मंगोलियाबाट नेपाल बसाइँ सर्ने दुर्लभ गोमायु महाचिलको गणना हुँदै

गोमायू महाचिल । तस्बिर : मोहनबिक्रम श्रेष्ठ
Copy to clipboard
Copied!

काठमाडौँ – चिसो छल्नका लागि हिउँदमा उत्तरतिरबाट बसाइँ सरेर आउने आगन्तुक चरामध्ये दुर्लभ गोमायु महाचिल (स्टीपी इगल) को गणना अहिले काठमाडौँ उपत्यकामा भइरहेको छ।

नेपाल पक्षी संरक्षण संघले हिउँदमा आउने गोमायु महाचिलको गणना गएको नोभेम्बरदेखि गरिरहेको हो। मंगोलियामा प्रजनन गर्ने गोमायु महाचिलसहितका चराहरु हिउँदको समयमा ती क्षेत्रमा अत्यधिक जाडो हुने भएकाले नेपालसहितका क्षेत्रमा बसाइँ सर्ने गर्छन्। हिउँदे आगन्तुक चरामध्येको गोमायु महाचिल जाडो याममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पाइन्छ।

अहिलेलाई काठमाडौँ उपत्यकामा आगन्तुक गोमायु महाचिलको गणनाको काम भइरहेको नेपाल पक्षी संरक्षण संघ (बिसिएन) का अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले जानकारी दिए।

‘गएको नोभेम्बरदेखि हामीले गोमायु महाचिलको काठमाडौँमा गणना गरिरहेका छौं’, अनुसन्धान अधिकृत श्रेष्ठले भने, ‘आइयुसिएनको दुर्लभ सूचीमा रहेको गोमायु महाचिलको अवस्था कस्तो छ र तिनीहरुका लागि उपयुक्त बासस्थानका बारेमा विस्तृत रुपमा जान्नका लागि गणना गरिरहेका हौं।’

गोमायू महाचिल । तस्बिर : मोहनबिक्रम श्रेष्ठ

तीन महिना अर्थात नोभेम्बर, डिसेम्बर र जनवरीमा गणना गरेपछि त्यसको विश्लेषण गरेर अन्तिम प्रतिवेदन सार्वजनिक गरिने उनले बताए। श्रेष्ठले भने, ‘नोभेम्बरको गणनामा काठमाडौँ उपत्यकामा ३५२ वटा गोमायु महाचिल भेटिएका छन्। जनवरीको गणनापछि यकिन रुपमा उपत्यकामा कति संख्यामा बसे भन्ने कुरा थाहा हुन्छ।’

गणनाका लागि महिनाको एक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म काठमाडौँ उपत्यकाका १८ स्थानमा एकैसाथ गणकहरु बस्ने गरेका छन्।
नेप्लिज अरनिथोलोजिकल युनियन (एनओयू) ले पनि गोमायु महाचिलको पूर्व–पश्चिम आप्रवासनको अध्ययन गरिरहेको छ।

वनजंगल नजिकै तथा खेतीपाती हुने जमिन रहेको क्षेत्रमा गोमायु महाचिलको बसोबास हुने गरेको छ। काठमाडौँ उपत्यकामा अझैसम्म खेतीयोग्य जमिन रहेको तथा खोलानाला र वनजंगल पनि भएकाले बासस्थान उपयुक्त मानिन्छ। तर सहरीकरणसँगै गोमायु महाचिलका लागि उपयुक्त बासस्थान मासिँदै गएको छ। आफूहरुको अध्ययनले गोमायु महाचिलको संख्यासँगै तिनीहरुको बासस्थानमा परेको असर र त्यसलाई रोक्नका लागि के गर्न सकिन्छ भन्ने पनि थाहा हुने बिसिएनका अनुसन्धान अधिकृत श्रेष्ठले बताए।

नेपालमा जाडो र गर्मी याममा उत्तर तथा दक्षिणतिरबाट चराहरु आउने गरेका छन्।

पुस ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्