चीन र अमेरिकाः तनाव र द्वन्द्वको त्यो चरणदेखि यो चरणसम्म

Copy to clipboard
Copied!

अमेरिका र चीन लामो र जटील द्वन्द्व र तनावको चरणमा प्रवेश गरिरहेका छन् र संसारको हरकुनामा त्यसको कम्पन अनुभव हुन थालेको छ ।

स्वाभाविकरूपमा एसिया र युरोप त्यसको मोहरीमा छन् ।

१९७८मा चीनमा देङ् युग आरम्भ भएपछि अमेरिका लगायत पश्चिमी राष्ट्रहरूसँगको उसको सम्बन्धमा ऐतिहासिकरूपमा गुणात्मक अन्तर आयो ।

आर्थिक उदारीकरणले चीनमा पश्चिमी राष्ट्रहरूका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता उन्नत र समृद्ध मुलुकका तर्फबाट भएको व्यापक लगानीले  दशकौँ  देखिको गतिहीन चीनियाँ अर्थतन्त्रमा नयाँ रक्त सञ्चार गरायो ।

व्यापक अवशरहरू निर्माण हुन लागे र त्यसले चीनियाँ युवा विद्यार्थी हरूमाझ पश्चिमी  शैलीको खुला प्रजातन्त्रको महत्व वोध गरायो ।

पूर्वी युरोपमा एकपछि अर्को गर्दै निरङ्कुश साम्यवादी किल्लाहरू  ढल्दै गएको अवस्थामा चीनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालेका हु याओ बाङ्ले  देङ्को सहयोगमा  व्यापक राजनीतिक र आर्थिक सुधारका नीति र कार्यक्रमहरू लागू गराए ।

तर त्यसले चीनियाँ कट्टरपन्थीहरूमा उनी विरूद्ध विरोध र आक्रोश जन्मायो ।

परिणामस्वरूप पहिला उनलाई पार्टी नेतृत्वबाट हटाइयो र १५ अप्रिल १९८९मा रहस्यपूर्ण स्थितिमा उनको निधन भएको समाचार आयो ।

युवा  विद्यार्थीहरूमाझ  लोकप्रिय नेताको निधनमा शोक मनाउन लाखौँ विद्यार्थीहरू टियाननमेन स्क्वायरमा जम्मा भए ।

प्रदर्शन शुरू भयो । आज भोलि गर्दै दिनहौँ  त्यो सङ्ख्या बढ्दै गयो ।

टियाननमेन चोकमा उनीहरूले १० मिटर अग्लो प्रजातन्त्र वा स्वतन्त्रताकी देवीको मूर्ति समेत स्थापना गरे ।

अन्त्यमा चीन सरकारले विशाल सँख्यामा ट्यांकहरू सहित  तीन लाख   सेना परिचालन गरेर क्रूरतापूर्वक उक्त प्रदर्शनलाई दमन गर्‍यो। ()

लाखौँ  युवा विद्यार्थीहरू मारिए, गिरफ्तार भए । त्यस पछि आर्थिक सुधारको क्रम अघि बढिरहे पनि राजनीतिक सुधारको गति छेकियो ।

उक्त घटनाबाट अमेरिकाको मनमा चीनकाप्रति चीसो पस्न शुरू गर्यो र समय क्रमले आजको स्थिति निर्माण गरेको छ ।

यहाँ अर्को सन्दर्भ पनि जोडिनु आवश्यक छ —

सन् २००९मा  मार्टिन ज्याक्सको पुस्तक  “ह्वेन चाइना रूल्ज  दी वर्ल्ड: दी इन्ड अफ दी वेस्टर्न वर्ल्ड एण्ड दी बर्थ अफ दी न्यु ग्लोबल अर्डर” प्रकाशित भयो  ।

२०११मा जापानलाई उछिनेर चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेपछि विश्वभर अवको विश्व नेता चीन कि अमेरिका भन्ने बारे व्यापक बहसहरू हुने गरेका छन् ।

दर्जनौं विचारोत्तेजक र प्रामाणिक पुस्तकहरू प्रकाशित छन् र अखवार र पत्रिकाहरूमा गम्भीर विश्लेषणहरू प्रकाशित हुने क्रम निरन्तर जारी छ ।

