कतै दिवाखाजा पाक्छ, कतै पाक्दैन

विद्यालयमा ‘जंकफुड’ निषेध, चमेना गृहमा भेटिन छाड्यो चाउचाउ र चिप्स

विद्यालयमा चना र अण्डा खाजा खाँदै विद्यार्थी।
Copy to clipboard
Copied!

दाङ – विद्यार्थी प्रतिमा आचार्यले चाउचाउलाई आफ्नो खाजाको रूपमा लिन्थिन्। जहाँ पनि पाईने र सजिलै खान सकिने भएपछी उनले चाउचाउलाई खाजाको रूपमा लिएकी थिइन्। तर, साउन एक गतेदेखी विद्यालयको क्यान्टिनमा चाउचाउ, कुरकुरे, चिप्स जस्ता खानेकुरा पाइन छाड्यो। त्यसपछी प्रतिमाले आफ्नो खाजामा गहुँको पिठोबाट बनेको रोटी तरकारी, चना, अण्डा प्रयोग गर्न थालेकी छिन्।‘मध्यान्तरमा खाजा खानुपर्यो भने चाउचाउ रोजिन्थ्यो। अहिले त त्यो विद्यालयमा पाइँदैन । जंक फुड निषेध भयो’उनले भनिन्,‘घरबाट बनाएर ल्याएको खाजानै मिठो हुन थाल्यो।’

राप्ती गाउँपालिकाले विद्यालयमा खाजाको रूपमा जंक फुडलाई प्रयोग गर्नबाट निषेध गर्यो। जसले गर्दा अहिले विद्यालयको चेमना गृह र विद्यालय हाता भित्र जंकफुड बिक्री वितरणमा रोक लगाइएको छ। विद्यार्थीले घरमै बनाएको खानेकुरालाई खाजाको रूपमा प्रयोग गर्न थालेका छन्। तर, सबै विद्यार्थी, अभिभावक र चमेना गृह सञ्चालकहरूलाई जंकफुडले गर्ने असर र प्रभावको बारेमा जानकारी दिनुपर्ने देखिएको छ।

राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले विद्यालयमा जंकफुडलाई निषेध गरेपछीको अवस्था बुझ्न स्थलगत अध्ययन गरिएको छ। सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाको पाँच कक्षा मुनीका विद्यार्थीहरूले धेरै मात्रामा पानीजुस खाने गरेका छन्। यो जुसको बारेमा अध्ययन भएको छैन्। चेमनागृहमा खाजामा चाउमिन, डोनट, पकौँडा, समोसा बन्दै आएको छ। विद्यार्थीले चाउमिनलाई आफ्नो प्रमुख खाजाको रूपमा प्रयोग गर्ने गरेको चमेना गृह सञ्चालक कमला सुवेदीले बताइन्।‘चाउचाउ राख्न छाडेको त एक वर्षभन्दा बेसी भइसक्यो। सरहरूले नराख्नुस् भनेपछी राखेका छैनौँ’उनले भनिन्,‘जंकफुड नबेच्ने भन्नु भएको छ। के पर्छ, के पर्दैन सबै कुरा थाहानै छैन्।’

विद्यालयमा करिब एक हजार दुई सय विद्यार्थी छन्। ती विद्यार्थीलाई खाजाको रूपमा घरमा बनाएको खानेकुरा ल्याउन भनेको विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए।’हाम्रो विद्यालयमा चाउचाउ र कुरकुरे पहिलानै निषेधित गरेका थियौँ। अहिले त्यो निषेधितनै छ’उनले भनिन्,‘अहिले गाउँपालिकाले सम्पूर्ण जंकफुड निषेधित गर्ने सूचना जारी भएको हुनाले विद्यार्थीले घरबाटै खानेकुरा ल्याएर आउछन्।’

आदर्श नमूना माध्यमिक विद्यालयमा पनि जंकफुड बिक्री वितरणमा रोक लगाएको पाइयो। चमेनागृहमा खाजाको रूपमा जेरी, समोसा पाकेको थियो।‘चाउचाउ बिक्री गर्न त ठ्याम्मै रोकिएको छ’ चमेना गृहका सञ्चालक पूर्णबहादुर रावतले भनिन्,‘केही दिन विद्यार्थीले चाउचाउ मागेर हैरान पारे। अब पाइँदैन भन्ने थाहा पाएपछी माग्नै छाडे।’

