बागी उम्मेदवारी फिर्तामा दलहरुको प्रयास असफल, टसको मस भएनन् पौडेल

Copy to clipboard
Copied!

काठमाडौँ- भरतपुर महानगरपालिकामा परेको बागी उम्मेद्वारी फिर्ता गराउन सत्ता गठबन्धनलाई निकै सकस परेको छ। महानगरपालिकाको प्रमुखमा गठबन्धनको समर्थनमा रेनु दाहालले उम्मेद्वारी दिएकी छन् भने गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेद्वारी दर्ता गराएका छन्।

पौडेल राष्ट्रियसभाका पूर्व सांसद तथा तत्कालीन भरततपुर नगरपालिकाका पूर्व उपप्रमुख हुन्। पौडेलको बागी उम्मेदवारी सत्ता गठबन्धन र बिषेश गरी नेपाली कांग्रेसलाई टाउको दुखाइको बिषय बनेको छ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि महानगरपालिकाको प्रमुखकी उम्मेद्वार पुत्री रेनुको मत काटिनेदेखि उनलाई हराउन सक्ने पो हो कि भन्नेसम्मको डर छ।
निर्वाचन कार्यतालिका अनुसार शुक्रबार साँझसम्म मनोनयन फिर्ता लिन सकिने भएकाले गठबन्धनका शीर्ष नेताहरुले बागी उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन भन्दै फकाएका छन्।

सत्ता गठबन्धन हाँकेको दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले टेलिफोन गरेर पौडेललाई फकाउने प्रयास गरिरहेका छन् । देउवाले बिहीबार पनि बागी उम्मेद्वारहरुलाई उम्मेद्वारी फिर्ता लिन अपिल गरेका छन् भने प्रचण्डले चितवन पुगेरै पौडेललाई पछि हट्न आग्रह गरेका थिए।

यस्तै गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बुधबार नै चितवनमा पौडेललाई भेटेरै उम्मेद्वारी फिर्ताको आग्रह गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि यही पहलका लागि बिहीबार चितवन पुगेका छन्। चितवन पुगेका नेताहरुले जिल्ला र स्थानीय तहका नेताहरुसँग घनिभूत छलफल गरेर पौडेललाई ब्याक गराउने  पहल गरे पनि पौडेल भने टसको मस भएका छैनन्।

पौडेलले देश सञ्चारसँग कुरा गर्दै बरु कारबाही भोग्न तयार भएको तर बागी उम्मेद्वारी फिर्ता नलिने बताए। उनले भने, ‘ग्राउन्ड लेभललाई बुझ्दा चुनावी माहोल मेरो पक्षमा छ, म उम्मेद्वारी फिर्ता लिन्न।’

सैद्धान्तिक, वैचारिक र स्थानीय नेता कार्यकर्ताको आवश्यकता र चाहनाको आधारमा आफूले उम्मेद्वारी दिएको उनको दाबी छ। ‘कानुन बमोजिम पार्टीले कारवाही गरे भोग्न तयार छु, तर मेरो अडान छाड्दिन,’ उनले भने।

संसददेखि नगरसम्म माओवादी नै हावी भएको भन्दै कांग्रेसलाई आफूले धरातल भासिने पार्टी हुनबाट जोगाउन उम्मेद्वारी दिएको उनको तर्क छ। पार्टी र गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले टेलिफोन मार्फत उम्मेदवारी फिर्ताको लागि फकाउनेदेखि दबाब दिनेसम्म गरेको भन्दै त्यो नेताहरुको काम भएको र आफूले सामान्य नागरिकको हैसियतले उम्मेद्वारी दिएको पौडेल बताउँछन्।

उनले आफू पनि महानगरको प्रमुखको लागि अन्य उम्मेदवारकै हैसियतमा रहेकाले नतर्सिन नेताहरुलाई आग्रह गरेका छन्। भरतपुर महानगरपालिकाका स्थानीय तहहरुमा नेपाली कांग्रेसको राम्रो पकड भएकाले पनि उनमा अघि बढ्ने आत्मविश्वास आएको भरतपुर महानगरका स्थानीयबासी बताउँछन्। सत्ता गठबन्धनको भागबन्डामा महानगरका २९ वटा वडामध्ये २० वटा वडाका अध्यक्ष कांग्रेसले लिएको छ। तल्लो तहमा कांग्रेसको राम्रो पकड हुनुको साथै अन्य दलको उम्मेदवारलाई कार्यकर्ता र स्थानीयले मत दिन नमान्ने भएकाले पनि भरतपुर महानगरमा पौडेल आफ्नो आवश्यकता देख्छन्।

भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कँडेलले महानगरदेखि वडासम्मै बागी पर्दा कार्यकर्ता निराश भएको बताउँछन्। वडा नम्बर ९ को अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले सिट पाएको छ, यही आक्रोशमा नेपाली कांग्रेसका विजयराज पौडेल र कमल अधिकारीले बागी उम्मेद्वारी दिएका छन्। पौडेल कांग्रेसको वडा नम्बर ९कै कमिटीका पदाधिकारी समेत हुन्।

यसअघि २०७४ को चुनावमा नेकपा एमालेको तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित भएका कँडेल पाटी विभाजनपछि एकीकृत समाजवादीमा गएका छन्।

गठबन्धनले गरेको वडा अध्यक्षको सिट बाँडफाँटअनुसार आफ्नो वडामा आफ्नै पार्टीको उम्मेदवार उठाउन पाए पनि बागीको किचलोले उनी उत्साहित छैनन्। चुनावी तालमेलबारे केन्द्रमै विवाद भएकोले त्यसको असर तल्लै तहसम्म देखिएको उनी गुनासो गर्छन् । यसलाई मिलाएर सौहाद्रपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न नेतृत्वलाई उनको आग्रह छ।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्