दुवै पक्षमा उत्तिकै बलिया तर्क र प्रमाणहरू प्रस्तुत भइरहेका छन् ।

दुई मुलुक वीच बढ्दो तनाव र सम्भावित  युद्ध, लामो रणनीतिक  लक्ष र योजना सम्बन्धमा  पनि  विख्यात लेखकहरूले  पुस्तकहरू (लेखिरहेका छन् र  अमेरिकालाई युद्धमा कसरी पराजित गर्ने भन्ने सम्बन्धमा आज भन्दा दुई दशक अघि नै चीनियाँ सेनाका दुई वरिष्ठ कर्णेलद्वारा लिखित पुस्तक () अनुसार अमेरिका विरुद्धको युद्धमा चीनले कुनै नियम र कानुनको पर्वाह नगरी, कुनै सीमामा आवद्ध नभई  जसरी पनि विजय प्राप्त गर्ने उद्देस्यले जस्तो सुकै रणनीति र कार्यनीति अवलम्वन गर्न पर्ने र गरिने उल्लेख गरेका छन् ।

च्याओ लियाङ् र वाङ् जियाङ्सुईको पुस्तकमा उल्लेखित रणनीति र कार्ययोजना ले चीनियाँ नीतिमा प्रवेश पाएको अनुभव हालका वर्षहरूमा आएर रणनीतिज्ञ  र विज्ञहरूले  गर्नथालेका छन् ।

विख्यात अमेरिकी पत्रिकाहरूमा हाल प्रकाशित केही विद्वानका  लेखहरूले पनि यी सवाललाई गम्भीर रूपमा उठाउन थालेका छन् () विश्लेषणात्मक लेखहरू  निरन्तर आएका आयै छन् ।

चीन-अमेरिका सम्बन्धमा तनाव र द्वन्द्वको नयाँ चरण

 

सबन्धको अर्को पाटो पनि छ ।

अगस्ट १९४९मा माओको लाल सेनाले याङ्सी नदी पार गरेर अघि बढ्दा नबढ्दै   च्याङ्काई  शेक नेतृत्वको राष्ट्रवादी सरकारको  राजधानी नानकिङ्को पतन भइसकेको थियो ।

कुन अमेरिकी नीतिको कारण चीन कम्युनिस्टको हातमा पुग्यो, त्यसकोलागि जिम्मेवार को हो भनेर अमेरिकी राजनीति तातिरहेको  त्यस परिप्रेक्षमा अमेरिकी सरकारको  तत्कालीन चीन नीतिकै कारण राष्ट्रवादी सरकारको पतन भएको आलोचना मुलुक भित्र व्यापक हुँदै गएको स्थितिमा अमेरिकी सरकारको चीन नीतिको   औचित्य पुष्टि गर्ने क्रममा   विदेशमन्त्री डिन एचसनले हजार पृष्ठ भन्दा लामो चाइना ह्वाइट पेपर प्रकाशित गराए ।

सो दस्तावेजमा  विदेशमन्त्री एचसनले स्वीकार गरेका छन् –  सोभियत सङ्घको वर्षौं देखिको सम्पूर्ण सहयोग र चीनियाँ कम्युनिस्टहरूको  मुलुकको परम्परागत मूल्यहरूप्रतिको निष्ठा घोषणा र पूर्वी एसिया  र चीनको ठूलो तटवर्ती क्षेत्रमा  जापानको नियन्त्रण रहेको परिवेशमा जापान  विरूद्ध  सोभियत सङ्घको कठीन र बलिदानी युद्धका कारण चीनियाँहरू माझ सोभियत सङ्घ लोकप्रिय थियो ।

सोभियत सङ्घ प्रति चीनियाँ जनताको ठूलो सम्मान  रहेको र माओको  सोभियत सङ्घप्रतिको  आफ्नो निकटताको  घोषित संकल्पको स्थितिमा चीनियाँ जनता कम्युनिस्टहरूको पक्षमा गए ।

त्यस अवस्थामा  अमेरिकाले आफ्नो बल र बुताले भ्याएसम्म चीनमा  त्यस्तो अमङ्गलकारी र दुर्भाग्यजनक स्थिति आउन नदिन  राजनीतिक विवेक र क्षमता भित्रको हरसम्भव प्रयत्न  गरेको थियो ।