राप्ती गाउँ कार्यपालिकाको असार १९ गते बसेको कार्यपालिका बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लाष्टिकका फूल, खादा आदी तथा कोल्ड ड्रिङक, जंकफुडहरूको प्रयोग नगर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि पालिकाले जारी गरेको निर्देशन पालनाको चरणमा रहेको छ। जंकफुडकाे सट्टा स्थानीय स्तरमा उत्पादन हुने फलफूल, अन्न, अण्डा, तरकारी तथा दाल, सागसब्जी, गोभी, काउली, आलु, केराउ, चना आदीबाट बनेका खाना तथा खाजा मात्र बिक्री वितरण निर्देशनमा उल्लेख छ।

पालिकाभित्र ३१ वटा सामुदायिक र १५ वटा संस्थागत गरी ४६ वटा विद्यालय रहेको छन्। स्थानीय उत्पादनको बजारीकरण गर्न र स्वस्थ जीवनयापनको लागी जंकफुडलाई निषेध गर्नुपरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।‘हाम्रो मुख्य लक्ष भनेको स्थानीय उत्पादनलाई बृद्धि गर्ने र त्यसको बजारिकरण स्थानीय स्तरमै गर्ने हो। जसको लागी हामीले जंकफुडलाई निषेधीत गरेका छौँ’उनले भने,‘विद्यालयबाट यसको सुरुवात भएको छ। हाम्रो पालिका, स्वास्थ्य संस्था, वडा कार्यालयहरूमा पनि यो लागु गरेका छौँ। जंकफुडले फाईदा गर्दैन। स्वास्थ्य बिग्रिन्छ। त्यही भएर यसको विकल्पमा स्थानीय उत्पादीत खानेकुरा खान प्रोत्साहन गरेका छौँ।’विद्यालयमा जंकफुड निषेध गर्ने अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी र अभिभावकको विचमा जनचेतना कार्यक्रम अभियानकै रुपमा चलाउनुपर्ने देखिन्छ।

कतै दिवाखाजा पाक्छ, कतै पाक्दैन

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम लागु भएको छ। तर, राप्ती गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएपनि केही विद्यालयले खाजा पकाएर खुवाउन अटेरी गरेको पाइएको छ। प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजा खुवाउने नीति छ। तर, कतिपय विद्यालयले त्यसमा अटेरी गरेका छन्। विद्यार्थीलाई नगद वितरण गर्ने र घरबाट खाजा लिएर आउन भनेको पाइएको छ। सर्वाेदय माध्यमिक विद्यालयमा दिवाखाजा यस वर्षदेखी पाक्न छाडेको छ। यता राप्ती गाउँपालिका-२ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयलमा भने दैनिक फरक फरक खाजा पकाएर खुवाउने गरिएको पाइएको छ।

राप्ती गाउँपालिकाका कार्यालय।

शुक्रबार विद्यालयमा दिवा खाजाको रूपमा उसुनेको अण्डा र चना खुवाइएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले जानकारी दिए।‘हरेक दिन फरक स्वादको खाजा पाक्छ। सरकारले दिएको रकमले पुग्दैन। तर, पनि विद्यार्थीलाई खाजा खुवाउन छाडेका छैनौँ’उनले भने,‘विद्यालयमा जंकफुड बन्द छ। क्यान्टिनमा समेत त्यस्तो कुरा राख्न दिएका छैनौँ।’

आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण पोख्रेल।

राप्ती गाउँपालिकाले जंकफूड निषेध लगायतको अनुगमन गर्न उपाध्यक्ष कमलापती चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ। सो समितिले समय समयमा अनुगमन गर्ने योजना बनाएको उपाध्यक्ष चौधरीले बताइन्। दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्माले बताए। ‘साढे ११ रुपैयाँ खाजा तयार गर्न सकिन्छ। विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउन सकिन्छ भनेर नै यो प्राब्धान लागु भएको हो।’उनले भने,‘दिवा खाजा कार्यक्रमको हामीले अनुगमन गर्छौँ। समस्या देखिए समाधान गर्ने योजना बनाउछौँ।’

सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयमा खाजाको अवस्था सुधार गर्नुपर्ने देखिएको शिक्षा शाखाका प्रमुख विश्वकर्माले बताए ।‘अभिभावकले पनि जंक फूड किनेर दिन सजिलो मान्ने बानी छ। यो बानी हटाउनुपर्छ ’उनले भने,‘संस्थागत विद्यालयमा पुग्दा साना नानी, बावुले चाउचाउलाई खाजाको रुपमा खाएको फेला पारेका थियौँ। पछी निर्देशन दिएर खाजाको रूपमा चाउचाउ हटाउन लगायौँ।’

साउन १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्