टरिगाउँ एयरपोर्टमा तालाबन्दी, विमानमा तेल भर्ने बाउजर फिर्ता हुन थालेकाे भन्दै विराेध

Copy to clipboard
Copied!

दाङ – टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजान थालेपछि तालाबन्दी गरिएको छ।

उपमेयर श्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले टरिगाउँ एयरपोर्टमा रहेको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाट तालाबन्दी गरिएको छ।

आइतबार बाउजर मेसिन फिर्ता लैजान थालेको कुरा सार्वजनिक भएपछि उपमेयर चौधरी, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली टरिगाउँ एयरपोर्टमा पुगेको थियो।

त्यसक्रममा उपमेयर चौधरीले कुनैपनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भएका बाटोमै सुत्ने बताइन्।

विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो। त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यावसायी सबै विरोधमा उत्रिएका हुन्।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

अध्यक्ष रामप्रशाद चालिसे र महासचिव विनिल केसी लगायतले टरिगाउँ एयरपोर्ट परिसरमै प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्