालयमा अहिले जम्मा चार वटा कोठा छ। प्रशासनिक भवन अर्को भवनमा छ जसमा एउटा कोठामा निर्माण सामाग्री राखिएका छन्। सोही कोठामा विद्यालयको अफिस पनि छ। गाउँपालिकाले विद्यालय सुधारमा चासाे नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ।

आदर्श कोटवाल गाँउपालिका प्रमुख जवाहरप्रसाद साहले चाडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्या चाडै समाधान निकाल्ने बताए।

धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ। आदर्श कोटवाल गाँउपालिकामा रहेको यस आधारभुत विद्यालयको नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुँइमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्