'विद्यालय तहदेखि नै फोहोर व्यवस्थापनबारे पढाउनुपर्छ'

घरमै फोहोर छुट्याउनेबित्तिकै ‘समस्या समाधान भइहाल्छ’

काठमाडौँको टेकुस्थित फोहोर प्रशोधन केन्द्र।
Copy to clipboard
Copied!

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले जेठ २७ गते महानगरवासीलाई कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक अपील गरे। कुहिने र नकुहिने फोहोर नछुट्याइए फोहोर नउठाउने उनको भनाइ थियो।

नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले लामो समयदेखि सो ठाउँमा फोहोर फाल्न नदिएसँगै काठमाडौँमा जताततै फोहोर थुप्रिएको बेला मेयर शाहको यस्तो अपिलले नगरवासी अब फोहोर उठ्ने भयो भनेर केही उत्साहित भए।

मेयर शाहको अपीलअनुसार कतिपय नगरवासीले भने कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राखे पनि। तर कुहिने र नकुहिने फोहोर उठाउन एउटै गाडी आउने भएपछि फोहोर छुट्याउनुको औचित्य नभएको स्थानीय बताउँछन्।

मेयर शाहले अपीलका क्रममा कुहिने र नकुहिले फोहोर छुट्याएर राख्नुपर्ने र फोहोर लिन आउने गाडी पनि छुट्टाछुट्टै आउने बताएका थिए। तर उनले अपिल गरेको एक साताभन्दा बढी बितिसक्दासमेत नगरपालिकाले छुट्टाछुट्टै गाडीको व्यवस्था गर्न सकेको छैन।

स्थानीय भने कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि महानगरपालिकाको छुट्टै गाडी नआएपछि बाध्य भएर एउटै गाडीमा पठाउने गरेको बताउँछन्।

महानगरको फोहोर उठाउने गाडीलाई हेर्ने हो भने एउटै गाडीमा पनि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्ने गरेको देखिन्छ। तर यस विषयमा स्थानीय भने बेखबरजस्तै छन्।

के भन्छन् स्थानीय?


काठमाडौँ महानगरपालिका-२ का रातोपुलका स्थानीय नेत्रकुमार कार्की कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न सहज नभएको बताउँछन्।

‘फोहोर छुट्याएर राखेर मात्र के गर्नु र? नगरपालिकाको गाडी समयमा फोहोर लिन आउने होइन। आए पनि कुहिने र नकुहिने फोहोर लिन छुट्टै गाडी आए पो छुट्याएर राख्न पनि मन लाग्छ,’ घरको एक कुनामा थुप्रिएको फोहोर देखाउँदै उनी भन्छन्, ‘यहाँ हेर्नुस् न फोहोरमा भुसुना भन्किएको। अहिले अझ आँपको सिजन छ खान मन लागिहाल्छ, खायो लास्टमा फोहोर फाल्नकै हैरान।’

उनी थप्छन्, ‘फोहोरमा यस्तो भुसुना उठेको छ। अब यसलाई कसरी घरमै कसरी राखिराख्नु? व्यवस्थापन त गर्नु पर्‍यो नि होइन? तपाईं आफै भन्नुस् त।’

त्यस्तै ओखलढुंगाबाट अध्ययनका लागि आएर काठमाडौँमा कोठा भाडामा बस्दै आएकी नोरा अधिकारीको दुःख पनि उस्तै छ।

‘एउटा सानो कोठामा बसिएको हुन्छ, कुहिने र नकुहिने फोहोर छुट्याएर राख्यो कोठा नै सबै गनाउन थाल्छ। बस्नै सकिँदैन। अन्तिममा जति गरे पनि एकै ठाँउ फाल्न पर्छ,’ उनी भन्छिन्, ‘हामी कोठामा बस्ने भएकोले कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्छु भन्ने कुरा पनि हुँदैन।’

काठमाडौँमा सीमित ठाउँकै कारण पनि कुहिने र नकुहिने फोहोर छुट्याउन समस्या भएको स्थानीयको तर्क छ। कुहिने फोहोरबाट मल बनाउनै समस्या र बनाए पनि उक्त मल कहाँ प्रयोग गर्ने भन्ने समस्या रहेको स्थानीय बताउँछन्।

कतिपय स्थानीयले भने रात्रिकालीन समयमा बोटोमा, पुलको मुनिलगायतका स्थानमा सवारीसाधनमा लगेर फोहोर फ्याँल्ने गरेको छन्। तर विज्ञहरु भने त्यस्तो हर्कतलाई मानिसको बदमासी र चेतना नभएको रुपमा लिन्छन्।

