एमाले महाधिवेशन: लाल रङमा पहेँलो मिसाउने ओलीको प्रयास

Copy to clipboard
Copied!

नारायणी किनार, चितवन- जनसभाका नाममा जुट्ने विशाल भीडलाई सत्तारोहणको निर्णायक सिँढी मान्ने हो भने केपी ओली त्यसका एकल हकदार बनिसकेका छन्।

एमालेको दशौँ महाधिवेशनका अवसरमा नारायणी नदीको नारायणगढतर्फको किनारको चार किलोमिटर ठेलमठेल हुने गरी भरिएको थियो बिहीबार।

‘मुलुकले के भन्छ? केपी ओली ले भन्छ’ नारा बीचमा लागिरहँदा एमाले ओलीलाई अर्को निर्वाचनपछि प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गर्न चाहन्छ र त्यसको औपचारिक प्रारम्भ यो अधिवेशनबाट भएको छ। तर सधैँ राजनीतिक भीड अर्थात जनसभाले निर्णय गर्दैनन्। विशााल जनसभा र निर्वाचन अनि सरकार गठन एकअर्कासँग अन्तर सम्बन्धित हुन सक्छन्, तर ती सधैँ अपेक्षित मार्ग हुँदै गन्तव्यमा पुग्दैनन्।

नारायणी तटबाट करिब १६ किमी टाढा सौराहा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार विधिवत सुरु हुने दुईदिने अधिवेशनमा सत्ता कसरी आफ्नो पकडमा प्रजातान्त्रिक तरिकाले नियन्त्रणमा राख्ने त्यो अवसरमा ओलीको समय खर्च भइरहेको छ।

अध्यक्षका रुपमा ओलीको निर्वाचन निर्विवाद र निश्चित छ। भीम रावल लडेर पराजित भए पनि त्यसलाई एमालेले प्रजातान्त्रिक खोल नै ओढाउने छ। तर ओलीको अभ्यास समग्र पार्टीमाथि आफूविरुद्धको सानो स्वर पनि उठाउन कसैले नसक्ने गरी आफूलाई स्थापित गर्नु हो। ओली आफ्नो विजयपछि सहमतिका आधारमा सबै केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति मनोनयन गर्ने अधिकार हासिल गर्न चाहन्छन्। परिआएमा केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिको आकार तथा संख्या बढाएर भए पनि।

ओलीको निमन्त्रणामा जनसभामा सहभागी महन्थ ठाकुर तथा कमल थापाले एक किसिमले उनको नेतृत्वको कुशलता प्रशंसा गरेर भावी निर्वाचनमा परिआएमा आफ्नो राजनीतिक समर्थनको संकेत दिए। माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी तथा नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउबाले आ—आफ्ना हिसाबले शुभकामना व्यक्त गरे पनि ओलीले भावी निर्वाचनमा आफ्नो ‘राष्ट्रियता र हिन्दुत्व’ एजेन्डा पनि प्रस्तुत गरे।

अयोध्यापुरी (चितवन) मा राम मन्दिर निर्माणसँगै त्यहाँस्थित ‘सरयु नदी’को विस्तारको एजेण्डा अघि सारे उनले।  राजसंस्था र हिन्दू नेपालको पक्षमा नेपालमा वातावरण बनिरहेको बेला ओलीले ‘प्रतिरणनीति’का रुपमा ‘लाल’ रंगमा पहेँलो रंग मिसाउने प्रयास गरेका छन् भने अर्कोतिर भारतबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिने अडान पनि दोहोर्‍याएका छन्।

शेरबहादुर देउवाको सरकार या उसका गठबन्धन दल– माधव नेपालको समाजवादी, प्रचण्डको माओवादी केन्द्र, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादीमध्ये कसैले पनि ओलीको रणनीतिक हिन्दुत्व र भारतसँगको सीमा विवादबारे बोल्ने सम्भावना नदेखिएको अवस्थामा ओलीले आफ्ना‘एजेण्डा’ स्पष्ट पारेका छन्।

हिन्दुत्वसँगै अयोध्याको मामिला उठाउँदा भारतीय जनता पार्टी र मुख्यगरी उत्तर प्रदेशका मुख्यमन्त्रीआदित्यनाथसँग हिँड्ने सम्भावना बढे पनि त्यसले ओलीको रणनीतिक ‘राष्ट्रवाद’लाई मजबुत बनाउने उनको पक्षको विश्लेषण छ।

प्रधानमन्त्रीका रुपमा ओलीले सर्वसत्तावादको अभ्यास गरेका थिए। दुई दुईपटक संसद विघटन गरेर आफू जनताको निर्णायक अधिकारको पक्षमा रहेको दाबी गर्दै आए पनि पार्टीभित्रको निर्वाचनले आफ्नो सर्वसत्तावादको महत्वाकांक्षा कमजोर हुनेमा ओली आश्वस्त देखिन्छन्। अर्थात ओली सर्वशाक्तिमान र विरोधरहित नेतृत्वको पदमा आफू आसीन रहन चाहन्छन्।

नारायणी किनारको सम्बोधनमा ओली वास्तवमा ओलीजस्तो सुनिएनन्, प्रारम्भमा किनकि उनले कसैप्रति पनि व्यंग गरेनन्, तर नानीमा लागेको बानी छुट्न कठिन हुन्छ भन्ने सन्देश दिन चुकेनन्। ‘तपाईँहरुले सत्तामा आउन राजमार्ग बनाइदिनु भयो, तर को मेयर बने, कोको मन्त्री बने?’ माओवादी लडाकुहरुलाई सर्मथन गर्दै उनले भने।

ओलीले राष्ट्र निर्माण, सुशासन, पञ्चायत र निरङ्कुश राजतन्त्रको अन्तको नेतृत्व आफ्नै पार्टी या साम्यवादीहरुले लिएको दाबी गरे। अब उनी विकास युगको प्रारम्भमा आफूले नेतृत्व गर्ने दाबी गरिरहेका छन्।

स्थानीय उत्साहसँगै एमालेको संगाठित तथा सशक्त सांस्कृतिक विभागले विविध जातजाति र क्षेत्रका झाँकीहरु महाधिवेशन उद्घाटनका क्रममा प्रस्तुत गरेका थिए।

सात प्रदेशलाई यातायात तथा सडक सम्पर्कका हिसाबले सुगम चितवनमा निश्चित ‘कोटा’ दिइएको थियो सहभागीहरुको उपस्थिति सुनिश्चित गर्न।

‘हामी सर्लाहीबाट आएको हौँ, हाम्रो वडाबाट १८ ठूला बाहनमा सहभागी आएका छौँ’, सहभागी इच्छा सिहंले भने।

हरेक बसका यात्रुहरुलाई आवश्यक भोजनको व्यवस्था गर्न निर्देशन दिइएको थियो।

दाङबाट २ सय बसहरु आएका र हरेक बसका यात्रुहरुलाई त्यही निर्देशन दिइएको प्रतिनिधिहरुले बताए।

राष्ट्रिय निकुञ्जभित्रका ‘अत्यन्त महंगा’ श्रेणीका चार होटलबाहेक अन्य सबै होटलहरु पार्टीले महाधिवेशनका क्रममा ‘ब्लक’ गरेको छ।

 

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्