दुई मुलुकबीच बढ्दो तनाव र सम्भावित  युद्ध, लामो रणनीतिक  लक्ष र योजना सम्बन्धमा  पनि  विख्यात लेखकहरूले  पुस्तकहरू लेखिरहेका छन् र  अमेरिकालाई युद्धमा कसरी पराजित गर्ने भन्ने सम्बन्धमा आज भन्दा दुई दशक अघि नै चिनियाँ सेनाका दुई वरिष्ठ कर्णेलद्वारा लिखित पुस्तकअनुसार अमेरिका विरुद्धको युद्धमा चीनले कुनै नियम र कानुनको पर्वाह नगरी, कुनै सीमामा आवद्ध नभई  जसरी पनि विजय प्राप्त गर्ने उद्देस्यले जस्तो सुकै रणनीति र कार्यनीति अवलम्वन गर्न पर्ने र गरिने उल्लेख गरेका छन् ।  

तर परिणाम अमेरिकी सरकारको नियन्त्रण र क्षमता बाहिर पुग्न गयो  ।  ()

सन् १९४९को जुलाई २५देखि जुलाई २९सम्म अमेरिकी राष्ट्रपति, विदेशमन्त्री, रक्षा मन्त्री र राजदुतहरूवीच ती सवालहरूलाई लिएर भएका उहापोहयुक्त  पत्राचारहरू (), ती पत्राचारहरू र त्यो अवधिबारे विज्ञहरूले लेखेका पुस्तकहरू अनुसार () तत्कालीन अमेरिकी सरकारको चीन नीति भनेको  चीनमा च्याङ्काई  शेक नेतृत्वको राष्ट्रवादी सरकारलाई कायम राख्नु , राष्ट्रवादी सरकारसँगको अमेरिकाको सम्बन्धलाई सवल बनाउनु र युद्ध जर्जर चीनलाई राजनीतिक र आर्थिक संकटबाट  रक्षा गर्नु थियो ।

तर अमेरिका सफल भएन ।

चीन मात्रैमा होइन, हेर्दाहेर्दै तिब्बत र सिन्जियाङ्मा समेत माओवादी सत्ता स्थापित भयो । (

त्यस्तो मुलुकमा क्रिस्चियन धर्माबलम्बी र अमेरिका लगायत पश्चिमी मुलुकका ठूला मित्रको रूपमा चिनिएका च्याङ्काई शेकको पतन र सोभियत सङ्घ समर्थित कम्युनिस्ट सरकारको स्थापना अमेरिकाकोलागि ठूलो राजनीतिक, कूटनीतिक र रणनीतिक पराजय थियो ।

चीनमा अमेरिकाको प्रतिद्वन्द्वी सोभियत सङ्घको विराट सफलता र जापान माथिको अमेरिकी विजयको प्रसन्नता र आत्मतुष्टिका साथै त्यसले अमेरिकालाई दिएको रणनीतिक र  भूराजनीतिक लाभलाई चीनले हिस्स  पारिदियो ।

त्यो  क्षति र पराजयलाई  केही हदमा सीमित बनाउन उसले आक्रामक चीन नीति अङ्गिकार गर्यो र परिणाम ताइवान थियो ।

मूलभूमिबाट पलायन भएर च्याङ्काई शेक  करीव १६० किलोमिटरको जल क्षेत्र पारी ताइवान गए र त्यहीँबाट आफूलाई सिङ्गो चीनको शासक दावी गरेर शासनगर्न लागे  ।

हिजोको चीनको राष्ट्र सङ्घ सुरक्षा परिषदको स्थायी सदस्यताको  अख्तियारी सहित ताइवान राष्ट्र सङ्घमा आयो  ।  ताइवानको सुरक्षाको जिम्मेवारी

अमेरिकाले लियो  ।

त्यो तनाव कोरियामा पनि सर्यो र कोरिया विभाजित भयो ।

दुई दशकसम्म माओकालीन चीन र अमेरिका  चरम राजनीतिक र कूटनीतिक शीत युद्धको स्थितिमा रहे ।

त्यो द्वन्द्व भियतनाम, लाओस, कम्बोडियामा पनि विस्तारित हुन पुग्यो ।  

स्मरणीय छ, दोस्रो विश्व युद्ध शुरू हुनु भन्दा डेढ वर्ष अघि चीन  जापानवीच  दोस्रो  घोषित युद्ध शुरू भएको थियो र जापानले मंचुरियादेखि चीनको तत्कालीन राजधानी नानजिङ लगायत चीनको समस्त पूर्वी तटीय क्षेत्रमाथि नियन्त्रण स्थापना गरेको थियो ।

