विद्युत प्राधिकरणलाई एक करोडको घाटा गराएका माइला भन्छन्, ‘आत्महत्या गर्न तारमा चढेको थिएँ’

तस्बिर: सामाजिक सञ्जालबाट
Copy to clipboard
Copied!

काठमाडौँ– नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएर शनिबार दिनभर तनाव सिर्जना गरेका माइला विक भनिने हिमबहादुर सुनार विक अहिले आश्रममा छन्।

उनलाई नेपाली सेनाको टोलीले उद्धार गरी शनिबार साँझ प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार संस्थामा बुझाएको छ। प्रहरीले माइलाको उपचार तथा हेरचाह गर्ने जिम्मा उक्त संस्थालाई दिएको हो।

संस्थाले अहिले उनलाई काउन्सिलिङ गरिरहेको छ। संस्थाले विकलाई तारमा चढ्नुको कारणसमेत पत्ता लगाउन प्रयास गरिरहेको छ।

संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार उनले आफू आत्महत्याको लागि तारमा चढेको बताउने गरेका छन्। उनी भन्छन्, ‘मेरो परिवारमा समेत झमेला भइरहेको थियो। त्यसैले म आत्महत्या गर्नको लागि तारमा चढेको थिएँ तर सकिनँ भन्ने गरेका छन्।’

विकले पारिवारिक झमेलाका कारण आत्माहत्या गर्न खोजेको भनिए पनि उनको मानसिक सन्तुलन ठीक नभएका कारण पत्याइहाल्ने अवस्था भने नरहेको दाहालले बताए।

‘उहाँको मानसिक सन्तुलन ठीक नभएका कारण काउन्सिलिङ गरिरहेका छौँ,’ उनी भन्छन्, ‘उहाँले बिहानैबाट चुरोट मागिरहनुभएको छ। आश्रममा चुरोट, जाँडरक्सीजस्ता कुराहरु केही पनि दिइँदैन। त्यसैले हामीले दिएका छैनौँ।’

आश्रममा बसिरहँदा विकले अन्य कुनै अनौठो हर्कत भने नगरेको दाहाल सुनाउँछन्। दाहालका अनुसार आज आइतबार भएकाले संस्थाले नियमित रुपमा प्रयोग गर्दै आएको अस्पतालमा उपचार नहुने भएपछि सिभिल अस्पतालमा विकको उपचार गर्न लागिएको हो।

उनी भन्छन्, ‘हामीले सिभिल अस्पतालमा डाक्टरहरुसँग कुरा गरेका छौँ। उहाँहरुले हुन्छ भन्नुभएको छ। अब हामीले औषधि उपचारको तयारी गरिरहेका छौँ।’

औषधि उपचारपछि मात्र विकको मानसिक अवस्था सामान्य हुँदै जाने र तारमा चढ्नुको यकिन कारण थाहा हुने उनले बताए।

विकको अनौठो हर्कतका कारण नेपाल विद्युत प्राधिकरणले १ करोड रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको जनाएको छ।

विक बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै केही समयको लागि बन्द भएको थियो। करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणको भनाइ छ। जसका कारण प्राधिकरणले १ करोडभन्दा धेरै घाटा व्यहोर्नु परेको बताएको छ।

ककनी गाउँपालिका–७  बाट तारमा चढेका ४४ वर्षीय विकलाई सेनाको टोलीले लिखु-३ पाण्डे गाउँबाट शनिबार साँझ करिब ७:३० बजेतिर उद्धार गरेको थियो।

विकको अनौठो हर्कतका कारण उनी यतिबेला सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्