चैते धान भित्राउन किसानलाई भ्याई-नभ्याई

Copy to clipboard
Copied!

दाङ- किसान घरमा भन्दा खेतमा बढी समय बिताइरहेका छन्। धान रोपाइँमा किसान व्यस्त भइरहेका बेला दाङकै बंगलाचुली गाउँपालिकाका किसानलाई भने पाकेको धानबाली भित्र्याउन भ्याई-नभ्याई छ।

अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन व्यस्त भएका हुन्।

सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न पाउँदा दंग छन्। विगतका वर्षभन्दा यो पाली धानबाली राम्रै भएको छ। धान रोप्दै खेतमा नयाँ वर्ष मनाएका उनीहरू असारको तेस्राे सातामा धान पाकेपछि स्याहार्न व्यस्त भएका हुन्।

खोला छेउका डाबरहरूमा चैते धान रोप्दै आएका कृषकहरूले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिँदै आएका छन्।

कृषक रत्नबहादुर थापाले चैते धानको खेती गर्न थालेको धेरै भइसक्यो। खेतमा पानी सिँचाइ राम्रो भएपछि उनले चैते धान लगाउन थालेका हुन्। यो ठाउँका कृषकले वर्षमा तीन बाली भित्राउने गरेका छन्।

अहिले रोपेको चैते धान असारको तेस्राे साता काटेपछि बर्खे धान रोप्ने गरेका छन्। साउनको पहिलो साता रोपेको धान कार्तिक मंसीरमा काटेलगत्तै फेरी गहुँ छर्ने गरेको थापाले बताए। चैतको दाेस्राे साता गहुँबाली काटेपछि चैते धान रोपिएको थियो। त्यही बाली उनीहरू भित्राइरहेका छन्।

‘विगत वर्षभन्दा यो पाली बाली निकै सप्रिएको छ। मेहनत अनुसार फलेको छ, खुसी छौँ’, कृषक थापाले भने, ‘खेतबारीमा मेहनत गर्ने हो भने वर्षमा ३ बाली राम्ररी भित्राउन सकिन्छ।’

अरूतिर भर्खर धान रोपाइँ चलिरहेका बेला आफूहरू धान काटेर फेरि धान रोप्ने अवस्थामा रहेको उनको भनाइ छ। खेतको छेउमा ब्याड तयार हुन लागिसकेको छ। केही दिनमै ब्याड रोप्ने हुनेछ।

बंगलाचुली-४ की रेश्मा गिरीले सुका खोलाको आडमै रहेको खेतमा पाकिसकेको धान बाली स्याहार्न व्यस्त छिन्। उनका साथै अरू ४ जना पनि धानबाली स्याहार्न व्यस्त छन्।

खेतमा पाकेको धानबाली काट्दै धान स्याहार्नु अहिलेको दिनचर्या बनेको उनले बताइन्।

उनले भनिन्, ‘अस्ति भर्खर धान रोपेको जस्तो लागेको थियो, पाकेर काट्ने पनि भइहाल्यो। अब धानबाली भित्राउने अनि फेरि यही खेतमा धान रोप्ने हो। काम त कति हो कति!’

अधिकांश स्थानीयले विन्देश्वरी जातको धान रोप्ने गरेका छन्। यो धान खानका लागि पनि निकै राम्रो हुने गरेको उनीहरू बताउँछन्।

‘बजारमा पाइने मसिनो चामलजस्तो त हुँदैन तर, मीठो अनि अडिलो हुने हुँदा गाउँघरमा हामीले रुचाउने गरेका छौँ’, उनले भनिन् ‘किसानहरूका लागि यो धानको भात निकै राम्रो हुने रहेछ। त्यही भएर पहिलेदेखि नै यही धान रोप्दै आएका छौँ।’

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ।

यसका लागि स्थानीय सरकारले कृषकलाई चैते धान उत्पादनका लागि प्रोत्साहन नगरे पनि स्थानीय कृषक परम्परागत रूपमा यसलाई निरन्तरता दिँदै आएका छन्।

जसका कारण धेरै ठाउँमा खेत बाँझै रहेको सुन्ने गरिए पनि यहाँका किसानले भने खेत बाँझो राख्नु हुन्न भन्ने मान्यता स्थापित गरेका छन्।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्