सम्बन्धका नयाँ आयाम र नयाँ अध्याय 

 

डिसेम्बर ७,१९४१मा जापानले अमेरिकाको हवाई द्वीप स्थित पर्ल हार्वर जल सैनिक अड्डामाथि अकस्मात र अनपेक्षित हवाई आक्रमण गर्यो ।

यसले अमेरिकालाई दोस्रो विश्व युद्धमा होम्यो, तर जापानबाट भन्दा जर्मनीबाट विश्व शान्ति र व्यवस्थालाई  बढी खतरा अनुभव गरेको अमेरिकाले युरोपमा नै आफूलाई केन्द्रित राख्यो-आफूमाथि जापानले गरेको आक्रमणलाई भन्दा अर्थात आफ्नो सुरक्षा भन्दा युरोपका मित्रहरूको सुरक्षालाई प्राथमिकतामा राखी ऊ युरोपमा नै  केन्द्रित रह्यो ।

जापानी आक्रमण  विरूद्ध उसले चीनलाई भरपूर सैन्य सहयोग गरिरह्यो,  तर आफू माथिको आक्रमणकोलागि केन्द्रित रहेर जापान विरूद्ध  भने जाइलागेन ।

युरोपमा इटाली र जर्मनी दुवै पराजित भएपछि मात्रै अमेरिकाको ध्यान जापानतर्फ केन्द्रित भएको थियो  ।

जव  दोस्रो विश्व युद्ध समाप्त भयो, जापान पराजित भयो, चीनका पूर्वी समुद्र तटका भूभागमाथिको जापानको नियन्त्रण समाप्त भयो ।

अमेरिकाले चीनलाई चार महत्वपूर्ण विजयी  राष्ट्रको सूचीमा राखेर वेलायतको साङ्केतिक र व्यंगात्मक विमतिको बाबजूद उसलाई समेत राष्ट्र सङ्घ  सुरक्षा परिषदको सदस्यता प्रदान दिलायो । ()

अक्टोबर १९६७मा  भियतनाम पछिको एशिया (१०)  शीर्षकमा तत्कालीन पूर्व अमेरिकी उप राष्ट्रपति (पछि राष्ट्रपति) रिचार्ड निक्सनको एक विलक्षण र विश्वभर चर्चित  ऐतिहासिक लेख प्रकाशित भएको थियो ।

आश्चर्य को कुरा यो छ कि आज भन्दा साँढे पाँच दशक अघि निक्सनले उक्त लेखमा जे जस्तो भावी सम्भावनाबारे लेखेका थिए त्यो आज चरितार्थ मात्र भएको छैन, अमेरिका लगायत एसियाका प्रमुख राष्ट्रहरूको चीन नीति पनि  दशकौँ देखि त्यसै  अनुरूप  चलिरहेको देखिन्छ ।

आजको चीन र उसको अमेरिकासँगको सम्बन्धको स्तर र  चरित्रको खाका निक्सनले त्यतिखेरै  कोरेका थिए ।

त्यतिखेर चीन र भारतको विकासको दर अत्यन्त निराशाजनक थियो तर भविष्यमा विश्वको आर्थिक गतिविधिको केन्द्र नै एशिया  बन्ने उल्लेख उनले गरेका थिए ।

आज चीन जुन स्थितिमा छ, क्षेत्रका मुलुकहरूले चीन खतराको बारेमा उनले जुन  अनुमान उनले गरेका थिए, एसियामा चार महाशक्ति राष्ट्रहरू चीन, भारत, अमेरिका र   जापानको भूमिका एसियामा निर्णायक हैसियतमा रहने बारे जे भनेका थिए आजको  एशिया त्यस्तै छ ।

भियतनाम युद्धको अन्त्यको परिकल्पना उनैले गरेका थिए – उक्त युद्ध उनैले अन्त्य गराए ।

चीन  परिवर्तित नभई  विश्व सुरक्षित रहन सक्दैन, चीनलाई परिवर्तन गर्ने भनेको उसलाई  चीनलाई  विश्व समुदायको  अविभाज्य अङ्ग  बनाउनै  पर्दछ,