प्रयोगविहीन फोहर प्रशोधन प्लान्ट


युरोपियन युनियन (इयु)ले काठमाडौँको टेकुमा २०७३ सालमा फोहर प्रशोधन प्लान्ट बनाइदिएको छ। इयुको ८० प्रतिशत अनुदानमा स्थापित उक्त डाइजेष्ट प्लान्ट महानगरको वातावरण विभागको स्वामित्वमा छ।

दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्ने सक्ने भनिएको प्लान्टले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास र १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो।

काठमाडौँ महानगरपालिकाको २० प्रतिशत लगानी र इयुको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाखको यो परियोजना हाल आएर प्रयोगविहीन छ। मेसिन प्रयोगविहीन हुनुमा व्यवस्थापकीय कमजोरी रहेको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट बताउँछन्।

प्लान्ट किन प्रयोगमा आउन सकेन भन्ने प्रश्नमा उनी भन्छन्, ‘यसलाई भन्दाखेरि व्यवस्थापकीय कमजोरी भन्नुपर्छ। यो सञ्चालन पनि भएकै हो केही समयसम्म। अनि त्यसपछि बजेट सबै कुराहरुको प्राविधिकको अभावले गर्दाखेरि बन्द हुन पुग्यो।’

उनी भन्छन्, ‘यो डेढ वर्षसम्म राम्रोसँग सञ्चालन भएको हो। यसमा प्रयोग हुने कच्चा पदार्थ भनेको तरकारी जन्य अर्गानिक फोहोर मात्रै हो। त्यसलाई पनि हामीले त्यहाँ छान्ने विधि प्रक्रियाहरु सबै थियो। मेसिनरी चिज बिग्रिएकै कारणबाट मर्मत नभएको, समयमै मर्मत नभएका कारणले गर्दा यो थन्किएकै हो। लगभग ५ वर्षदेखि थन्किरहेको छ।’

के भन्छन् विज्ञ ?


विज्ञहरु भने काठमाडौँको फोहोर व्यवस्थापन त्यति ठूलो चुनौतीको विषय नभएको बताउँछन्। काठमाडौँको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्ने हो भने घरबाटै सुरु गर्नुपर्ने वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राई बताउँछिन्।

‘फोहोर व्यवस्थापनको मुख्य विन्दु भनेको फोहार उत्पादन हुने स्थलबाटै व्यवस्थापन हुनुपर्छ भन्ने एउटा कन्सेप्ट हो र फोहोर व्यवस्थापनको लागि एउटा मुख्य गर्नुपर्ने स्टेप पनि फोहोरको पृथकीकरण गर्ने काम नै हो,’ उनी भन्छिन्, ‘हामीले शहरबासीलाई के भन्या छौँ भने सकेसम्म घरमा व्यवस्थापन गरौँ र कम फोहार उत्पादन गरौँ, त्यता पनि हामीले शहरबासीलाई प्रोत्साहन गर्ने बेला आएको छ। भरसक फोहोर नै उत्पादन कम गरौँ।’

त्यस्तै वातावरण विज्ञ भुषण तुलाधार काठमाडौँको फोहोर व्यवस्थापन महानगरले चाहेमा सजिलै व्यवस्थापन गर्न सक्ने बताउँछन्।

‘सबैभन्दा सुरुमा त व्यक्तिहरुले घरबाट निस्किएको फोहोर नै सही तरिकाले व्यवस्थापन गर्नुपर्‍यो। व्यवस्थापन भनेको सुरुमै कुहिने नकुहिने फोहोर छुट्याएर राखिदिनु पर्‍यो,’ तुलाधर भन्छन्, ‘घरबाट नै फोहोर छुट्याएर राख्ने हो भने दीर्घकालीन व्यवस्थामा खासै समस्या आउँदैन।’

छुट्याइएको फोहोरबाट कुहिने फोहरलाई प्रशोधन गरेर त्यबाट ग्यास निकाल सकिने, मल बनाउन सकिने जस्ता कार्यको लागि प्रयोग गर्न सकिने उनी बताउँछन्। घरबाट निस्कने फोहोरसँगै सार्वजनिक स्थानमा हुने फोहोरका लागि पनि एउटा सामान्य डस्टविनकै भरमा व्यवस्थित गर्न सकिने उनको भनाइ छ।

‘महागरपालिकाले कानुन बनाएर कडाइका साथ कार्यन्वयन गर्ने हो भने फोहोर व्यवस्थापनमा कुनै समस्या नै छैन र त्यो महानगरले गर्न पनि सक्छ,’ उनी भन्छन्, ‘सार्वजनिक स्थानमा डस्टविन राखेर फोहोर व्यवस्थापन गर्नु महानगरको लागि त्यति ठूलो कुरा होइन। हामीले दीर्घकालीन फोहोर व्यवस्थापनको लागि गर्ने पनि यही हो। फोहोर निस्किने ठाउँबाट छुट्याइनु पर्छ।’

