कविता

महाभाराको पारा

Copy to clipboard
Copied!

कहिले पुस्तक पसलतिरबाट
कहिले चिया पसलतिरबाट
कतै सानो-सानो गन्थन मन्थनको
पुस्तक वार्ताबाट
कहिले सडक, गल्लीको किनाराबाट
यता हिन्दै गर्दा, उता डुल्दै गर्दा
विगत केही समयदेखि मेरो कानमा
बारम्बार एउटा प्रश्न आइरहेको छ
‘साँच्चीकै नढाँटी भन्नुस न’
यो महाभारा भन्ने उपन्यास कस्तो छ?

प्रश्नकर्ताको प्रश्न
नेट काटेर आएको भलिबलझैँ लाग्छ
त्यस बललाई म उतैतिर फर्काईदिन्छु
तिमी नै भन न मित्र
तिमीलाई चाँहि यो उपन्यास कस्तो लाग्छ?

सीतापाइलाकी पुस्तकप्रेमी सीताले भनिन्-
यो उपन्यास पढ्दै जाँदा
पहिलो पालाकी सुत्केरीले चपाउँदै गरेको
अनदीको पुवाजस्तो,
शेर्पादाईले चौरीगोठमा पकाएको
खुवाजस्तो,
आकासगंगाको तिरैतिर उड्दै गरेको
सिमलको भुवाजस्तो,
ठाडीभन्दा ठाडी नै दाउ लागेको
जुवाजस्तो,
कहीँ कतै पनि नबिजाउने
तकियाभित्रको कमलो रुवाजस्तो ।

ज्ञानको खोजीमा भौँतारी रहने
ज्ञानेश्वरका ज्ञानबहादुरले भने-
हैन हैन, यो उपन्यास
एउटा डाँडाबाट अर्को डाँडासम्म
बिजुलीको पोलमाथि तार टाँगेर
करेन्ट प्रवाह गरेजस्तो,
छिनमै झ्याप्पै अँध्यारो हुने
छिनमै चम्किलो हुने
त्यही उज्यालोमा चाँहि सारै खुसी लाग्ने
कुलमान आउनुभन्दा पहिलेको
लोडसेडिङ जस्तो
उकुल झुकुल कोहीबेला
काखीमा डालो च्यापेर
बदाम बेच्न हिँडेकी भूपु मायालु देख्दा
मुसुक्क मुस्कान छाड्दै
अलिपर पुगेपछि
बाडुल्की लाग्लाजस्तो
बुझ्याै महाभारा यस्तो पो।

बालाजुका अध्यानशील बाजेले भने-
यो उपन्यास
चैतमासको खडेरीमा
दुखले फुलेको
बुढो सिमलको हाँगाजस्तो
अलि अलि पुस्तक पढेर
टाइमपास गर्ने
ठमेलका ठट्टाकाजी बोले
मंसिरको आदाउदी समयतिर
पहाडको काखीबाट झर्दै गरेको छाँगाजस्तो।

पुस्तकमा सारै आनन्द मान्ने
मैतीदेवीकी मैयाँले भनिन्-
पहाडको पर्वत मालामा फुलेको सुनखरीलाई
मुसुरो बारीको भमराले नचिनेजस्तो,
तर अँगालोभरि बैँस बोकेको
एउटा सोझो लक्का जवानलेझैँ
तरुनी छेउमा आइदिए
फकाई-फकाई पिरती लाउलाजस्तो

यसो फुर्सदमा पुस्तकका पाना पल्टाउने
इन्द्रचोककी इन्द्रमायाले भनिन्-
जति छेउमै पुगे पनि
आइ लभ यु भनी हाल्न चाँहि
मुटु कमाउलाजस्तो।

सुर्यविनायकका सूर्जेबहादुरले भने-
झट्ट हेर्दा अनि पढ्दै जाँदा
यो उपन्यास
न कुनै पार्टीको बाउजस्तो
न त राजनीतिको राउजस्तो
न त धर्मको पाउजस्तो
न त सम्पत्तिको साउजस्तो
एक्लै एक्लै भौतारिएर थकित भएर
गाडीभित्र लत्रक्क लत्किएर
कतै पर्वततिर उकालो लागेको
एउटा यात्रीजस्तो
कतै हंस नपुगेको सपना जस्तो
कतै वंश भेटिएको बिपनाजस्तो
वसन्तको पालुवामा रमाउने
प्रकृति अनि कृति प्रेमी।

तीनकुनेका तीन भाइ
मेरो छेउमा सुटुक्क आए
अनि एउटा गीत गाए
महाभारा पर्वत मालामा
वसन्त लुसुक्क पसेर
एक थुङ्गा फूल फुलायो
त्यही फूलको थुंगामा
सयौँले आँखा डुलायो
फूलको आफ्नै रंग छ
फुल्ने आफ्नै ढंग छ
के तिमी नजिक आयौ त?
फुलको पत्ता छोयौ त ?

कोही भन्छन् यो फूलमा
पिरतीको सुगन्ध छ।
कोही भन्छन् यो फूलमा
बारुदको दुर्गन्ध छ।

साउन ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्