त्यसपछि मात्रै उसमाथि लगाम लगाउन सकिन्छ,जिम्मेवार राष्ट्र बनाउन सकिन्छ ।

एक अर्व  समर्थ जनसंख्याको देशलाई  विश्व समुदाय बाट अलग्गै राखेर, आक्रोशित तुल्याइ राखेर विश्व सुरक्षित रहन सक्दैन , विश्वमा शान्ति र व्यवस्था कायम राख्न सकिन्न ।

निक्सनले त्यतिखेर नै अमेरिकलाई प्रशान्त क्षेत्रको राष्ट्र बताएका थिए- धेरै अघि जान पर्दैन- बुस, ओबामा र ट्रम्पको चीन नीति र एशिया वा इण्डो प्यासिफिक रणनीतिको प्रथम  व्याख्याता रिचार्ड निक्सन नै थिए ।

त्यसको करीव दुई वर्ष पछि उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए ।

अक्टोबर १९६७को उपरोक्त लेख एक किसिमको उनको विदेश नीतिको घोषणा पत्र थियो र उनले जनवरी २०,१९६९मा आफ्नो पदभार ग्रहण सम्वोधनमा भनेका थिए — ‘कसैलाई इतिहासले दिने सवैभन्दा ठूलो सम्मान भनेकै ‘शान्ति स्थापक’को सम्मान हो ।

त्यो सम्मान इतिहासले अमेरिकालाई प्रदान गर्दैछ, अमेरिकाले त्यो  महान ऐतिहासिक क्षणको स्वामित्व लिने छ  र मानव जातीलाई सुरक्षित विश्व प्रदान गर्ने छ ।’

अमेरिकी समय अनुसार जुलाई १५, १९७१को साँझ ७: ३० बजे क्यालिफोर्निया को एक टेलिभिजन स्टुडियो बाट बीसौँ सताव्दीको महानतम कूटनीतिक विष्मयको रूपमा  अमेरिकी राष्ट्रपति निक्सनले एउटा घोषणा गरे ।

तीन मिनेट ३० सेकेण्डको  उक्त संवोधनमा उनले  राष्ट्रपतिका सुरक्षा सल्लाहकार हेनरी  किसिन्जर र चीनियाँ प्रधानमन्त्री चाउ-एन लाईवीच बेइजिङ्गमा  जुलाई ९-११, १९७१मा भेट वार्ता भएको, दुवै मुलुक माझ सम्बन्ध सामान्य बनाउने सहमति भएको र सो क्रममा चीनियाँ प्रधानमन्त्रीले राष्ट्रपति निक्सनलाई मे १९७२ भन्दा अघि कुनै उपयुक्त समयमा चीनको भ्रमण गर्न निमन्त्रणा गरेको समेत जानकारी गराएका थिए  । (११ )

रूमानिया, पाकिस्तान र फ्रान्सका विभिन्न सम्पर्कहरूको माध्यमबाट दुई वर्ष भन्दा बढी समयको अत्यन्त जटील र कठीन ब्याक च्यानल डिप्लोमेसीको ( ब्ल्याक च्यानल डिप्लोमेसीबारे   माध्यमबाट भएका सम्पर्क र वार्ता हुँदै अन्त्यमा पाकिस्तानी राष्ट्रपति जनरल याह्या खाँले चीनियाँ नेताहरू अमेरिकी नेताहरूसँग र खास गरेर राष्ट्रपति निक्सन वा हेनरी किसिन्जर स्तरका व्यक्तिहरूलाई चीनमा स्वागत गर्न तयार भएको गोप्य सन्देश अमेरिकी राष्ट्रपतिलाई पुर्याएका थिए । (१२

१९६७को फरेन अफियर्सको लेखमा निक्सनले जे लेखेका थिए आफू राष्ट्रपति भएपछि त्यसलाई कार्यान्वयन गरेर देखाए ।

ऐतिहासिक चीन भ्रमण गरे ।  चीनलाई राष्ट्र सङ्घमा भित्र्याए,भियतनाम युद्ध अन्त्य गराए र सोभियत सङ्घसँग  आणविक र अन्य खतरनाक हतियारको विस्तार र प्रशारलाई  सीमित गर्ने सन्धिहरूको क्रम अघि बढाए ।

ख्रुश्चेभको पालामा आएर चीनको अमेरिकासँगको सम्बन्धमा व्यापक तनावको स्थिति बनेको, सीमामा बारम्बार झडप हरू भइरहेको, १९६४ देखि १९६९ सम्म सोभियत सङ्घ र चीनकावीच चार हजार भन्दा बढी झडप भएको (१३)

