झापामा १३९ जनाले उम्मेदवारी फिर्ता लिए

Copy to clipboard
Copied!

झापा – स्थानीय तह निर्वाचनमा प्रतिष्पर्धा गर्न मनोनयन पत्र दर्ता गराएका झापाका १३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

पालिकाका प्रमुख एवम् अध्यक्ष पदमा उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नगर प्रमुखमा उम्मेदवारी दिने ३ र अध्यक्षमा उम्मे‍दवारी दिने ५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको हो। उपप्रमुख २ र उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने ७ जनाले उम्मेदवारी फिर्ता लिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार १५ स्थानीय तहबाटै उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्लामा सबैभन्दा कम कमल गाउँपालिकाका उम्मेदवारले फिर्ता लिए।

कनकाईमा ११ जना, शिवसताक्षीमा ११, दमक १३, गौरीगञ्ज ३, गौरादह ८, कमल १, झापा २, बाह्रदशी ३, हल्दिवारी ३, कचनकवल ७, अर्जुनधारा २०, बुद्धशान्ति १६, मेचीनगर १६, बिर्तामोड १७ र भद्रपुरमा ५ जना उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएका हुन्।

बुद्धशान्तिमा अध्यक्षको उम्मेद्वारी दिने स्वतन्त्रबाट लक्ष्मीप्रसाद सुवेदी र नेकपा समाजवादीबाट दुर्गा आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्। सोही पालिकामा उपाध्यक्षमा उम्मेदवारी दिनेहरू मनोरथ तिवारी, गीता खतिवडा, तारा श्रेष्ठ, अस्मिताकला लिम्बुले उम्मेदवारी फिर्ता लिएका छन्।

नेकपा समाजवादीबाट अर्जुनधाराको मेयर/उपमेयरमा उम्मेदवारी दिने क्रमशः रमा खवास र प्रेम सागर सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन्। कचनकवलमा एमालेबाट अध्यक्षमा उम्मेदवारी  दिने दुर्गादेवी नेपाल, स्वतन्त्रबाट मेखबहादुर भट्टराई र कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिने सेलेतुन खातुनले  फिर्ता लिएका छन्। कांग्रेसबाट हल्दिवारीमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चन्द्रकला चाम्लिङले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।

बाह्रदशीमा विवेकशीलबाट अध्यक्षमा उम्मेदवारी दिने भुपिन भेटवालले उम्मेदवारी फिर्ता लिएका छन्।

झापा गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिने केशव बजगाईं, गौरादहको प्रमुखमा जनता दलबाट उम्मेदवारी दिने राम बराईली, दमकमा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुख-उपप्रमुखमा उम्मेद्वारी दिने धनराज राई, धनमाया थापा मगरले उम्मेदवारी फिर्ता लिएका छन्।

वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका ४९ जना उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएका छन्।

 

बैशाख १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्