नेपाली कांग्रेस झापाले भन्यो- अनधिकृत व्यक्तिले बोलाएको भेलामा नजानू

Copy to clipboard
Copied!

झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई निर्देशन दिएको छ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र केन्द्रीय निर्देशनअनुसार गठबन्धन दलको भागमा परेका स्थानमा बागी उम्मेदवारी दिएका उम्मेदवार, प्रस्तावक र समर्थकको साधारण सदस्यता समेत स्वतः खारेज हुने व्यवस्था सबैमा स्मरण गराएका छन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा-४ को उपधारा १३ (ग) र कांग्रेस केन्द्रीय समितिको बैशाख १६ र १९ को परिपत्र अनुसार बागी उम्मेदवार प्रस्तावक र समर्थकको साधारण सदस्यता खारेज हुने व्यवस्था रहेको विज्ञप्तिमार्फत् अवगत गराइएको छ।

‘पार्टी अनुशासन, विधान र नीति निर्देशनविपरीत गतिविधि गर्ने कारबाहीको सिफारिसमा परिसकेका त्यस्ता केही व्यक्तिहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौति दिँदै बिर्तामोड वडा नं. ९ मा समानान्तर समिति गठन गरी गतिविधि गर्ने दुस्साहस गरेको पाइएको हुँदा पार्टी हित विपरीत कार्य गर्ने त्यस्ता अनधिकृत समिति र व्यक्तिले बोलाएको भेला, सभाहरूमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य र शुभचिन्तकमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार गत बैशाख २४ गते नै बागी उम्मेदवार प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा पार्टी अनुशासनमा रही संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरिएको छ।

कारवाहीको सिफारिसमा परिसकेका व्यक्तिको भुलभुलैया र उक्साहटमा नलाग्न पनि आम कार्यकर्तालाई विज्ञप्तिमार्फत् अपिल गरिएको छ।

असार ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्