परिवेशमा सोभियत सङ्घले चीनमाथि आक्रमण समेतगर्ने सम्भावनाको स्थितिमा अमेरिकासँगको रणनीतिक निकटताको महत्व चीनले अनुभव गरेकोले पनि निक्सनको यो भ्रमणलाई सहज र हार्दिक बनाएको थियो ।

इमान्दारीपूर्वक शक्तिराष्ट्रहरू प्रतिवद्ध हुने हो र त्यसकोलागि अत्यन्त जटील, कठिन र सघन प्रतक्ष र परोक्ष कूटनीतिक प्रयास गर्ने हो भने  संसारमा वृहत्तर शान्ति स्थापना सम्भव छ र शीत युद्ध र तनावलाई शिथिल बनाउन सकिन्छ भन्ने कुरा पनि उनले सावित गरे ।

******

(चीन-अमेरिका सम्बन्ध र भावी विश्व नेतृत्वको सवाल  यो शृंखलाको आगामी र अन्तिम लेख हुनेछ )

स्रोत र सन्दर्भ सूची 

() केही चीनियाँ र केही पश्चिमी लेखकहरूको सो घटना सम्बन्धी विवरणको लागि हेर्नुहोस

 लोउसा लिमदी पिपुल्स रिपब्लिक अफ एम्नेसिया : टियाननमेन रिभिजिटेड,अक्सफोर्ड युनिभर्सिटी प्रेस, २०१४ क्र्याग क्याल्होननिदर गड्स  नर इम्परर्स: स्टुडेन्ट्स एण्ड दी स्ट्रगल फर डेमोक्रेसी इन चाइना, युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेस, १९९७लियाओ यिऊबुलेट्स एण्ड ओपियम : रियल लाइफ स्टोरिज अफ चाइना आफ्टर दी टियाननमेन स्क्वायर म्यास्याकर, वन सिग्नल पब्लिसर्स, २०१९.

() लामो सूचिका त्यस्ता पुस्तक मध्ये  केही यस प्रकार छन् –  

रोबर्ट जी. स्टटरयु एस चाइनिज रिलेसन्स: पेरलस पास्ट, प्राग्म्याटिक प्रेजन्ट, रोम्यान एण्ड लिटल फिल्ड पब्लिसर्स , २०१०

डङ्ग वाङ्गदी युनाइटेड स्टेट्स एन चाइना: अ हिस्ट्री फ्रम दी एटिन्थ सेन्चुरी टु दी प्रेजन्ट,रोम्यान एण्ड लिटल फिल्ड पब्लिसर्स , २०१३

माइकेल पिल्सबरीदी हन्ड्रेड यर म्याराथन: चाइनाज सेक्रेट स्ट्रेटेजी टु रिप्लेस अमेरिका एज दी ग्लोबल सुपरपावर,हेनरी होल्ट एण्ड कम्पनी, २०१५.

 ग्राहम एल्लिसोनडेस्टिन्ड फर वार : क्यान अमेरिका एण्ड चाइना इस्केप थ्युसिडिडस  ट्रयाप,हटन मिफ्लिन हार्कोर्ट, २०१७. 

() च्याओ लियाङ् र वाङ् जियाङ्सुई द्वारा लिखित र पिएलए लिटरेचर एण्ड आर्ट्स पब्लिसिङ् हाउस द्वारा १९९९मा प्रकाशित  र इको प्वाइन्ट बुक्सद्वारा प्रकाशित त्यसको अंग्रेजी अनुबाद

() दी नेसनल इन्ट्रेस्ट ( जेम्स होम्ज ) इज दी युएस मिलिटरी रेडी फर वार विथ चाइना ? , मार्च २४, २०२१फरेन अफियर्स ( माइकेल बेकले) अमेरिका इज नट रेडी फर अ वार विथ चाइना, जुन १०, २०२१.

फरेन अफियर्स ( रियान ह्यास् ) चाइना इज नट टेन  फीट टल, मार्च ३, २०२१ 

ग्लोबल टाइम्सह्वाई युएस विल लुज अ वार विथ चाइना, अप्रिल २७, २०२१.

