दाङका ६ पालिकाको १६ मतदान स्थल पायक पर्ने ठाउँमा सारिने

Copy to clipboard
Copied!

दाङ – प्रतिनिधिसभा र प्रदेशसभा निर्चानकाे मिति घाेषणा पश्चात् निर्वाचनकाे तयारी सुरु भएको छ। जसअन्तर्गत पहिलो चरणमा मतदमन स्थल पायक पर्ने स्थानमा व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको छ।

स्थानीय तह निर्वाचनमा मतदान स्थल टाढा हुँदा भाेट खसाल्न एक दिन अघिनै पुगेर बास बस्नुपर्ने बाध्यता थियाे। अब त्याे बाध्यता हटाउन मतदान स्थल थप गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख एवम् अध्यक्ष, सुरक्षा निकाय प्रमुखहरूसँग दाङमा मतदान केन्द्र र स्थलको अवस्था र पुनरावलोकन बारेमा छलफल गरी निष्कर्ष निकालिएको छ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन संचालन कार्यविधिका बारेमा राजनीतिक दलहरूलाई जानकारी गराइएको छ।

निर्वाचन प्रयोजनका लागि यसअघि तोकिएका मतदान स्थल थप नगर्ने गरी केही अपायक ठाउँको विकल्प खोज्दै सबैको सहमतिमा फरक ठाउँमा मतदान स्थल तोकिएको छ। जसअनुसार जिल्लाका ६ वटा पालिकाका १६ वटा मतदान स्थललाई पायक पर्ने स्थानमा सारिएको छ।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार यसअघि गठित कार्यदलले गरेको सिफारिसका आधारमा गढवामा ४ वटा, घोराहीमा ३ वटा, तुलसीपुरमा १ वटा, बंगलाचुलीमा ५ वटा, राप्ती गाउँपालिकामा १ वटा र शान्तिनगर गाउँपालिकामा २ वटा गरी १६ मतदान स्थललाई पायक ठाउँमा सारिएको छ।

निर्वाचन आयोगले समयको अभावका कारण तयारी नपुग्ने भन्दै साविककै संख्यामा रहने गरी अपायक ठाउँमा भएका मतदान स्थलको मात्रै विकल्प खोज्न सकिने गरी परिपत्र गरेपछि जिल्लामा पनि मतदान केन्द्र नथपिएको उनले बताए।

बैठकमा पालिकाका जनप्रतिनिधिहरूले प्रदेश र संघीय निर्वाचनलाई थप व्यवस्थित बनाउन पालिका पनि गम्भीर रहेको बताउँदै मतदाता शिक्षा, निर्वाचनको महत्वका बारेमा गाउँगाउँमा सचेतना फैलाउने बताए। निर्वाचन सुरक्षा तथा मतदाताको पहुँचलाई ख्याल गर्दै मतदान स्थल हेरफेर गरिएको राजनीतिक दलहरूको भनाइ छ।

वैशाख ३० गते भएको निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो। बैठकमा जिल्लाका सबै राजनीतिक दल, पालिकाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, रणसिंह गणका प्रमुख सेनानी रविन्द्र महर्जन, राष्ट्रिय अनुसन्धानका अधिकृत लगायतको उपस्थिती रहेको थियो।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार असार १ गतेबाट सुरु भएको मतदाता नामावली संकलन अभियानमा ९ हजार २ सय मतदाता थपिएका छन्। यसअघि ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका थिए। निर्वाचन आयोगको सिफारिसमा सरकारले मंसीर ४ गते दुवै तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ।

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्