दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धन र दिप्रुङमा एमालेकाे प्यानलै विजयी

Copy to clipboard
Copied!

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन्।

१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन्।

२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना तथा दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य चयन गर्ने क्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भए।

निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा विक, मीना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विक र वीरेन्द्र दर्नाल विजयी भएका छन्।

१५ वडाका वडाध्यक्ष, प्रमुख र उपप्रमुखसहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप आठ जना सदस्य चुनिएका हुन्।

त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका समान तीन जना, जसपा र एकीकृत समाजवादीका समान एक जना मिलाइएको छ।

संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ।

२५ सदस्यीय नगर कार्यपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रका छन्। त्यसबाहेक माओवादी केन्द्रका नौं जना, कांग्रेसका सात जना, एमालेका तीन जना, जसपाका तीन जना र एकीकृत समाजवादीका एक जना सदस्य बनेका छन्।

नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, एकीकृत समाजवादी सात र जसपा दुई पदमा विजयी भए।

दलित समुदायबाट तीन सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ।

दिप्रुङमा एमालेको प्यानल विजयी

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने एमालेको प्यानलै विजयी भएको छ।

गाउँसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्यसमेत गाउँ कार्यपालिकाको सदस्य हुने व्यवस्थाअनुसार सुब्बा माझी, कला परियार, निर्मला श्रेष्ठ ‘मकाजु’, विमला परियार, स्वस्तीका भुजेल र कुष्णकुमारी राई निर्वाचित भएका हुन्।

सात वडा रहेको गाउँपालिकामा ३० वैशाखमा सम्पन्न निर्वाचनबाट ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए।

मतदानमा एमालेको पक्षमा २० मत र गठबन्धनको पक्षमा १६ मत खसेको थियो। एक मत बदर भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।

जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्