नेपाल खेमाबाट को-को जालान् ओलीतिर? कारबाहीमा परेका बाहेकका नेतालाई भोलिको बैठकमा निम्तो

Copy to clipboard
Copied!

काठमाडौँ–लामो समय खण्डित नेकपा एमालेको आन्तरिक राजनीतिले यो साताभित्र स्पष्ट आकार लिने देखिएको छ। सर्वोच्च अदालतले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीलाई ९ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सरह मान्यता नदिने निर्णय गरेपछि ओलीले बुधबार त्यो कमिटीलाई भंग गर्दै छन्। र, भोलिकै बैठकबाट एमालेकै पुरानो केन्द्रीय कमिटी ब्यूँताउने तयारी गरेको ओली निकट नेताहरुले दाबी गरेका छन्।

तर ओलीले ब्यूँताउने केन्द्रीय कमिटीको स्वरुप कस्तो हुन्छ? यो कमिटीमा पछिल्लो पटक माओवादीबाट अलग भई एमालेमा प्रवेश गरेका नेताहरु रहन्छन् कि रहँदैन? र,पार्टी पदाधिकारीबाट मुक्त भएका माधवकुमार नेपाल पक्षका नेताहरुको अवस्था के हुन्छ? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। अर्कोतिर ओलीले बोलाएको बुधबारकै १० औँ महाधिवेशन आयोजक कमिटी बैठकमै पनि नेपाल पक्षका नेताहरु सामेल हुन लागेको भन्दै ओली पक्षबाट प्रचारप्रसार सुरु भएको छ।

भोलिको बैठकमा खासगरी पछिल्लो पटक आन्तरिक एकता प्रयासमा जुटेका नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेसहित नेपाल पक्षका निवर्तमान ११ जना सांसद सहभागी हुने चर्चा व्यापक भएको छ। तर ती मध्येका एक जना नेताले देशसञ्चारसँग भने, ‘भोलि बोलाइएको बैठक अवैधानिक हो। अवैधानिक बैठकमा कोही जान्छ? त्यस्तो बैठकमा जानुहुन्छ भनेर प्रश्न सोध्नु नै गलत हो।’

तर ओली पक्षका नेताहरु भने एकता प्रयासमा जुटेका र बाँकी गरी ११ जना नेपाल पक्षका नेताहरु भोलिकै बैठकमा सहभागी हुनेमा विश्वस्त छन्। ओली पक्षका नेताहरुले उनीहरुलाई आफ्नो पक्षमा ल्याउन हरप्रयास गरिरेहका छन्। ११ जना सांसद ओलीले बुधबार बोलाएको र नेपाल पक्षले अवैधानिक भनेको बैठकमा सामेल भएको खण्डमा नेपाल पक्षसँग १५ निवर्तमान सांसद मात्रै बाँकी रहने छन्।

यता ओली पक्षले कारबाही गरेकाबाहेकका नेताहरुलाई बुधबारको बैठकमा सामेल हुन निम्तोसमेत पठाएको छ। बैठकमा कारबाहीमा परेका नेताबाहेकका केन्द्रीय कमिटीमा रहेका सदस्यहरूलाई बुधबारको बैठकमा बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले अरु नेताहरुका मामिलामा बुधबार नै निर्णय हुने बताए।

भोलिको बैठकमा आफूहरुलाई निम्तो आएको नेपाल पक्षका केन्द्रीय सदस्य झपट रावलले पनि पुष्टि गरेका छन्। उनले भने, ‘यो केपी ओलीको अन्तिम भोज भएकाले अवैधानिक कमिटी बैठकको निम्तो गरिएको छ। यस अघिका पार्टी कमिटी बैठकहरुमा यसरी निमन्त्रण आउँदैनथ्यो। यसै पनि हामी आमन्त्रित या पाहुना होइनौँ। पार्टीका सदस्य हौँ। र भोलि बोलाइएको अवैधानिक बैठकमा हामी सहभागी हुन्नौँ।’

ओली निकट नेता सुवास नेम्वाङले भोलिको बैठकमा नेपाल पक्षका नेताहरुको अनुहार पत्रकारहरुले देख्न पाउनेमा आफू विश्वस्त भएको बताए। उनले भने, ‘पार्टी एकताको पक्षमा भएका नेताहरु भोलिको बैठकमा आउनुहुन्छ। त्यसपछि ब्यूँतिने केन्द्रीय कमिटी बैठकमा पनि उहाँहरुको सहभागिता रहन्छ भन्नेमा मलाई विश्वास छ।’

तर नेपाल पक्षका एक अर्का केन्द्रीय सदस्यका अनुसार अहिले नेता योगेश भट्टराई र गोकर्ण विष्टले नेपालको साथ छोड्ने संकेत मिलेको छ। त्यो पनि आफूले पूर्णरुपमा निश्चित गर्न नसक्ने उनको भनाइ छ। यी दुवै जना नेताहरुले पछिल्लो पटक सार्वजनिक गरेका अभिव्यक्तिबाट उनीहरु ओली खेमामै प्रवेश गर्न लागेको संकेत मिलेको छ।

उनीहरु दुवैले संसद पुनःस्थापना र वैकल्पिक सरकार निर्माणको मागसहित सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका थिएनन्। सर्वोच्च अदालतले गत फागुन २६ गते नेकपा भंग गरेको थियो। २८ फागुनमै नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय कमिटी भंग गर्दै ओलीले १० औँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए।

र, माओवादीबाट अलग भई एमाले प्रवेश गरेका ४ जना नेताहरुलाई पार्टी स्थायी कमिटी सदस्यको जिम्मेवारी थमाएका थिए भने बाँकीलाई महाधिवेशन आयोजक कमिटी सदस्य बनाएका थिए। त्योसँगै नेपाल पक्षका नेताहरुलाई पार्टी पदाधिकारीको जिम्मेवारीबाट मुक्त गराएका थिए। त्यसपछि उनले नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेका थिए।

नेपाल पक्षले आफूहरुमाथिको कारबाही र महाधिवेशन आयोजक कमिटी अवैधानिक भएको भन्दै त्यो खारेजीको माग गर्दै आएका छन्। उनीहरुले २ जेठ २०७५ मै एमालेलाई फर्काउनु पर्ने र साविकको केन्द्रीय कमिटीको बैठक बसेर नयाँ सदस्यहरु थप्न सकिने अडान लिँदै आएका छन्।

असार १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्