त्यस्तै अर्का विज्ञ श्रीकमल द्विवेदी फोहोरको दीर्घकालीन व्यवस्थाको लागि विद्यालय तहबाटै सिकाइनु जरुरी रहेको बताउँछन्।

‘फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने सोच हो भने हामीले विद्यालय तहका बालबालिकाहरुलाई सिकाउन जरुरी छ। उनीहरुलाई विद्यालयदेखि जे शिक्षा दियो त्यहि नै व्यवहारमा उतार्छन्,’ उनले जापानको उदाहरण दिँदै भने, ‘जापानमा पनि उनीहरुले गर्ने उही हो। बालबालिकाहरुलाई विद्यालयमा नै सबै कुरा सिकाइन्छ। त्यहाँ विद्यालय सरसफाइको लागि भनेर मान्छे राखिएको हुँदैन। बालबालिका आफैले गर्छन्। फोहोर सफा गर्न कतिको गाह्रो छ भन्नेकुरा बुझ्नु पर्‍यो नि! तब मात्र मानिसले फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भनेर थाहा पाउँछ।’

अहिले फोहोरलाई कुहिने र नकुहिने गरी दुई प्रकारमा मात्र छुट्याइएका कारण यतिले मात्रै दीर्घकालीन फोहोर व्यवस्थापन नहुने उनी बताउँछन्।

‘कुहिने र नकुहिने गरी दुई तरिकाले फोहोर छुट्याइएको छ, तर त्यतिले मात्रै पुग्दैन। नकुहिने फोहोरमा पनि मेटर, ग्लास, टक्सिकहरु छुट्याउनु पर्छ,’ उनी भन्छन्, ‘हेभी मेटल हुने किसिमका ब्याट्रीहरु, लिड, जिंक आदिलाई पनि कसरी छुट्टै प्रशोधन गरेर त्यसको व्यवस्थापन गर्न सकिन्छ भन्नेकुरा सोच्नुपर्‍यो। टक्सिक सामानहरु कसरी प्रशोधन गर्न सकिन्छ भन्ने कुरा सोच्नै पर्छ।’

घरबाटै निस्किएको कुहिने फोहोरबाट मल बनाउन सकिने र उक्त मल कौशी खेती, बोटविरुवा वा आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकिने उनी बताउँछन्।

काठमाडौँमा सीमित ठाउँ छ, यस्तोमा फोहोर प्रशोधन गरेर बनाइएको मल केमा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने प्रश्नमा उनी भन्छन्, ‘व्यक्ति आफूले त्यसलाई व्यवस्थापन गर्न सकेन भने पनि छुट्याएर राखेको फोहोर त महानगरले उठाउँछ, त्यसको प्रशोधन गर्छ। देशमा मलको हाहाकार भएको बेला प्रशोधन गरेर त्यसबाट मल बनाउन पनि सकियो, ग्यास निकाल्न पनि सकियो।’

उनी थप्छन्, ‘फोहोर प्रशोधन र व्यवस्थापनमा चाहिँ हामीलाई समस्या छ भन्छौँ। अनि लगानी गरेर रसायनिक मल चाहिँ बाहिरबाट किनेर ल्याउँछौँ। त्यो कुरा पनि त बुझ्नु पर्‍यो।’

फोहोर व्यवस्थापनको कुरामा मानिसहरुमा चेतना कम भएको उनको बुझाइ छ। महानगरले नीति नियम बनाएर कडाइका साथ लागू गर्नुभन्दा पनि मानिस आफै सचेत हुन जरुरी रहेको उनी बताउँछन्।

‘कुहिने र नकुहिने फोहोर लिन एउटै गाडी आउँछ किन छुट्याउनु भन्ने होइन। महानगर एउटै गाडीमा पनि छुटाछुटै नै राखिरहेको छ। आजभोलि फोहोर उठाएको बेला हेर्नुभयो भने त्यो देख्न सकिन्छ,’ उनी भन्छन्, ‘घरबाट निस्किएको फोहोर आफूले सुरुमै व्यवस्थित गर्न नसक्ने अनि छुट्टै गाडी आएन दुर्गन्ध भयो भन्दै लगेर बाटोमा, पुलको मुनितिर फाल्ने चलन छ। त्यो एकदमै गलत हो।’

विज्ञहरुले फोहोरको पृथकीकरणमा जोड दिइरहँदा काठमाडौँ महानगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

आइतबार महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरे। उनले फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइनेसमेत बताए।

‘प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी ‘जिरो वेष्ट’ अवधारणा कार्यान्वयन गर्ने नीति लिइने,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

असार ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्