एमाले जोगाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

Copy to clipboard
Copied!

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं हालै प्रधानमन्त्रीबाट बाहिरिएका केपी शर्मा ओलीले उनीविरुद्ध संघर्षरत पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’मा लेखिने गरी ‘गद्दारी’ गरेको भएपनि पार्टी बचाउन उनलाई दोस्रो अध्यक्ष दिन तयार गरेको बताएका छन्।

उनले महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने, बरु नेकपामा प्रचण्डले पाएको हैसियत एमालेमा नेपाललाई दिएर भए पनि एमाले बचाउने बताएका छन्।

बुधबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले पार्टी बचाउन पहल गर्न आग्रह गरेको पृष्ठभूमिमा ओलीले आफू पनि पार्टी बचाउन लागि परेको बताउँदै आफूसँग नेपाल मिल्न आए पार्टीको दोस्रो अध्यक्ष सुम्पिन तयार रहेको धारणा राखेका छन्।

‘मसँग अझै आग्रह छैन। म एकताका लागि मोही अझै मथ्दै छु। सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु। एकताका लागि म माधवजीलाई दोस्रो अध्यक्ष सुम्पिन पनि तयार छु। महाधिवेशन भन्दा अघि म अध्यक्षबाट हट्न मिल्दैन’, ओलीलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

योसँगै भोलि तीन बजेसम्म एकताका लागि भरपुर प्रयास गर्ने, नेपाललाई भेटेरै दोस्रो अध्यक्षको प्रस्ताव गर्ने, उनले त्यो अस्वीकार गरेमा पार्टी बैठकले उचित निर्णय लिने चेतावनी पनि ओलीले दिएका छन्।

ती केन्द्रीय सदस्यका अनुसार सम्भवत: भोलि तीन बजे अगावै ओली र नेपालबीच निर्णायक वार्ता हुनेछ। त्यसका लागि कार्यदलका पूर्वसदस्यहरु पनि जुटिरहेका छन्।

‘अन्तिम क्षणमा म साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस्। नत्र भोलि पुस्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि तीन बजे फेरि बैठक बस्छ। उचित निर्णय गर्छ,‘ ओलीको भनाई उद्धृत गर्दै ती सदस्यले भने।

तर ओलीले बुधबार नै शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ जना सांसदहरुलाई त्यसबारे स्पष्ट नपारी अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिकाले प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो भन्ने मुख्य प्रश्न गर्दै २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएका छन्।

ओलीले एकातिर एमाले एकता कार्यदलमा रहेका नेपाल पक्षका पूर्वसदस्यहरुको आग्रहलाई बेवास्ता गर्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकहरुलाई निरन्तरता दिएका छन् भने अर्कोतिर पार्टी एकताका लागि अन्तिम क्षण भएको भन्दै नेपाललाई दोस्रो अध्यक्ष बन्ने प्रस्ताव गर्ने तयारी गरेका हुन्।

ओलीले एकातिर एमाले एकता कार्यादलमा रहेका नेपाल पक्षका पूर्वसदस्यहरुको आग्रहलाई बेवास्ता गर्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकहरुलाई निरन्तरता दिएका छन् भने अर्कोतिर पार्टी एकताका लागि अन्तिम क्षण भएको भन्दै नेपाललाई दोस्रो अध्यक्ष बन्ने प्रस्ताव गर्ने तयारी गरेका हुन्।

तर अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेको अवस्थाामा नेपालले त्यसलाई सहजै स्वीकार गर्ने अवस्था नदेखिएको नेताहरु बताउँछन्।

नेपालसँग ओलीको आक्रोश यति चुलिएको छ कि त्यसलाई मेटाउन ओलीले निकै ठूलो कसरत गर्नुपर्ने नेताहरुको भनाइ छ।

नेपाल खेमाका केही सांसदहरुले ओलीले अध्यक्ष पदबाटै राजीनामा दिएको खण्डमा एकता सम्भव भएको धारणाहरु पनि बाहिर ल्याएका छन्।

तर त्यो सामूहिक धारणा नभएको नेता युवराज ज्ञवालीले बताए। नेपाल पक्षको बुधबारको बैठकमा पनि अन्तिम समयसम्म एकताका लागि पहल गर्नेमा सबैको मत थियो।

ज्ञवालीले भने, ‘पार्टीमा अनेक तिक्तता छन्। विचारहरु फरक छन्। परिस्थिति बदलिएको छ तर हामी पार्टी जोगाउनु पर्छ भन्नेमा एक छौँ। हाम्रो पक्षमा पनि त्यही मान्यताले ठाउँ पाएको छ।’

बालुवाटारबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाएका थिए।पछि ओली पक्षीय स्थायी कमिटी बैठकले नेपाल खेमालाई देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो।

ओली पक्षका कार्यदलका पूर्वसदस्यहरुलेसमेत नेपाललाई देउवालाई विश्वासको मत नदिन आग्रह गरेका थिए।

तर नेपाल आफ्नो अडानमा चट्टान झैँ उभिए। मत दिएर छोडे। यस्तो परिस्थितिमा ओली र नेपालको एकता असम्भव भन्ने विश्लेषण भइरहेका बेला ओलीले एमाले बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्ने तयारी गरेका हुन्।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्