नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार

तस्बिर: सामाजिक सञ्जालबाट
Copy to clipboard
Copied!

काठमाडौँ – नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको नेपाली सेनाको टोलीले उद्धार गरेको छ।

उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले उनलाई तारबाट झारेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

त्यसअघि उर्जामन्त्री पम्फा भुसालको निर्देशनमा सेनाको हेलिकप्टरसहितको टोली पुगेको थियो।

उद्धार कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित प्रहरीको टोली र स्थानीयसमेत लागेका थिए। फकाएर तल झार्न खोज्दा नमानेपछि उनलाई सेनाको रेञ्जर गणको उद्धार टोलीले उद्धार गरेको हो।

ककनी गाउँपालिका–७  बाट तारमा चढेका उनलाई लिखु-३ पाण्डे गाउँबाट उद्धार गरिएको अर्यालले बताए।

प्रहरीका अनुसार ४४ वर्षीय माइला विक शनिबार बिहान करिब ११ बजेबाट नै विद्युतको तारमा झुण्डिएर तल झर्न मानेका थिएनन् ।

उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहे पनि उनी भने अटेरी गरेर बसिरहेका थिए। ककनी नगरपालिका वडा नं. ७ स्थित विक पोलमा चढेका हुन्। उनी तारैतार हिँडिरहेका थिए।

अनौठो हर्कतका कारण उनी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै केही समयको लागि बन्द भएको थियो। करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले बताएको छ।

जेठ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्