वीरगञ्जका दुई वडाध्यक्षद्वारा पदभार ग्रहण, निःशुल्क कापी–कलम वितरण गर्ने पहिलो निर्णय

Copy to clipboard
Copied!

वीरगञ्ज – वीरगञ्ज महानगर–३० का नवनिर्वाचित वडाध्यक्ष मनोज यादव र ३१ का वडाध्यक्ष जितेन्द्र यादवले सोमबार एक कार्यक्रमबीच वडा कार्यालयमा पदभार ग्रहण गरेका छन्।

वडा नम्बर ३० को कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूको पदभार ग्रहण तथा पुरानालाई बिदाई कार्यक्रम गर्दै नवनिर्वाचित वडाध्यक्ष यादवसहित सदस्यहरूलाई कार्यालयका कर्मचारीले सम्मानसहित पदभार ग्रहण गराएका थिए।

पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष यादवले दुई वटा निर्णयसमेत गरेका थिए।
उनले वडामा रहेका तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क कपी–कलम वितरण गर्ने तथा वडामा रहेको स्वास्थ्य चौकीमा शीघ्र बर्थिङ सेन्टर सञ्चालनका लागि पहल गर्ने निर्णय गरेका थिए।

साथै, महानगरको ग्रामीण क्षेत्र पर्ने वडा भएकाले त्यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवा पहुँचका लागि स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने प्रतिबद्धतासमेत वडाध्यक्ष यादवले गरेका थिए।

स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका यादव ६४१ मत ल्याएर निर्वाचित भएका थिए।

महानगरकै ग्रामीण क्षेत्र पर्ने वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवले पनि सोमबार नै एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन्।
वडा कार्यालयमा आयोजित कार्यक्रममार्फत यादवसहित सदस्यले पनि पदभार ग्रहण गरेका थिए। नवनिर्वाचित जनप्रतिनिधिलाई वडाका कर्मचारीले कार्यक्रममा सम्मान गर्नुका साथै पुरानालाई सम्मानसहित बिदाईसमेत गरेका थिए।

पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष यादवले आफू सदैव वडाका जनताको सेवक भएर काम गर्ने बताएका थिए।
वडाबासीको कामका लागि २४ सै घण्टा आफू उपस्थित रहने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा वडाबासी स्थानीय अन्य दलका नेता–कार्यकर्ता, कर्मचारीलगायत सहभागी थिए।

जेठ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्