निक्के एसिया ( सेवा निवृत्त चार तारे अमेरिकी एडमिरल जेम्स स्टाभरिडिस) इफ दी युएस वेन्ट  टु   वार विथ चाइना, हु वुड विन ? मे ३०, २०२१.      

 (दी चाइना हवाइट पेपर , अगस्ट १९४९मा डिन एचसनलेटर  अफ ट्रान्समिट्टल ( जुलाई ३०, १९४९) स्ट्यान फोर्ड युनिभर्सिटी प्रेस,पृष्ठ XV    

(फरेन रिलेसन्स अफ दी युनाइटेड स्टेट्स , १९४९भोल्युम आइ एक्स, दी फार इस्ट चाइना,दी युनाइटेड स्टेट्स गभर्नमेन्ट प्रिन्टिङ्ग प्रेस, डक्युमेन्ट्स  १४३४१४६२, इबुक, मे २८, २०१८.

() लोयड ई. इस्टम्यान, जेरोम चेन , सुजन्ने पेप्पर र लाइम्यान पी. भान स्लाइकदी नेसनालिस्ट इरा इन् चाइना, क्याम्ब्रिज युनिभर्सिटी प्रेस,१९९१

भिक्टर एस.काफम्यानयुएस एण्ड ब्रिटिस पलिसिज टुवार्ड  चाइना,युनिभर्सिटी अफ मिसुरी प्रेस, २००१,

एन्थोनी कुबेकहाउ दी फार इस्ट वज लस्ट : अमेरिकन पलिसी एण्ड दी क्रिएसन अफ कम्युनिस्ट चाइना १९४११९४९,एस्चेनबर्ग प्रेस २०१७, किन्डल संस्करण     

(सिञ्जियाङको रणनीतिक महत्व र  त्यहाँ माओवादी चीनको नियन्त्रणको परिवेशबारे देश संचारमा प्रकाशित यस लेखककोअफगानिस्तान र सिञ्जियाङको भूराजनीतिमा चीन र अमेरिकाजेठ ८, २०७८.

() वारेन आई. कोहनचाइनाज राइज इन हिस्टोरिकल पर्स्पेक्टिभ जर्नल अफ स्ट्रेटेजिक स्टडिज, युनिभर्सिटी अफ मेरिल्याण्ड, वाल्टिमोर, जुलाई १७,२००७     

वारेन कोहन लिखित  पुस्तक अमेरिकाज रेस्पन्स टु  चाइना : अ हिस्ट्री अफ अमेरिकाचाइना रिलेसन्स, छैठौँ संस्करण, कोलम्बिया विश्वविद्यालय प्रेस ,२०१९ र   सियायुयान  लिऊ लिखित अ पार्टनरसिप फर डिसअर्डर, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, १९९६मा सो सन्दर्भबारे विस्तारमा उल्लेख गरिएको छ  भूगोलमा अटाएका यौटै त्यत्रो ठूलो जनसंख्याबाट निर्मित जातीय र भाषिक समुदायको त्यति ठूलो  विस्तारमा फैलिएको ऐतिहासिक  भूखण्ड संसारमा चीन मात्रै हो

(१०). फरेन अफियर्स (रिचार्ड एम. निक्सन) – एशिया आफ्टर भियतनाम, अक्टोबर १९६७

(११) दी मेमोइर्स अफ रिचार्ड निक्सन, साइमन एण्ड सुस्टर (इबुक)   पृष्ठ २१८१२१८२

(१२) अमेरिका र चीन वीचका सो अवधिका  गोप्य पत्राचार, राष्ट्रपति निक्सनलाई किसिन्जरले गराएको जानकारीहरू  लगायतका महत्वपूर्ण दस्तावेजहरू सन् २००२मा सार्वजनिक  गरिएको छ र  विलियम बरद्वारा सम्पादित ती दस्तावेजहरू अमेरिकाको नेसनल सेक्युरिटी अर्काइभमा सुरक्षित छन्   

 (१३) डान हुई ली र एफेङ सियामाओ एण्ड दी सिनो सोभियत स्प्लीट १९५९१९७३, अ न्यु हिस्ट्रीलेक्सिङ्ग्टन बुक्स, २०१८, पृष्ठ २४८ र लोरेन्ज एम. लुथीकोल्ड वार इन दी कम्युनिस्ट वर्ल्ड, प्रिन्सटन युनिभर्सिटी प्रेस २००८, ले यस सम्बन्धमा विशद वर्णन गरेको छ

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्